
२४ कार्तिक, काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड सेयरिङ एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा आएको छ।
ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको हो।
अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बीमा, ओपीटी प्रणाली र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ‘ईड्राइभ नेपाल एप’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले दाबी गरेको छ।
बिहीबार प्रतिनिधि सभाका सांसद महेश बर्तौला, बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईं र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर ईइड्राइभ एप’ र ट्याक्सी सेवाको उद्घाटन गरे ।
उद्घाटनसँगै ५२ वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो।
हाल कम्पनी आफैंले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ।
साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमश: जोडिंदै जाने कम्पनीले जनाएको छ।
ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने, “सेवाग्राहीहरू सुविधासहित सुरक्षित रूपमा गन्तव्यमा पुर्याीउनु ईड्राइभ नेपालको उद्देश्य हो । साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशिबिदेसिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुनेछ।”
यस्ता छन् ईड्राइभका विशेषता
कम्पनीका अनुसार ईड्राइभ एपको भाडा अन्य सवारी सेवा भन्दा सस्तो र सुरक्षित रहेको छ।
ईड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटीपी) प्रणालीको प्रयोग गरिएको छ । जसले सेवाग्राही र चालक बीच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ।
त्यसैगरी ईड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा सेवाग्राहीलाई तोकिएको बीमा सुविधा प्राप्त गर्नेछन् ।
त्यस्तै ई ट्याक्सीमा जीपीएस जडान गरिएको छ। यसले गर्दा आफ्नो सवारी साधनको सम्पूर्ण नियन्त्रण ईड्राइभ कम्पनीसँग हुनेछ र यसले सेवाग्राहीलाई थप ढुक्क बनाउने कम्पनीले बताएको छ ।
त्यस्तै, कम्पनीले आफ्नै ‘फास्ट चार्जिङ स्टेसन’ स्थापना गरेको छ। जसमा पार्किङ लट सहित ट्याक्सी, स्कुटरहरू चार्ज हुनेछ।
प्रतिक्रिया 4