+
+

छठका लागि जनकपुरमा मात्रै ४ करोडको केरा आयात   

रासस रासस
२०८० मंसिर १ गते १२:११
फाइल तस्वीर

१ मंसिर, धनुषा । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रूपैयाँको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।

छठमा सिंगै केराको घरी भगवानलाई अर्घ्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले जानकारी दिए । उनका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । ‘गत वर्ष रू पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो,’ उनले भने, ‘यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।’

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए । ‘छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ,’ उनले भने ।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख रूपैयाँ पर्ने उनले जानकारी दिए । बजारमा प्रत्येक केराको घरीलाई ५ सयदेखि एक हजार रूपैयाँसम्ममा बिक्री गरिन्छ ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?