+
+

बेलायतको राजकीय भोजमा दक्षिण कोरियाली पप कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १५:५७

६ मंसिर । बेलायतका राजा चार्ल्सले राजकीय भोजमा कोरियाली पप संस्कृतिलाई विशेष प्राथमिकता दिएका छन् । बकिंघम प्यालेसमा आयोजना गरिएको राजकीय भोजमा उनले कोरियाली पप संस्कृतिका चर्चित कलाकारलाई समावेश गरेका हुन् ।

बेलायतको राजकीय भ्रमणमा दक्षिण कोरियाका राष्ट्रपति युन-सुक उलसँगै राजा चार्ल्सले  कोरियाली पप संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका कलाकारहरुलाई पनि स्वागत गरे । जसमा ब्लांकपिंक र बिटिएस लगायत समावेश थिए ।

राजकीय भोजमा मन्तव्य दिँदै राजा चार्ल्सले कोरियाली पप संस्कृतिमा कल्पनालाई मोहित गर्ने उल्लेखनीय क्षमता रहेको बताए । ‘कोरियाली पप संस्कृतिले जो कोहीलाई पनि मोहित तुल्याउने क्षमता राख्छ तर गंगनम स्टाइलबारे मलाई त्यति धेरै जानकारी छैन’, उनले भने ।

अमेरिकन राष्ट्रपति जो बाइडेनसँग भेट गर्दा अमेरिकन पाइ गाएका राष्ट्रपति उलले त्यहाँ भने कुनै गीत गाएनन् । तर युवा अवस्थामा आफू बिटल्स, क्वीन र एल्टन जोनको फ्यान रहेको बताए ।

राजकीय भ्रमणमा व्यवहारिक र राजनीतिक कुराकानीका साथै केही विशेष पाटो पनि मिश्रित हुन्छ । कोरियाली कलाकारलाई समेत बकिंघम प्यालेसमा रातो कार्पेटमा स्वागत गरेर बेलायतले आफ्नो महत्वपूर्ण व्यापार साझेदार मुलकुलाई विशेष प्राथामिकता दिएको छ ।

राजकीय भोजमा सहभागी कोरियाली प्रतिनिधिलाई स्वागतका निम्ति राजा,  रानी, युवराज युवराज्ञी तथा प्रधामन्त्री ऋषि सुनक समेत उपस्थित थिए ।

यसअघि दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई सामान्य स्वागत गर्दै आएको बेलायतले यसपटक विशेष प्राथामिकता दियो । उनको स्वागतका निम्ति १ हजार सैनिक परेडमा तैनाथ थिए भने ग्रीन पार्कमा हर्षबढाइँका निम्ति बन्दुक पड्काइएको थियो ।

भव्य स्वागत गरेका चार्ल्सले उललाई सचेत समेत गराएका छन्, ‘लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताका लागि दक्षिण कोरियाले रणनीतिक कार्य गरिरहेछ । यस्ता मूल्य र मान्यतामाथि चुनौती दिने काम भइरहँदा चनाखो हुनैपर्छ ।’

भ्रमणका दौरान महत्वपूर्ण सम्झौता पनि भएका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनक र कोरियाली राष्ट्रपति उलले बुधबार व्यापार प्रवर्द्धन र विश्व्यापी स्थिरताका लागि सहकार्य सम्बन्धि डाउनिङ स्ट्रिट सम्झौतामका हस्ताक्षर गरेका हुन् । हरित उर्जा र उच्च प्रविधि विकासमा यी दुइ मुलुकबीच सहकार्य हुने भएको छ ।

उत्तर कोरियामाथि अझै कडा प्रतिबन्ध लगाउनका निम्ति दुई मुलुकले हातेमालो गर्ने भएका छन् । दक्षिण कोरियाली जल सेना र बेलायती जलसेनाबीच सहकार्य हुने भएको छ ।

‘हाम्रो साझेदारीका कारण  विभिन्न क्षेत्रमा दुबै  मुलुकको लगानी २१ अर्ब  पाउण्ड पुगेको छ । ‘हामीबीचको दीर्घकालीन सहकार्यले विश्वव्यापी सुरक्षा र समृद्धिमा मद्दत पुर्‍याउनेछ’, सुनकले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?