+
+

टी-२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै, नेपाललाई बदला लिने मौका

हेड टु हेडमा को अघि ?बबकम

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक १९ गते ७:४५

१९ कात्तिक, काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् ।

खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी-२० विश्वकपमा स्थान बनाएका हुन् । उक्त विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक ग्लोबल क्वालिफायरको सट्टा क्षेत्रीय छनोट प्रतियोगिताहरु मात्र आयोजना हुँदा एसियाबाट दुई टोलीले मात्र टी-२० विश्वकपमा छनोट हुने प्रावधान थियो । त्यसका लागि एसिया छनोटको सेमिफाइनल जित्दै फाइनल पुग्ने टिम मात्र छनोट भएका हुन् ।

गत वर्ष ओमानमै भएको टी-२० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलम पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए ।

यसपटक घरेलु मैदानबाटै विश्वकपको यात्रा तय गर्दा नेपालले गत वर्ष सेमिफाइनलमै यूएईसँग बेहोरेको हारको मिठो बदला लियो ।

२०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो । उता ओमान भने २०२१ पछि टी-२० विश्वकपमा छनोट भएको हो ।

यस पटक एसिया छनोटमा नेपाल र ओमान एउटै समूहमा थिए । समूह ए मा रहेका यी दुई टोलीबीच रोमाञ्चक खेल हुँदा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

त्रिवि मैदानमै भएको उक्त खेलमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सकेको थियो ।

फाइनलसम्म आइपुग्दा ओमान अपराजित छ भने नेपालले एक खेल (ओमानसँग) मात्र हारेको थियो । समूह चरणमा नेपाल र ओमान दुवैले सिंगापुर र र मलेसियालाई पराजित गरेका थिए ।

टी-२० विश्वकपमा स्थान पक्का गरिसकेकोले नेपाल र ओमान दुवैका लागि फाइनलमा कुनै दबाब हुने छैन । तर दुवै टोली फाइनल जित्दै आफ्नो प्रभाव देखाउन चाहन्छ ।

नेपालका लागि घरेलु समर्थकअघि ओमान विरुद्ध समूह चरणको हारको बदला लिँदै च्याम्पियन बन्ने अवसर समेत छ ।

यस्तै ओमानसँग समूह चरणमा पराजित भएपछि नेपालले युएई विरौधको सेमिफाइनल मुलपानी क्रिकेट मैदानमा खेल्नुपरेको थियो । जसले गर्दा त्यहाँ क्यानले ३ हजार पाँच सय टिकट मात्र बिक्री गरेको थियो । तैपनि  मैदान बाहिर घरको छतदेखि विभिन्न स्थानबाट हजारौं दर्शकले नेपाल विश्वकप छनोट हुँदाको साक्षी बनेका थिए ।

उक्त सेमिफाइनल खेल हेर्न नपाएका दर्शकहरु पनि टीयू मैदान ओमान विरुद्ध फाइनल खेल उत्साहित छन् ।

हेड टु हेडमा नेपाल अघि

नेपाल र ओमानबीच अहिलेसम्म भएको टी-२० आई खेलमा नेपाल अघि छ । अहिलेसम्म यी दुई टोलीबीच पाँ टी-२०आई खेल हुँदा नेपालले तीन खेल जितेको छ भने ओमानले दुई खेल मात्र जितेको छ ।

ओमानले यसै छनोटमा पछिल्लो पटक नेपाललाई पराजित गरेको थियो ।

संयोगवस २०२२ मा भएको तीनवटै खेल ओमानको मैदानमा भएको थियो र त्यसमा सबै खेल नेपालले जितेको थियो ।

गत वर्ष पनि आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको समूह ‘ए’ मा यी दुई टोली एकै समूहमा परेका थिए । जहाँ नेपालले समूह चरणको खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । तर, दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपमा छनोट हुन सकेनन् र तेस्रो स्थानको लागि पुन: खेल भएको थियो । त्यसमा नेपालले ओमानलाई ९ विकेटले सहजै हराएको थियो ।

विश्वकप छनोटअघि भएको चारदेशीय टी-२० सिरिजमा पनि यी दुई टोलीबीच भेट हुँदा नेपाल ६ विकेटले विजयी भएको थियो ।

२०१९ मा ओमानमै भएको पाँच देश सम्मिलित पेन्टागुलर टी-२० सिरिजमा भने नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?