+
+

पाटन अस्पताल मृत्यु प्रकरण : दुई हप्तासम्म आएन रिपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १९:३५

३ मंसिर, काठमाडौं । पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको परीक्षणको दुई हप्तासम्म नतिजा आउन सकेको छैन ।

१८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको सुइमार्फत औषधि दिएको पाँच मिनेटभित्रै मृत्यु भएको थियो । चिकित्सकहरुले उनीहरुलाई सेफ्ट्रिक्याक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) दिएका थिए ।

बिरामीको मृत्युको विरोध भएपछि १९ कात्तिकमा जिल्ला प्रशासन कार्यालयको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच भएको छलफलमा औषधिको परीक्षण र शवको पोस्टमार्टम गर्ने सहमति भएको थियो । औषधिको परीक्षण औषधि व्यवस्था विभागमा र पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

पाटन अस्पतालका मेडिसिन विभागका प्रमुख प्रा.डा. युवराज शर्माका अनुसार दुबै ठाउँबाट फाइनल रिपोर्ट आइपुगेको छैन । केमिकल एनालाइसिस र शरीरका सबै अंग काटेर हेर्नुपर्ने भएकाले रिपोर्ट आउन ढिला भएको उनले बताए ।

बाहिरी अंगको रिपोर्टमा भने निमोनिया तथा कलेजोले काम नगरेकाले मृत्यु भएको उल्लेख छ ।

‘सामान्य पोस्टमार्टम रिपोर्टमा निमोनियाको साथसाथै कलेजोमा समस्या देखिएको आएको छ । तर, औषधिको कारणले भएको हो कि होइन भन्ने गहिरो रिपोर्ट आउन बाँकी नै छ’ डा. शर्माले भने, ‘हामीले फलोअप गरिरहेका छौं । चाडै दिन अनुरोध गरिरहेका छौं ।’

औषधि व्यवस्था विभागले औषधिको परीक्षण भइरहेको बताएको छ । विभागका एक उच्च अधिकारीका अनुसार रिपोर्ट आउन अझै केही दिन लाग्छ । ‘हामीले औषधिको गुणस्तर हेर्नका लागि दुई–तीन वटा कुरालाई परीक्षण गर्छौं । फर्माकोपिया प्यारामिटरभित्र रहेर औषधिको गुणस्तर हेर्नुपर्ने हुन्छ’, ती अधिकारीले भने, ‘यो छोटो समयमा सामान्य तरिकाले हुने होइन । जसका लागि विभिन्न प्रक्रिया, विधि पुर्‍याउनुपर्ने हुन्छ ।’

मृत्युपछि ओखलढुंगाकी ९० वर्षीया जनमाया राईका आफन्तले शव बुझिसकेका छन् भने ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको शव भने त्रिवि शिक्षण अस्पतालमा नै छ ।
पाटन अस्पतालका चिकित्सकहरु भने बिरामीको मृत्यु हुनुमा सुइमार्फत दिइएको औषधि मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताएका छन् ।

‘उहाँहरुलाई त्यही निमोनिया सेफ्ट्रियाक्सोन एन्टिबायोटिक सात दिन चलाएर ठीक भइरहेको थियो’, डा. शर्माले भने, ‘यो औषधि सुरक्षित नै हो । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेका उहाँहरु सँगसँगै बित्नुभयो । तर, त्यो संयोग हुनसक्छ ।’

उनका अनुसार सेफ्ट्रियाक्सोन एन्टिबायोटिक औषधि उनीहरुजस्तै स्वास्थ्य समस्या भएका धेरै बिरामीलाई दैनिक रुपमा दिने गरिन्छ । ‘हामीले नियमित हजारौं बिरामीलाई चलाइरहेको औषधि हो । जुन हरेक अस्पतालमा एक नम्बरमा प्रयोग हुने औषधि हो’, डा. शर्माले भने, ‘औषधिको गुणस्तरीयता हेर्छौं । अन्य बिरामीलाई उक्त औषधि प्रयोग नगर्ने निर्देशन पनि दिइसकेका छौं ।’

बिरामीमा उमेरसँगै (अन्य कारण) कहिलेकाहीँ रगतको ढिक्का उछिट्टिएर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने डा. शर्माको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?