+
+

शुक्रबार नेपालमा ‘द मार्वल्स’ पनि, भारतमा ‘टाइगर ३’ को आक्रामक ओपनिङको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १२:२३

काठमाडौं । सलमान खान र कट्रिना कैफ अभिनित जासूस ड्रामा फिल्म ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा उछाल ओपनिङ गर्ने देखिएको छ । प्रमुख भारतीय मल्टिप्लेक्स पीभीआर, आइनक्स र सिनेपोलिसमा मात्र पहिलो दिनका लागि फिल्मका ५५ हजार टिकट बिक्री भएको पिंकभिल्लाले उल्लेख गरेको छ ।

तीनै मल्टिप्लेक्सले पाँच लाख जति टिकट बिक्री हुने प्रक्षेपण गरेका छन् । भारतभर ४.२ करोड भारुको अग्रिम टिकट बिक्री भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । बुकिङ खुलेको तेस्रो दिनसम्म देशभर एक लाख ४० हजार टिकट बिक्री भएको समाचारमा उल्लेख छ । यो टिकट ७३९२ शोबाट प्राप्त भएको हो ।

टिकट बिक्री गर्ने वेबसाइट ‘माइ बुक शो’ले मात्रै ‘टाइगर ३’ का ८० हजार टिकट बिक्री गरेको उल्लेख छ । यो फिल्म लक्ष्मीपूजाको दिनमा आइतबार प्रदर्शन तयारीमा छ । लगातार चार दिनसम्म भारतमा दीपावली बिदा भएकाले कलेक्सनमा उछाल आउने जनाइएको छ । यसअघि यस्तो एड्भान्स टिकट बिक्री जवान, पठान र वारले मात्रै बिक्री गर्न सकेका थिए ।

यशराज ब्यानरमा मनिष शर्माले निर्देशन गरेको यो फिल्म भारतसहित नेपालमा पनि लक्ष्मीपूजाकै दिनमा रिलिजको तयारीमा छ । नेपालमा अग्रिम टिकट बिक्री नभए पनि स्टारडम र चलेको ब्राण्ड भएकाले ओपनिङ आक्रामक हुन सक्छ ।

शुक्रबार नेपालमा हलिउडको ‘द मार्भल्स’

अन्तिम समयमा हलिउडको प्रतीक्षित सुपरहिरोइन फिल्म ‘द मार्वल्स’ शुक्रबार नेपालमा प्रदर्शन हुने भएको छ । एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई रिलिज गर्न लागेको हो । अवश्य पनि, शुक्रबार नै प्रदर्शन हुन लागेको नेपाली फिल्म ‘दिमाग खराब’लाई ‘द मार्वल्स’ चुनौती बन्न सक्छ ।

एक्सन–एड्भेन्चर जनरामा राखिएको यो फिल्ममा ब्राय लार्सनको शीर्ष भूमिका छ । यो फिल्मको अघिल्लो भागले नेपालमा कोभिडअघि राम्रो कमाइ गरेको थियो । हलले सोमबारसम्म बुकिङ नखुलाए पनि ‘द मार्वल्स’ले अपेक्षित रुपमा सन्तोषजनक शो प्राप्त गर्न सक्छ ।

‘द मार्वल्स’ मार्वल सिनेम्याटिक युनिभर्सको ३३ औं श्रृंखला हो । यो फिल्म एमसीयूको पाँचौं चरणको फिल्म समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?