+
+

पाटनका चिकित्सकमाथि कुटपिट, कारबाही गर्न चिकित्सक संघको माग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १८:१०

२० कात्तिक, काठमाडौं । सुई लगाएको केहीबेरमा नै बिरामीको मृत्यु भएको प्रकरणमा पाटन अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ ।

अस्पतालको ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सकमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।

अस्पतालमा शनिबार सुई मार्फत एन्टिवायोटिक औषधि दिंदा ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको थियो । सोही घटनालाई लिएर मृतकका आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए ।

उक्त घटनापछि पाटनका आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले हातपात र दुर्व्यवहार गर्नेलाई तुरुन्तै प्रकाउ गर्नुपर्ने र जेल हाल्नुपर्ने माग राखेका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहबरमा अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल भएको थियो । छलफलपछि औषधि परीक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गर्ने सहमति भएको छ ।

नेपाल चिकित्सक संघ (एनएमए) ले पाटन अस्पतालमा शनिबार चिकित्सकमाथि भएको हातपात र कुटपिटको घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गरेको छ ।

सोमबार संघका महासचिव डा. सञ्जीव तिवारीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका हुन् ।

‘स्वास्थ्य सेवाजस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता अस्वाभाविक र निकृष्ट गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्ने भएको हुनाले उक्त घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन) बमोजिम कानुनी कारबाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न यस संघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

संघले घटनामाथि छानबिन गरी दोषीमाथि कानुन बमोजिम दण्ड सजाय हुनुपर्ने उल्लेख गर्दै तर चिकित्सकमाथि कुटपिट गर्ने, ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधि हुनु न्यायोचित नभएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?