+
+

बिकेनन् स्वदेशी फूल, महानगर भन्छ : राम्रो गर्न खोज्दा नराम्रो भयो

अमृत चिमरिया अमृत चिमरिया
२०८० कात्तिक २७ गते २०:२०

२७ कात्तिक, काठमाडौं । भृकुटीमण्डपमा एकबोरा भन्दा धेरै फूल र माला भुइँमा खनाएर नाम्लो बोकेर हिंड्न लागेका तारकेश्वर नगरपालिका ७ का श्रीहरि खड्का महानगरप्रति रिस प्रकट गर्छन् ।

‘५ महिनादेखि तिहारमा यही फूल, माला बेच्ने भनेर रातदिन दुःख गर्यो, बेच्ने दिन महानगरले यहाँ ल्याएर राखेर गाँस खोस्दियो’, खड्का भन्छन् ।

अघिल्लो वर्षभन्दा यो पटक व्यावसायिक रुपमा बढी फूल खेती गरेको बताउने खड्काले उचित स्थानमा बिक्री गर्न नपाउँदा ५० हजार रुपैयाँभन्दा धेरै क्षति भएको बताउँछन् । ‘कालीमाटीमा फूल बेच्नका लागि ठिक्क परेका थियौं, महानगरपालिकाले उठाएर भृकुटीमण्डप ल्यायो, दिनभरि फूलमा पानी छर्केर बस्नुपर्यो, ३ वटा मालाभन्दा बढी बिक्री भएन’, खड्का भन्छन् ।

धादिङको थाक्रे गाउँपालिका–४ का सुनिल मगरले महादेवबेसीका  किसानसँग प्रतिलाछी ४ सय रुपैयाँको दरले खरिद गरेर ३ सय लाछी फूल बेच्न काठमाडौंको भृकुटीमण्डपमा ल्याएका थिए । सामान्यतया एक लाछीमा ५ वटा माला हुने गर्दछ तर भृकुमण्डपमा हिजो बिहानदेखि बसेका मगरको जम्मा ५० लाछी मात्रै बिक्री भएको छ । ‘चार सय रुपैयाँमा किनेको झुप्पा ५० रुपैयाँमा लैजा भन्दा पनि कसैले लगेको छैन । आज ३ बजेसम्म पनि बिक्री भएन भने यत्तिकै छोडेर जाने हो,’ मगरले अनलाइनखबरसँग भने ।

काठमाडौं महानगरपालिकाले यसपटक नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्ससँग मिलेर तिहार लक्षित फूलका माला बेच्नेहरुलाई भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको जनाएको थियो ।

महानगरले तोकिदिएका स्थानमा नेपालमै उत्पादन भएका फूल मात्रै बेच्न पाइनेगरी प्रबन्ध गरिएको थियो । तोकिएका स्थानभन्दा अन्त फूल बेच्न बसेकाहरुलाई पनि महानगरपालिकाका नगर प्रहरीहरुले नियन्त्रणमा लिएका थिए । उनीहरुलाई महानगरपालिकाको ट्रकमा राखेर सामानसहित फूल बिक्री गर्न तोकिएको स्थानमा पुर्याइएको फोटो सार्वजनिक गरेको थियो । तर भित्री गल्लीहरुमा साइकल र ठेलामा फूलका माला बेच्न हिंडेकाहरु पनि देखिन्थे ।

किसान निराश

ढोकैमा फूल किन्न पाएपछि काठमाडौंवासी महानगरपालिकाले फूल बेच्न तोकिदिएको स्थानसम्म पुगेनन् । नबिकेका फूलहरु बिक्रीस्थलमै छाडेर किसानहरु हिंडेका छन् । भृकुटीमण्डपका रुख र रेलिङमा झुण्ड्याएर छाडेको पनि देखिएको छ । फोहोर संकलन गर्नेहरुले ती फूल फोहोर फाल्ने स्थानसम्म पुर्याएका थिए ।

महानगरपालिकाले आफूहरुलाई कम्पाउण्डमा सीमित गरिदिएर भारतीय मालाहरु साइकलमार्फत घर–घरसम्म पुग्नबाट नरोक्दा आफूहरु मर्कामा परेको गुनासो किसानहरु गर्छन् ।

धादिङको थाक्रे गाउँपालिका–४ का मगर भन्छन्, ‘महानगरपालिकाले न्यूरोड लगायतका स्थानमा गएर बेच्न दिएको भए धेरै बिक्थ्यो । भृकुटीमण्डपमा नबिकेर कालीमाटी लगेको माला पनि बिकेन ।’ मगरका अनुसार महानगरको गलत नीतिका कारण स्वदेशी फूल बिकेनन् । उनले काभ्रेको कोशीपारि, मकवानपुरको कुलेखानी, धादिङ, रसुवा लगायत क्षेत्रबाट ल्याइएका माला पनि बिक्री नभएको बताए ।

भृकुटीमण्डपबाट मात्रै नभई तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बेच्न बसेका किसानहरु पनि फूल नबिकेर मर्कामा परेका छन् ।फूल उत्पादकहरुको संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ भारतीय मालाको आयातले स्वदेशी फूल उत्पादकलाई असर गरेको बताउँछन् ।

‘काठमाडौं महानगरपालिकाले किसानहरुकै हितमा काम गर्न खोजे पनि भारतीय माला आयातमा छुट दिएकाले यो अवस्था आएको हो’ उनी भन्छन्, ‘नेपाली किसानहरु तोकिएको ठाउँमा गएर माला बेच्न बसे । भारतीय मालाहरु पसलहरु मार्फत बिक्री भयो । राम्रो काम गर्न खोज्दा नतिजा प्रतिकूल भएकोमा हामी पनि दुःखी छौं ।’

महानगरका प्रवक्ता भन्छन्– राम्रो गर्न खोज्दा नराम्रो भयो

उनले काठमाडौं महानगरपालिकाले स्थान तोक्न ढिलाइ गर्दा पनि फूलहरु पर्याप्त बिक्री नभएको बताए । ‘धेरैलाई स्थानले पनि फरक पार्यो, घर अगाडि पसलमा बिक्री भइरहेको फूल किन्न छोडेर थप खर्च गरेर महानगरले तोकेको स्थानमा उपभोक्ता पनि गएनन्, धेरैलाई थाहा पनि भएन’, उनी भन्छन् ।

तामाङले  आर्थिक मन्दीको असरले पनि धेरै फूल, मालाहरु बिक्री नभएको अनुमान गरे । ‘पहिले–पहिले जसरी योपटक कार्यालयहरुले फूलको माला सजाएनन्, सामान्य ढंगले धेरैले मनाए । त्यो पनि अर्को कारण हो’, उनी भन्छन् ।

काठमाडौं महानगरपालिका प्रवक्ता नविन मानन्धरले राम्रो काम गर्न खोज्दा नराम्रो नतिजा आएको स्वीकार्छन् । ‘हामीले नेपाली किसानहरुको हितको लागि स्थान तोकेर फूल माला बेच्न भन्यौं तर किन्ने मान्छेहरु धेरै नजाँदा किसानहरु दुःखी भएका छन्’ मानन्धर अनलाइनखबरसँग भन्छन्, ‘हामी पनि समीक्षा गर्दैछौं, किसानहरुलाई मर्का परेको कुरा हामीलाई थाहा छ ।’

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भने माग भन्दा धेरै फूल बजारमा आउँदा सबै बिक्री नभएको बताउँछन् । ‘नेपाली किसानहरुप्रति महानगर सक्दो लचिलो बनेको छ तर बजारमा फूलको मागभन्दा धेरै उत्पादन भएपछि बिक्रीमा कमी आएको हो ।’

उनले काठमाडौंका उपभोक्ताले पनि नेपाली उत्पादन र नेपाली किसानको सट्टा भारतीय फूलको माला किनेकोमा आश्चर्य व्यक्त गरे । ‘हामीले यहाँका किसानका लागि भनेर स्थान तोकेर त्यति धेरै प्रचार गर्यौं तर सोचे अनुसार मान्छे तोकिएको स्थानमा गएको देखिएन,’ पाण्डेले भने ।

भारतीय फूल महानगर प्रहरीले जहाँ भेट्यो त्यही‌ं जफत गर्ने गरेको, बेच्न नदिएको भन्दै साइकल, ठेलामा बेच्न समेत रोक लगाएको जिकिर गरे ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?