+
+

भूकम्प प्रभावितका लागि चौरजहारी नगरपालिकाले माग्यो थप सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ११:२४
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको कार्यालय भवन ।

२२ कात्तिक, रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले भूकम्प प्रभावितहरुका लागि थप राहत सहयोग गर्न आह्वान गरेको छ । पालिकाले सूचना जारी गर्दै भूकम्प पीडितहरुका लागि देश–विदेशमा रहेकाहरुलाई थप सहयोग गर्न आह्वान गरेको हो ।

‘विपदको संवेदनशील घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहनुभएका सम्पूर्ण महानुभावहरु एवम संघसंस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरता र थप सहयोगको अपेक्षा गरिएको छ,’ सूचनामा लेखिएको छ ।

नगरपालिकाले राहत संकलनका लागि राष्ट्रिय वाणिज्य बैंक, चौरजहारीमा प्रकोप व्यवस्थापन कोष खाता खोलेको छ । सहयोग गर्न चाहनेले खाता नं. ४३३०१००३०७०२००२ मा रकम जम्मा गरिदिन सक्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जारी गरेको सूचनामा उल्लेख छ । साथै जिन्सी सामग्री सहयोग गर्न इच्छुकहरुलाई नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

यही कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसँगै छिमेकी जिल्ला रुकुमपश्चिममा पनि ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको तथ्यांक हेर्दा मानवीय क्षति रुकुम पश्चिमको तुलनामा जाजरकोटमा धेरै छ भने घर क्षति जाजरकोटमा भन्दा रुकुम पश्चिममा धेरै छ ।

केन्द्रका अनुसार भूकम्पमा परी जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु र २०० जना घाइते भएका छन् । यसैगरी रुकुम पश्चिममा ९ हजार ९६१ घर आंशिक रुपमा र १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जाजरकोटमा भने ७ हजार १६६ घर आंशिक रुपमा र १ हजार १७० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

भूकम्पले रुकुम पश्चिमका त्रिवेणी गाउँपालिका, आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानहरुमा क्षति पुगेको छ । मानवीय क्षति भने आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भएको छ । भूकम्प गएलगत्तै पालिकाका जनप्रतिनिधिहरु पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?