+
+

गोरखा भूकम्पबाट पाठ नसिकेर जाजरकोटमा भएको मानवीय क्षति

गोरखा भूकम्प गएको ८ वर्ष हुँदा पनि त्यसबाट पाठ सिकेर भूकम्पीय जोखिम भएका ठाउँका कमजोर संरचनालाई बलियो बनाउन हामी चुक्यौं । जाजरकोटमा कमजोर संरचनाका कारण यो विघ्न जनधनको क्षति भएको हो ।

डा. सुबोध ढकाल, प्रमुख, भूगर्भ विभाग, त्रिचन्द्र क्याम्पस डा. सुबोध ढकाल, प्रमुख, भूगर्भ विभाग, त्रिचन्द्र क्याम्पस
२०८० मंसिर १ गते २०:२०

भूकम्पले गर्ने क्षति कति हुन्छ र के कारणले त्यसको मात्रा फरक पर्छ भन्ने जान्न हामीले तीन वटा पक्षको अध्ययन गर्नुपर्छ ।

पहिलो स्रोत हो, भूकम्प कहाँबाट आएको छ र त्यसको उद्गम विन्दु कता हो भन्ने पक्ष विचार गरिनुपर्छ । दोस्रो भूकम्पको तरंगको बाटो हो । भूकम्पका दौरान तरंग हिंड्ने बाटो र त्यसको लहरले पनि क्षतिको मात्रा निर्धारण गर्छ । तेस्रो कुन संरचना छ र हामीले कुन ठाउँको कुरा गर्दैछौं भन्ने पक्ष महत्वपूर्ण हो ।

भूकम्प जमिनको सतह मुनिबाट आउँछ । सतहभन्दा कति मुनिबाट भूकम्प आयो भन्ने पक्षले त्यसको शक्ति र क्षतिको मापन गर्न सकिन्छ । त्यही रेक्टर स्केलको भूकम्प जमिनको सतह नजिकबाट आउँदा बढी क्षति हुन्छ भने बढी गहिराइबाट आउँदा कम क्षति हुन्छ ।

जाजरकोटको भूकम्प जमिनको १७ किलोमिटर मुनिबाट आएको भनिएको छ । त्यसलाई जमिन नजिकको भूकम्प नै भनिन्छ, त्यसको वेभ बढी शक्तिशाली भएकाले बढी क्षति गर्छ । अलि गहिराइबाट आएको भए कम शक्तिशाली हुन्थ्यो र क्षति समेत कम गथ्र्यो ।

भूकम्पले गर्ने असरहरू कुनै ठाउँमा बढी हुन्छ भने कुनैमा कम हुन्छ । जाजरकोटको दरबार भएको डाँडामा त्यहाँ भएका घरहरूमा बढी क्षति पुगेको छ । तर तलपट्टिको बस्तीमा तुलनात्मक रूपमा कम क्षति पुगेको छ ।

भूकम्पको वेभ पहाडको टुप्पो र अग्लो भागमा अतिरञ्जित हुन्छ भन्ने गरिन्छ । गोरखा भूकम्पपछि पनौतीमा कम क्षति हुन्छ भनिए पनि डाँडोमा बढी क्षति पुगेको थियो । पहाडको टुप्पोमा भूकम्पको तरंग अतिरञ्जित हुन्छ भन्ने गरिन्छ । यसवारे विस्तृत अध्ययन हुन बाँकी छ ।

भूकम्पको केन्द्रबाट तरंग फैलिएर जाने क्रममा बीचमा समथर भाग वा उपत्यका छ भने तरंग अतिरञ्जित हुने गर्छ । उपत्यका र समथर भागमा वेभ विस्तारै तरंगित हुने भएकाले हल्लाउने समय बढी पाउने भएकाले त्यस्तो ठाउँमा बढी क्षति हुन्छ । तसर्थ क्षतिको मात्रा ठाउँ अनुसार फरक हुन्छ । भूकम्पको तरंग जति अतिरञ्जित हुन्छ, क्षति हुने सम्भावना त्यति नै बढी हुन्छ ।

कमजोर संरचना

अर्कोतर्फ जोखिममा रहेको संरचना पनि भूकम्पको क्षति बढाउने वा घटाउने कारक बन्ने गरेका छन् । जाजरकोटमा ढुंगा–माटो जडित संरचना भएकाले बढी क्षति देखिएको हो । त्यहींका पक्की संरचनामा कम क्षति पुगेको छ । ती ठाउँमा हामीले कस्तो संरचना बनाएका छौं भन्ने विषयले समेत भौतिक र मानवीय क्षति निर्धारण हुन्छ ।

हाम्रा परम्परागत घरहरू पनि कसरी बनाएका छौं ? प्रतिरोधी उपायहरू अपनाएका छौं कि छैनौं भन्नेले पनि संरचनामा कसरी क्षति हुन्छ भन्ने पाटो निर्धारण गर्छ । जाजरकोटकै सवालमा कुरा गर्दा त्यहाँ रातिको समयमा भूकम्प गएकाले त्यसबारे जानकारी पाउँदा र तयारी गर्दा समय लागेकाले मानिसहरू भाग्न पाएनन् । जसले गर्दा बढी क्षति देखियो ।

भुईंचालो आएपछि दुई वा तीन वटा वेभको कुरा गरिन्छ । त्यसका विभिन्न प्रकार हुन्छन् । उद्गम विन्दुदेखि जमिनको सतहसम्म कम्पन आउँदा त्यसको असर खासै हुँदैन । तर सतहमा आइसकेपछि हाम्रा संरचनासँग वेभको ‘जम्काभेट’ हुनेभयो, त्यसपछि संरचना हल्लाउन थाल्छ ।

त्यसरी तरंग अतिरञ्जित हुन थालेपछि ‘सर्फेस वेभ’ सक्रिय हुन्छ, जुन जोखिमका दृष्टिकोणले खतरनाक हो । त्यसले निकै कम समय सक्रिय भए पनि संरचनालाई बिथोल्छ र भत्काउन थाल्छ । जमिनकै कुरा गर्दा पनि, त्यहाँमुनि चट्टान छ कि दलदल माटो छ कि बलौटे संरचना छ, त्यसले हल्लिने अनुपात तल–माथि हुन्छ । सीमित समय पनि क्षतिका लागि पर्याप्त हुँदोरहेछ ।

गोरखा भूकम्पको पनि ८ वर्ष पूरा भइसकेको छ । त्यसबाट पाठ सिकेर कमजोर संरचना र भूकम्पीय जोखिम भएका ठाउँका संरचनालाई बलियो बनाउन हामी चुकेका छौं । जाजरकोटमा कमजोर संरचनाका कारण जनधनको क्षति बढी भएको हो । क्षति भएपछि मात्रै चुक्चुकाउने प्रवृत्ति भयो, अरू बेलामा हामी सचेत हुन सकेनौं ।

कस्ता निर्माण सामग्री प्रयोग भएका, कसरी बनाइएका र के कस्ता उपाय अपनाएर तयार पारिएका घर कसरी भत्किए भन्नेबारे अध्ययन हुनुपर्छ । भवन संरचनाको विस्तृत विवरण (जसलाई प्राविधिक रूपमा बिल्डिङ फुटप्रिन्ट भनिन्छ), त्यसको अध्ययन गरेमा यति ठूलो क्षतिको कुनै न कुनै कारण देखिन सक्छ ।

कस्तो समूह जोखिममा हुन्छ ?

भूकम्पको जोखिमबारे अध्ययन गर्नका लागि बारम्बार सामाजिक सर्वेक्षण गर्ने गरिन्छ । त्यसक्रममा संकटासन्न समूहबारे पनि अध्ययन हुनुपर्छ । घर कस्तो छ ? कस्ता व्यक्तिहरू बस्छन् ? उमेर अनुसार कस्ता व्यक्ति बस्छन् ? भन्नेबारेमा अध्ययन गरिन्छ र त्यो महत्वपूर्ण पनि हुन्छ ।

हामीकहाँ यसबारेमा पर्याप्त अध्ययन भएको छैन । भूकम्प वा प्रकोपका दौरान पुरुषको तुलनामा महिलाले अरू निर्भर व्यक्तिमाथि पनि ध्यान पु¥याउनुपर्ने स्वभाव बढी हुँदोरहेछ । वृद्धवृद्धा वा बालबालिका छन् भने उनीहरूलाई समेत उद्धार गरेर आफू जोगिन खोज्दा क्षति भइसकेको हुन्छ ।

अर्कोतर्फ बालबालिका र वृद्धवृद्धा त यस्तो जोखिममा पर्ने भइहाले । शारीरिक रूपमा अशक्तहरू पनि जोखिममा पर्छन् । जाजरकोटमा रातिको समय भएकाले बढी क्षति भएको हो । गोरखा भूकम्पमा पनि त्यस्तो तथ्यांक देखिएको थियो । नेपालमा जोखिममा परेका समूहका बारेमा प्रकोपअघि नै पर्याप्त अध्ययन हुनुपर्ने थियो, त्यसो नहुँदा जोखिममा परेकाहरू खतरामुक्त हुनसकेका छैनन् ।

गोरखा भूकम्पपछि क्षतिको पुनर्निर्माण भयो, संरचना बनाइयो । तर, आगामी दिनमा जोखिममा परेका ठाउँहरूको संरचना झनै डरलाग्दो छ भन्ने नीतिनिर्माताहरूलाई हेक्का भएन । हामीले त्यसबारे ध्यान दिन सकेको भए र नीतिनिर्माताहरूले यो ८ वर्षमा केही न केही काम गरेको भए क्षतिको जोखिम घटाउन सकिन्थ्यो ।

(त्रिचन्द्र क्याम्पसको भूगर्भ विभागका प्रमुख एवं प्राध्यापक डा. ढकालसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?