+

आभास लामिछाने झापा एफसीको आइकोनिक प्लेअर

२०८० मंसिर  २ गते १०:३८ २०८० मंसिर २ गते १०:३८
आभास लामिछाने झापा एफसीको आइकोनिक प्लेअर

२ मंसिर, काठमाडौं । नेपाली फुटबलर आभास लामिछाने नेपाल सुपर लिगको आइकोनिक खेलाडीको रुपमा झापा एफसीमा अनुबन्ध भएका छन् ।

आभाष लामिछानेलाई आगामी नेपाल सुपर लिगका लागि आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा उत्साहित भएको झापा एफसीले जनाएको छ ।

नेपाली राष्ट्रिय टोलीका लागि ९ क्याप जितिसकेका लामिछानेले मैदानमा आफूलाई प्रभावशाली खेलाडीको रूपमा प्रमाणित गरिसकेका छन् ।

उनको उल्लेखनीय उपलब्धि र खेलप्रतिको समर्पणले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। तर, उनले पारिवारिक समस्याका कारण विश्वकप छनोटका लागि राष्ट्रिय टोलीमा सामेल हुन पाएनन् ।

आभास लामिछानेले नयाँ अवसरप्रति उत्साह व्यक्त गर्दै झापा एफसीमा आबद्ध भएर नेपालको फुटबलको विकासमा योगदान पुर्‍याउन पाउँदा गौरवान्वित भएको बताए ।

‘नेपाल सुपर लिग उत्कृष्ट मञ्च हो, र टोलीका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छु । पारिवारिक कारण राष्ट्रिय टोलीका लागि खेल्न नपाउँदा दु:ख छुट्टै छ तर नेपाली फुटबल विकासमा म सधैं तत्पर छु,’ उनले भने ।

क्लबका प्रवक्ता सुजन गौतमले यो महत्वपूर्ण सम्झौताबाट झापा एफसीको व्यवस्थापन उत्साहित भएको बताए । ‘आभास लामिछानेलाई हाम्रो आइकोनिक खेलाडीको रूपमा टिममा पाउँदा हामी खुसी छौं । उनको अनुभव, सीप र खेलप्रतिको प्रतिबद्धताले नेपाल सुपर लिगको सफलताको हाम्रो दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। हामी लामिछानेलाई विश्वास गर्छौं। हाम्रो टोलीको लागि उनी महत्वपूर्ण सम्पत्ति हुनेछन्।’

झापा एफ.सी.ले स्पोर्टिङ डी इलामसँग मंसिर ११ गते खेल्दै नेपाल सुपर लिगको सुरूवात गर्नेछ ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ ।

आभास लामिछाने झापा एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय