+
+

दिल्लीमा प्रदूषण उच्च भएपछि जोर–बिजोर लागू

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १४:४९

२० कात्तिक, काठमाडौं । भारतको नयाँदिल्ली सरकारले वायु प्रदूषणको स्तर बढ्दै गएपछि सवारी साधनहरुमा एक हप्तासम्म जोर–बिजोर लागु गर्ने निर्णय गरेको छ । यसैगरी कक्षा ६ देखि ११ सम्म भौतिक उपस्थितिमा पढाइ बन्द गरिएको छ ।

दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले पत्रकार सम्मेलन गरी १३ नोभेम्बरदेखि २० नोभेम्बरसम्म जोर–बिजोर लागु हुने जानकारी दिए । यसैगरी पेट्रोल र डिजेलबाट चल्ने कारलाई बन्देज गरिएको छ । साथै कुनै पनि निर्माण कार्य बन्द गरिएको छ ।

यस्तै ६ कक्षादेखि ११ कक्षासम्मको पढाइ १० नोभेम्बरसम्म भौतिक उपस्थितिमा हुनेछैन । यसअघि प्राथमिक तहका विद्यालयहरुमात्र बन्द गर्ने र ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइनमाध्यमबाट हुने निर्णय गरिएको थियो ।

भारतीय मिडियाहरुका अनुसार दिल्लीको वायु प्रदूषण अति गम्भीर स्तरमा पुगेको छ । दिल्लीमा बाक्लो तुवाँलो लागेको जस्तो देखिएको छ । दृष्य धमिलो छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार यस्तो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ ।

वायु प्रदूषणबाट बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास सम्बन्धी समस्याका दीर्घ रोगीहरु बढी प्रभावित भएका छन् । धेरै मानिसहरूले आँखा पोल्ने, चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् ।

दिल्लीमा सामान्यतया नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरुमा वायु प्रदूषण उच्च हुने गरेको छ । नजिकैका राज्यहरू, विशेष गरी उत्तर प्रदेश, हरियाणा, पञ्जाब लगायत स्थानका किसानहरूले पराल जलाउनु र सवारी साधनबाट निस्किने विशाक्त धुँवालाई वायु प्रदूषणको प्रायः प्रमुख कारणको रूपमा लिने गरिएको छ ।

द क्विन्टको हिन्दी संस्करणका अनुसार दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले दिल्लीको आकाशमा चारैतिर धुँवैधुँवामात्र देखिएको बताएका छन् । उनले आजै मध्याह्न प्रदूषण नियन्त्रणको उपायबारे छलफल गर्न सम्बन्धित विभागका अधिकारीहरुसहितको बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?