+
+

पोखरामा शनिबारदेखि हाटबजार र सयपत्री मेला

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १६:०९

२३ कात्तिक, पोखरा । पोखरामा शनिबारदेखि रैथाने हाटबजार सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा उक्त हाटबजार सुरु हुन लागेको हो ।

शनिबार सुरु हुने हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरु राखिने पोखरा महानगर आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । स्थानीय उत्पादन र उद्यमीलाई उपभोक्तासँग जोड्न हाटबजार सञ्चालन गर्न लागिएको महानगरको दाबी छ ।

हाटबजारमा मन खुसी फाउन्डेसनले तयार गरेको हस्तकलाका सामान (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रोडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू हाटबजारमा राखिनेछन् ।

यस्तै पुष्पाञ्जलीले तयार पारेको विवाहका लागि चाहिने सामान (साई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामाग्रीहरू, कृषि सञ्जाल वडा नं. ६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरू हाटबजारमा बिक्रीका लागि राखिने कडरियाले जानकारी दिए ।

‘रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार पनि राखिन्छ,’ कडरियाले भने, ‘साथै, स्थानीयस्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारीजन्य उत्पादनहरु पनि बिक्रीका लागि राखिन्छ ।’

हाटबजारमा ३ दिन पुष्पमेला

पोखरा महानगरले हाटबजारको सुरुआतमा ३ दिनसम्म सयपत्री पुष्पमेला पनि गर्ने भएको छ । स्थानीय कृषकले उत्पादन गरेका फूलमाला बिक्रिवितरणका लागि ३ दिन मेला आयोजना गरिएको कडरियाले बताए ।

‘सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भइसकेको छ । त्यसलाई बजार र उपभोक्तासम्म पु¥याउन पुष्पमेला राम्रो प्लेटफर्म बन्न सक्छ’, कडरियाले भने, ‘यसपालि सयपत्री फूल बाहिरबाट ल्याउन आवश्यक छैन ।’

पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १६५ रोपनी भन्दा बढी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ । सयपत्री फूल आयात बन्द गरेर पोखरा महानगरले तिहारमा बिक्रिवितरण हुने सयपत्रीको मूल्य पनि निर्धारण गरेको छ ।

महानगरले तोकेकोे दररेट अनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुंगालाई ५ रुपैयाँ र प्रतिमाला २ सय रुपैयाँ, १० देखि १५ ग्राम तौल भएको एक थुंगाको मूल्य ४ रुपैयाँ र प्रतिमाला १ सय ८० रुपैयाँ तथा ५ देखि १० ग्रामको २ रुपैयाँ र प्रतिमाला १ सय ५० तोकिएको छ । प्रतिकिलोमा सबैको समान ४ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, पोखरा महानगरपालिका वडा नं. १३ ले पनि तिहारको अवसरमा ‘सयपत्री फूल मेला’ आयोजना गरेको छ । फूल खेती गर्ने किसानलाई सहयोग हुने गरी आफूहरुले मेला आयोजना गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

मेला कात्तिक २६ देखि २८ गतेसम्म हुने वडाध्यक्ष बरालले बताए । ‘पोखरा महानगरपालिका १३ को कृषि सञ्जालले उत्पादन गरेका सयपत्री फूलहरू वडा कार्यालय परिसरमा बिक्री हुनेछ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?