+
+

भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रसंघको संयुक्त आपतकालीन उद्धार कार्य सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १९:५१

२० कात्तिक, काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघले आफ्ना एजेन्सीहरूमार्फत जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा संयुक्त रूपमा आपतकालीन उद्धार कार्य सुरु गरेको बताएको छ ।

राष्ट्रसंघको नेपालस्थित कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्ना एजेन्सीहरू प्रभावित क्षेत्रमा पीडितलाई अस्थायी बास, खाद्यान्न र गैर–खाद्य वस्तुहरू उपलब्ध गराउन सरकारलाई सहयोग गरिरहेको बताएको हो ।

संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक तथा मानवीय उद्धार संयोजक हाना सिंगर हाम्डीले भूकम्पले प्रभावित क्षेत्रमा पीडितहरूले कठिनाइ भोगिरहेको र सरकारले उनीहरूलाई गरिरहेको सहायतमा आफूहरुले पनि सहयोग गरिरहेको बताएकी छन् ।

‘सरकारले आपतकालीन खोज र उद्धार कार्यका साथै अति प्रभावकारी काम गरेको छ । भौगोलिक विकटता र परिचालनको कठिन परिस्थितिका बावजुद संयुक्त राष्ट्रसंघका एजेन्सीहरू र मानवीय साझेदारहरूले लगभग ३००० घरपरिवारमा खाना, बसोबास र स्वास्थ्यसम्बन्धी सहयोग पु¥याएर सरकारलाई सहयोग गरिरहेका छन्’, आवासीय संयोजक हानाले भनेकी छन्, ‘अहिलेसम्म भूकम्पपछि गएका ३८२ भन्दा बढी परकम्पहरूले मानिसहरूलाई रातभरि चिसोमा खुला स्थानमा रात कटाउनु पर्ने बाध्यता रहेको छ ।’

राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले मानवीय सहयोग संयन्त्रमार्फत सरकार र मानवीय साझेदारहरूलाई सहयोग प्रदान गरिरहेको जनाएको छ ।

साथै, प्रभावित क्षेत्रहरूमा ६ मेट्रिक टन तयारी खाद्यन्न द्रुत रूपमा पठाएको र त्यसबाट भूकम्पपछिका तीन दिनमा ७,५०० भन्दा पीडितलाई सहयोग पुगेको राष्ट्रसंघको दावी छ ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रभावितक्षेत्रका स्थानीयको स्वास्थ्यसम्बन्धी क्षेत्रमा स्थानीय र संघीय अधिकारीहरूलाई सहयोग गरिरहेको यूएनले जनाएको छ ।

ससँगै महत्त्वपूर्ण सहायता प्रदान गर्नका लागि अन्तर–एजेन्सी आपतकालीन स्वास्थ्य किटका आधारभूत दुई वटा मोड्युलहरू लाई समेत परिचालन गरेको जनाएको छ ।

यस्तै यूएनको अर्को एजेन्सी युनिसेफले प्रभावित क्षेत्रहरूमा महत्वपूर्ण आपतकालीन आपूर्तिहरू पठाइरहेको र त्यसलाई तुलनात्मक रूपमा कमजोर बालबालिका र परिवारहरूलाई पुर्‍याउने प्रयास भइरहेको जनाएको छ ।

आइतबार बिहानसम्म युनिसेफले प्रभावित क्षेत्रमा १,०६७ सेट त्रिपाल र १,३०० कम्बलहरू वितरण गरिसकेको जनाएको छ । साथै, थप ३००० सेट त्रिपाल र कम्बल पठाइएको युएनले बताएको छ ।

यस्तै, रोगको प्रकोपबाट बच्न युनिसेफले प्रभावित जिल्लाहरूमा बाल्टिन, मग, पानी शुद्ध पार्ने (पियुष) र अस्थायी शौचालय आदि उपलब्ध गराउन लागेको यूएनले जनाएको छ ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) ले महिला र बालिकाहरूको आधारभूत सरसफाइ, महिनावारी सरसफाइ र यौन तथा प्रजननलगायत स्वास्थ्य आवश्यकताहरू पूरा गर्नका लागि चिकित्सकीय र अन्य आपूर्तिहरू पठाएको जनाएको छ ।

प्रभावित समुदायहरूको सुरक्षा आवश्यकतालाई पहिचान गरेर जनसंख्या कोषले अन्य एजेन्सीहरूसँगको सहकार्यमा सल्लाहकार र समुदायमा आधारित मनोसामाजिक कार्यकर्ताहरू परिचालन गरेको छ ।

यस्तै विकास संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले अत्यावश्यक सूचना व्यवस्थापनका लागि प्रदेशको आपतकालीन उद्धार केन्द्रसँगको सहकार्यमा जनशक्ति खटाउने र प्रारम्भिक पुनस्र्थापनका लागि स्रोत परिचालन गरेको छ ।

साथै, यूएनडीपीले भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन गर्न ड्रोनको प्रयोग र क्षतिग्रस्त संरचनाको मूल्याङ्कनका लागि स्ट्रक्चरल इन्जिनियर तथा स्वयंसेवक खटाउने तयारी भइरहेको समेत जनाएको छ ।

यस्तै युएन वुमनले भान्सा केन्द्रित राहत प्याकेजहरू उपलब्ध गराउन महिला समूहहरूसँग सहकार्य गर्ने भएको छ । यूएन वुमनले महिला र बालबालिकाका लागि अत्यावश्यक सामग्री, थर्मस युनिट, पानी शुद्धीकरण उपकरण र गर्भवती महिलाका लागि सहयोग उपलब्ध गराउने तयारी गरिरहेको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले प्रदेश सरकारलाई उद्धार कार्यमा सहयोग प्रदान गर्ने भएको छ ।

संयुक्त राष्ट्रसंघले भूकम्पबाट उत्पन्न पीडालाई कम गर्न प्रभावित क्षेत्रहरूमा प्रभावकारी सहायता उपलब्ध गराउनका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग निरन्रत सहकार्य गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?