+
+

समुद्री किनारका चिनियाँ शहरमा सिल यात्रा

विनोद ढकाल विनोद ढकाल
२०८० कात्तिक २५ गते १७:११
जुहाइ इन्टरनेशनल सर्किटमा सिलको ट्र्याक डे रेस राइड ।

असोज २२ गते बिहानदेखि नै झमझम पानी परिरहेको थियो । यो क्रम हामी दिउँसो करिब साढे १ बजे बीवाइडीको हेडक्वार्टर पुग्दासम्म पानी थामिएको थिएन ।

चीनका दुई समुद्री किनारका शहर जुहाइदेखि सेञ्जेनसम्मको यात्रा वर्षाले त्यति रोमाञ्चक हुन सकेको थिएन । साउथ चाइना सी मा आएको समुद्री आँधी टाइफुनका कारण दुई दिनदेखि मौसम खराब थियो ।

विद्युतीय गाडी उत्पादनमा विश्वकै नम्बर १ हुने दौडमा रहेको बीवाइडीले नेपालसहित एसियाका धेरै देशका पत्रकारलाई आफ्ना् हेडक्वार्टर घुमाउँदै थियो । बीवाइडीको हेडक्वार्टर साच्चै अद्भुत थियो, गाडीको संग्रहालयजस्तो ।

भवनभित्र पनि गाडी, बाहिर प्रांगणभरि पनि गाडी । धेरै गाडी र नेपालमा अहिलेसम्म आइनपुगेका, सानादेखि ठूलो, सस्तोदेखि महंगोसम्म । हालै नेपालमा बिक्री सुरु भएको डल्फिन र केही महिनापछि सार्वजनिक हुने तयारीमा रहेको सिल नामका गाडी पनि थिए । बीवाइडीले पछिल्लो समय ओसन सेरिजका रुपमा आफ्ना गाडीको नाम समुद्री जनावरको नाममा राख्न थालेको छ ।

बीवाइडी हेडक्वार्टरमा पहिलो कार्यक्रम थियो, सिलमा प्रयोग भएको नयाँ ब्याट्री सीटुबी प्रविधिबारे प्रस्तुति । बीवाइडीले सिलमा सिटुबी (सेल टु बडी) टेक्नोलोजीको ब्याट्री प्रयोग गरेको छ । सीटुबी प्रविधि भनेको गाडीको बडी र ब्याट्री आपसमा जोडिने हो । गाडी र ब्याट्रीलाई स्यान्डवीच जस्तो तत्वले आपसमा जोड्छ । यसले गाडीको सेफुटी, स्याबलिटी र ह्याण्डलिङ क्षमतामा सुधार गर्छ भन्ने मोटामोटी जानकारी बीवाइडीका इन्जिनियरको प्रस्तुतिबाट पायौं ।

त्यसपछि हामी लाग्यौं बीवाइडी हेडक्वार्टर भ्रमणमा । हेडक्वार्टरको प्रांगणमा कोही बीवाइडीको बोर्डअगाडि तस्वीर खिचाउँदै थिए, कोही गाडीमा पोज दिइरहेका थिए । कोही बीवाइडीबारे जानकारीमूलक सूचनाहरु हेर्दै थिए ।

बीवाइडी हेडक्वार्टरमा नेपालीसँगै बंगलादेश, मलेसिया, सिंगापुर, लाओस, थाइल्याण्ड, कम्बोडियालगायतका देशका पत्रकार र गाडी बिक्रेताहरु निम्त्याइएका थिए ।

हामीले सोचेका थियौं, गाडीको फ्याक्ट्री पनि हेर्न पाइएला, त्यो एउटा खल्लोपना भने रह्यो । यद्यपि कम्पनीका कर्मचारीहरुले बीवाइडी स्थापनादेखि अहिलेसम्मको प्रगति विवरणको व्याख्या गरे ।

विद्युतीय गाडी उत्पादनको छोटो अवधिमा गरेको प्रगति लोभलाग्दो छ । सन् १९९५ मा व्याट्री उत्पादन गर्ने कम्पनीको रुपमा स्थापित यो कम्पनीले गाडीको उत्पादन त सन् २००३ मा मात्र सुरु गरेको थियो ।

गाडी उत्पादनको २० वर्षमा त चमत्कार नै गरिसकेको छ । ३ अक्टोबरमा ब्लुमबर्गमा प्रकाशित एक समाचारअनुसार बीवाइडी टेस्लाभन्दा थोरैले मात्र पछाडि छ । सन् २०२३ को पछिल्लो ३ महिनामा टेस्लाले ४ लाख ३५ हजार विद्युतीय गाडी बिक्री गरेको छ । बीवाइडीले ४ लाख ३१ हजारवटा बिक्री गरेको छ ।

सन् १९९५ को फेब्रुअरी १० मा मोवाइलको चार्ज गर्न मिल्ने ब्याट्री उत्पादन गर्ने कम्पनीका रुपमा बीवाइडीको स्थापना भएको थियो । वाङ च्वानफुले स्थापना गरेको ३० वर्षभित्र बीवाइडीले विद्युतीय कार, कमर्सियल गाडी, रेलसमेत बनाइसकेको छ ।

हेडक्वार्टरको भित्तामा बीवाइडीको विकासक्रमबारे संक्षिप्तमा जानकारी गराउने बोर्ड टाँसिएको छ । जसअनुसार सन् १९९६ मा लिथियम आयन ब्याट्रीको बिक्री सुरु गरेको थियो । बीवाइडीले सन् १९९८ मा चीनबाहिर पहिलो पटक शाखा खोलेको थियो ।

त्यस्तै सन् २००० मा सेञ्जेनमा इन्ड्रस्टियल पार्क स्थापना गर्‍यो । यसै वर्षदेखि मोटरोला नामक मोवाइल उत्पादक कम्पनीलाई लिथियम आयन ब्याट्री बिक्री गर्न थाल्यो ।

त्यसको दुई वर्षपछि सन् २००२ देखि नोकियालाई ब्याट्री बिक्री गर्‍यो । सन् २००२ मा बीवाइडी हङकङ स्टक एक्सचेन्जमा र सन् २०११ मा सेञ्जेन स्टक एक्सचेन्जमा सूचीकृत भयो ।

बीवाईडीले गाडीको व्यवसाय सुरु गरेको त सन् २००३ मा मात्र हो । सन् २००५ मा बीवाइडीले आफ्नो पहिलो विद्युतीय कार एफथ्री निर्माण ग¥यो । जसले चीनमा १० हजार भन्दा बढी बिक्री हुने कारको रेकर्ड बनाएको थियो ।

सन् २००८ मा बीवाइडीमा साझेदारका रुपमा वारेन बफेट प्रवेश गरे । अमेरिकी अर्बपति वारेनको कम्पनी ब्रेकसायर हाथवेले त्यतिबेला बीवाइडीको २२५ मिलियन सेयर किनेको थियो । अहिले भने उनले बीवाइडीको धेरै सेयर बिक्री गरिसकेका छन् र १० प्रतिशत हाराहारीमात्र राखेका छन् ।

हाल बीवाइडी विश्वका ४०० शहर, ७० देश, ६ महादेशमा पुगेको छ । उसको ३० वटा त आफ्नै औद्योगिक पार्क छ ।

जुहाइ इन्टरनेशनल सर्किटमा सिल

बीवाइडी हेडक्वार्टर घुमिसकेपछि सबैलाई रोजेर प्रांगणमा गाडी चलाउन दिइएको थियो । धेरैले नेपालमा पाइने, नपाइने सबैथरि गाडी चलाउने अनुभव लिए ।

बीवाइडी हेडक्वार्टर घुम्नुअघिको हाम्रो कार्यक्रम जुहाइ इन्टरनेशनल सर्किटमा थियो । जहाँ बीवाइडी सिलको परीक्षण ड्राइभ गरिएको थियो । ट्रयाक डे मा कुनै नियम कानुनको डर नमानी गाडीमा भएका अनेक फिचरहरुको परीक्षण गर्दै चलाउन पाइने रहेछ ।

जुहाइ इन्टरनेसनल सर्किटमा करिब साढे ४ किलोमिटर लामो ट्रयाक रहेछ, जसमा दायाँतर्फ मोडिने ९ वटा र बाँयातर्फ मोडिने ५ वटा गरी १४ वटा घुम्ती रहेछ । नेपाली राइडरहरुले पनि बीवाइडी सिलको राइडको मज्जा लिए । नेपालमा व्यस्त सडकमा तिब्र गतिमा कार हाँक्न नपाएका राइडरहरुले प्रतिघण्टा १७० किलोमिटरको हाराहारीमा कार हाँकेका थिए ।

यसरी गरिने फिचरहरुको परीक्षणले सडकमा गाडी चलाउन चालकलाई कन्फिडेन्ट दिनेछ ।

नेपालमा जुहाइ इन्टरनेशनल सर्किटजस्तो ठाउँ छैन । त्यसैले नयाँ गाडी बजारमा आएपछि त्यसको परीक्षण व्यस्त सडकमा नै गर्नुपर्छ । जुन धेरै नै जोखिमपूर्ण मानिन्छ ।

कारमा भएको नयाँ फिचरको प्रयोग कसरी गरिने रहेछ भनेर नेपाली चालकले विदेशमा चलाएको वा यस्तै सर्किटहरुमा भएको कार रेसको भिडियो हेर्नुपर्छ ।

ट्रयाक डे सकिएर फर्किँदा नेपालमा बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठलाई सोधेँ- नेपालमा नयाँ कार आएपछि कसरी परीक्षण गरिन्छ त ? उनले नेपालमा यस्तो परीक्षण गर्ने छुट्टै ठाउँ नभएको बताए । त्यसैले नियमित गाडी गुडिरहने सडकमा नै परीक्षण गरिने रहेछ । कतिपय बिक्रेताले नयाँ गाडी नेपाली बजारमा आएपछि सेतो गुम्बा जाने उकालोमा चलाएर परीक्षण गर्ने रहेछन् ।

उकालोको फेदीदेखि टुप्पोसम्म राम्ररी चलाउन सकेमा परीक्षण सफल भएको मानिने रहेछ । नेपालमा सडक सुरक्षा कमजोर हुनुको कारण यस्ता अभ्यास तथा परीक्षणस्थल नहुनु पनि प्रमुख कारण हुन सक्छ ।

जुहाइ इन्टरनेसनल सर्किट घुमेर फर्केपनि मनमनै सोचेँ, कहाँको जुहाइ इन्टरनेसनल सर्किट, कहाँको हाम्रो सेतो गुम्बाको उकालो !

तस्वीरहरु : बीवाइडी  ।

लेखकको बारेमा
विनोद ढकाल

ढकाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?