+
+

बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछौं, पोखरा र भैरहवालाई पीपीपी मोडलमा चलाउँछौं : मन्त्री किराँती

सुवास पण्डित सुवास पण्डित
२०८० कात्तिक २७ गते ११:०२

२७ कात्तिक, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृृया सरकारले सुरु गरेको बताएका छन् ।

चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले विमानस्थलका बारेमा भएका अवरोध र समस्याहरु कम हुँदै गएपछि सरकारले निर्माणको प्रकृया अगाडि बढाएको बताए ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै अलपत्र भैरहेको बेला बारामा थप अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री किराँतीले काठमाडौंको एयर ट्राफिक जामलाई कम गर्नका लागि पनि बारामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताए । उनले बारामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएकै कारण फास्ट ट्र्याक निर्माण थालिएको बताए ।

उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सञ्चालनको तयारी गरिएको जानकारी पनि दिए । उनले विमानस्थलहरु आवश्यकता भन्दा पनि राजनीतिक दबाबमा बन्दा व्यवसायिक उडाउन हुन नसकेको बताए ।

मन्त्री किराँतीले चितवनको भरतपुर विमानस्थलको रनवे विस्तारका लागि सरकारले ट्र्याक टु अन्तर्गत नेपाली सेनाले भोगचलन गर्दै आएको जग्गाको केही भाग लिने प्रकृया सुरु गरेको जानकारी गराए । ‘अहिले सेनालाई सबै जग्गा देऊ नभनिकन, रनवेका लागि चाहिने घोडा प्रजनन् केन्द्रको जग्गा मात्रै मागेका छौं, सेना पनि सकारात्मक छ,’ मन्त्री किराँतीले भने, ‘भरतपुरको मेयरको सुन्दर योजना त यहाँको सेनालाई दियालो बंगालामा सिफ्ट गरेर अहिले सेना भएको ठाउँमा आकर्षक पार्क बनाउने थियो, त्यो तत्काल नभए पनि विमानस्थलका लागि रनवे मात्रै भए पनि सेनासँग लिने कुरा छ ।’

उनले विकासका लागि सेना कहिल्यै बाधक नहुने बताए । सेनाले रनवेका लागि ४ सय मिटर जग्गा दिएपछि भरतपुरबाट रात्रीकालिन उडान र एटीआर ७२ सिटे जहाज सञ्चालन गर्न सकिने मन्त्री किराँतीले बताए ।

नेपाल आउने हवाई पर्यटकहरुको भाडा अत्याधिक बढी हुने गरेको एक फरक प्रसङ्गमा कुरा गर्दै मन्त्री किराँतीले बाहृय पर्यटकहरुको हवाई भाडा घटाउने विषयमा आफूले गृहकार्य गरिरहेको बताए ।

तिहारका अवसरमा चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ्गहरुलाई न्यायो कपडा वितरण तथा चेपाङ्ग बालबालिकासँग देउसी भैलो खेल्न मन्त्री किराँती चितवन आएका हुन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?