+
+

काठमाडौंका छाडा गाईबस्तु राख्न दक्षिणकालीमा काञ्जीहाउस तयार

२३ कात्तिकदेखि छाडा गाईबस्तु संकलन गरेर दक्षिणकाली लगिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १९:५५

२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले छाडा गाईबस्तु दक्षिणकालीन नगरपालिका–७ कोपुगाउँमा व्यवस्थापन गर्ने भएको छ ।

२३ कात्तिकदेखि सडक, नदी किनार, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा रहेका गाईबस्तु संकलन गरेर कोपुगाउँमा बनाएको काञ्जीहाउसमा राखिने महानगरपालिकाले जनाएको छ ।

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी पाउँदैनन् । बिरामी पर्दा उपचार पाउँदैनन् । गाडी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौं’, महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले भने ।

झाका अनुसार काञ्जी हाउसमा राखिने चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको छ । ‘काञ्जी हाउसमा हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौं । दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौं’, उनले भने ।

दक्षिणकाली नगरपालिका–७ का अध्यक्ष हरिप्रसाद तिमल्सेनाका अनुसार काञ्जी हाउसमा दक्षिणकाली नगर क्षेत्रका छाडा चौपाया पनि व्यवस्थापन गरिनेछ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरका सार्वजनिक स्थलमा रहेका गाईबाच्छा संकलन गरेर टेकुमा जम्मा गरिने र त्यहाँबाट दक्षिणकाली लगिने जानकारी दिए । ‘हाम्रो पालिकाभित्र छाडा गाईबाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउस पुर्‍याउने छौं । ढुवानीका क्रममा पशुकल्याणलाई ख्याल गरिनेछ’, पाण्डेले भने ।

काठमाडौं महानगरपालिकाले दक्षिणकालीमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ मा सम्झौता गरेको थियो । महानगरपालिकाले सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशुपालन गर्दै आएको थियो ।

प्रदेश सरकार र दक्षिणकाली नगरपालिकाको सहयोगमा केही टहरा, सडक, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरे पनि कोरोना महामारीका कारण रोकिएको थियो । यो ठाउँमा पूर्वाधार निर्माणमा लागेको खर्चवापत दक्षिणकाली नगरपालिकालाई ५० लाख रुपैयाँ तिरेर काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न लागेको हो ।

१२६ रोपनी जमिन रहेको काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ । थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरपालिकाले गर्नेछ ।

पशुको खाद्यान्न, औषधी, उपकरणको प्रबन्ध महानगरले गर्नेछ । झाका अनुसार काञ्जी हाउसमा रहेका पशुका लागि महानगरपालिकाले डाले तथा भुइँ घाँस रोप्नेछ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७०/०७१ सम्म छाडा पशु चौपाया जम्मा गरेर लिलाम गर्दै आएको थियो । लिलाम गरिएका चौपाया कहाँ लगिन्छन्, उनीहरु सुरक्षित रहन्छन् कि रहदैनन् भन्ने प्रश्न उठेपछि लिलामी रोकिएको महानगरका कृषि तथा पशुपंक्षी विभाग प्रमुख डा. अवधेश झाले बताए ।

महानगरपालिकाभित्र छाडा चौपायाको संख्या यकिन छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा छाडावस्तुको संरक्षण र व्यवस्थापन स्थानीय तहहरुले नै गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?