+
+

सर्वोच्चले माग्यो टीकापुर घटनाका ३ दोषीलाई रिहा गर्नुको कारण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १७:२९

७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा संलग्न रेशम चौधरीबाहेक अरु तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकको हत्याको घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको कैद छुट गर्ने सरकारको निर्णयबारे लिखित जवाफ माग गरेको हो ।

संविधान दिवशको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायतका व्यक्तिको कैद छुट गरेका थिए ।

सरकार र राष्ट्रपतिको उक्त निर्णयको विरुद्ध टीकापुर घटनामा हत्या गरिएका प्रहरीका परिवाका सदस्य शारदा कठायत र मन्धरादेवी विष्टले २१ कात्तिकमा सर्वोच्च अदालतमा रिट दिएका थिए । रिट निवेदनमा उनीहरुले हरिनारायण, वीरबहादुर र प्रदीपको कैद छुट बदरको माग गरेका थिए ।

जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा रेशम चौधरी सहित १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको सजाय गरेको थियो । जिल्ला अदालतबाट ३ वर्षमात्रै कैद सजाय पाएका लक्ष्मण थारु समेत जन्मकैदको सजायमा परेका थिए ।

सर्वोच्च अदालतले सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपबाट सफाइ दिएको थियो । लक्ष्मण चौधरीमाथि ३ वर्ष कैद फैसला भएको थियो । रेशम चौधरीसहित अन्यको हकमा भने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो ।

सर्वोच्च अदालतको फैसलालगत्तै सरकारले माफीमिनाहाको प्रक्रियाबाट १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीको कैद मिनाहा गरेको थियो । थप हरिनारायण, वीरबहादुर र प्रदीप भने संविधान दिवसका अवसरमा छुटेका थिए ।

गणतन्त्र दिवसको अवसरमा रिहा भएका रेशमको माफीमिनाहा विरुद्ध पनि सर्वोच्चमा रिट परेको छ र उक्त रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?