+
+

माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते ११:५८

२० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ ।

कर्णालीको जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको पार्टी महासचिव देव गुरूङले अनलाइनखबरलाई जानकारी दिए । काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने यथावत् रहेको उनले बताए ।

‘काठमाडौं केन्द्रित जनप्रदर्शनको कार्यक्रम स्थगित भएको छ । जाजरकोट र रुकुममा गएको भूकम्पबाट उत्पन्न परिस्थितिका कारण तत्काल त्यसलाई स्थगित गर्ने भनिएको हो’ महासचिव गुरुङले भने, ‘भूकम्पमा जनधनको धेरै क्षति भएको छ । यस्तो शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने हुन्छ । यस्तो बेलामा जनप्रदर्शनको कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय भएको हो ।’ उनले पुनः छलफल गरेर कार्यक्रमको मिति घोषणा गरिने बताए ।

माओवादी केन्द्रले गत मंगलबार प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी २२ मंसिरमा काठमाडौं लगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न निर्देशन दिएको थियो । ‘यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गरिने’, प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा उल्लेख छ ।

गत १७ देखि २२ साउनमा बसेको पार्टी केन्द्रीय समिति बैठकले विशेष रूपान्तरण अभियानअन्तर्गत तेस्रो चरणमा जनपरिचालन, अन्तरक्रिया, विचार गोष्ठी र सभाहरू गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?