+
+

फिल्म चलाउन सास्ती देखेपछि प्रकाश सपुत भन्छन्- यस्तै कारणले लगानी गर्न हिम्मत आएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १४:०६

काठमाडौं । यतिबेला फिल्म ‘दिमाग खराब’ विभिन्न कारणले चर्चामा छ । फिल्मका निर्माताले उचित शो र आम्दानीको ५० प्रतिशत हिस्सा मागेको विषयलाई लिएर प्रदर्शक र निर्माता वार्तामा छन् ।

प्रदर्शकले उचित शो नदिएको भन्दै निर्माताले फिल्म उतार्ने घोषणा गरेपछिको चर्चा सेलाएको छैन । यद्यपि, फिल्मले सकारात्मक समीक्षा प्राप्त गरेको छ र सुखद् कमाइ पनि भइरहेको छ । खासगरी यो फिल्मलाई लिएर भइरहेको बहसमा फिल्मकर्मीले आ–आफ्नो धारणा राखिरहेका छन् ।

यीमध्ये एक हुन् गायक तथा अभिनेता प्रकाश सपुत । ‘दिमाग खराब’ रिलिजको केही साताअघि सपुतको डेब्यु फिल्म ‘परदेशी २’ रिलिज भएको थियो । पछिल्लो सप्ताहन्त ‘दिमाग खराब’ हेरेपछि सामाजिक सञ्जालमार्फत सपुतले फिल्मको प्रशंसा गर्दै आफूलाई किन फिल्ममा लगानी गर्न हिम्मत आइरहेको छैन भनेर धारणा राखेका छन् ।

उनी लेख्छन्, ‘दिमाग खराबले पर्दाभित्र उठाएको राजनीतिक मुद्दा र पर्दाबाहिर उठाएको व्यावसायिक मुद्दा दुवै सशक्त छ । आन्तरिक नेपाली चलचित्रबीचको खिचातानी होस् या विदेशी चलचित्र लिएर गरिने हस्तक्षेप । कम्तीमा चलचित्र प्रदर्शनलाई व्यावसायिक रुपमा मर्यादित, पारदर्शी र न्यायपूर्ण बनाइदिए हुन्थ्यो । किनकि चलचित्रमा भन्न सकिन्छ कि भनेर सोचेका केही आफ्ना मौलिक कथाहरु छन् । यस्तै केही कारणले लगानी गर्न हिम्मत आएको छैन । दिमाख खराब टिमलाई धन्यवादसहित शुभकामना ।’

सपुत स्वयंले आफ्नै लगानी र निर्देशनमा फिल्म बनाउने तयारी गरिरहेका छन् । यस्तोमा उनले फिल्ममा लगानी गर्न हिम्मत नआएको भन्दै राखेको धारणाले पछिल्लो समय निर्माताले प्रदर्शनमा सास्ती व्यहोर्नुपरेको अवस्था चित्रण गर्छ ।

प्रकाशले पोस्टमा ‘दिमाग खराब’की नायिका स्वस्तिमा खड्काको तस्वीर राख्दै उनको अभिनयको प्रशंसासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?