+
+

गोवा फिल्म फेस्टिभलमा नेपाली स्टल राखिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १४:०२
फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास बोर्डले भारतको प्रतिष्ठित गोवा फिल्म फेस्टिभलमा नेपालको स्टल राख्ने भएको छ । यसबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अर्थसँग बजेटका लागि सहमति मागेको छ ।

बोर्ड अध्यक्ष भुवन केसी शुक्रबार अर्थ मन्त्रालयमा पुगेर गोवा फेस्टिभल अन्तर्गतको फिल्म बजारमा स्टल राख्नेबारे छलफल गरेका थिए । बोर्ड प्रवक्ता केएल बुढाथोकीले गोवा फिल्म फेस्टिभलमा स्टल राख्नेबारे बजेटसहितको माग गरिएको बताए । यसका लागि ६-७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जनाए ।

नेपालले अहिलेसम्म आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्टल राखेको छैन । ‘गोवामा स्टल राख्ने निर्णय भएको छ । अब मन्त्रीले सदर गर्न मात्र बाँकी छ,’ प्रवक्ता बुढाथोकीले भने । भारतको एनएफडीसीले नेपाललाई यसबारे लिखित रुपमै पत्राचार गरेपछि यसबारे निर्णय गरेको उनले बताए ।

उक्त स्टलबाट फिल्म निर्माण र बजारीकरणको अनुभव आदानप्रदान हुने, नेपाली फिल्म ‘पिचिङ’ गर्न सक्ने, नेपाललाई अन्तर्राष्ट्रिय फिल्म लोकेसनको रुपमा प्रवद्र्धन गर्न सकिने र संयुक्त लगानीको सम्भावना खोज्न सजिलो हुने अपेक्षा गरिएको छ । ‘अर्को वर्षदेखि हामी ठूला अन्तर्राष्ट्रिय बजारमा नेपालको स्टल राख्ने योजनासहित अघि बढ्छौं,’ प्रवक्ता बुढाथोकीले भने ।

नेपालले ठूला फिल्म फेस्टिभलमा बजारीकरणको मौका गुमाएको भन्दै फिल्मवृत्तबाट पटक–पटक आलोचना हुने गरेको छ । कोरियाको बुसान फिल्म फेस्टिभलको सदस्य भए पनि नेपालले त्यसबाट लाभ लिन चुकेको टिप्पणी पनि हुने गरेको छ । भेनिस, टोरन्टो, कान्सजस्ता ठूला फेस्टिभलमा बोर्डको उपस्थिति शून्यप्रायः छ ।

गोवा फिल्म फेस्टिभल नोभेम्बर २० देखि २८ सम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?