+
+

जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु प्रकरण : प्रहरी रोहबरमै १० लाखमा मिलापत्र

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० मंसिर ८ गते १०:२२

८ मंसिर, जनकपुरधाम । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ ।

बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएको थियो ।

मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो ।

तर, यो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ । क्रिया खर्चवापत १० लाख रुपैयाँ दिने सर्तमा मिलापत्र भएको आफन्त मिथला नगरपालिका-२ नक्टाझिजका वीरबहादुर रयासलीले जानकारी दिए । ‘क्रिया खर्चवापत १० लाख रुपैयाँ हस्पिटलले दियो । राति नै हामी शव बुझेर आयौं,’ हजुरबा पर्ने रसायलीले भने ।

मृतक बालकका मामा सुनिल परियाका अनुसार क्षतिपूर्ति ५० लाख रुपैयाँ, उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज र हस्पिटल सिल गर्नुपर्ने सहितको मृतक परिवारको सर्त थियो । तर १० लाख रुपैयाँ दिने सहमति भएको उनले पनि पुष्टि गरे ।

मृतक बालकको ठूलाबुबा टिकाराम कालिकोटे आइसकेपछि उनीहरुकै उपस्थितमा मिलापत्र भएको सुनिलको भनाइ छ ।

घटनापछि मिल्न र लास हस्पिटलबाट उठाएर लग्न प्रहरीले दबाब बनाएको थियो ।

मिलापत्रको बेला जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यशाखाका प्रहरी निरीक्षक विनयकुमार सिंहको कमाण्डको टोलि त्यहाँ उपस्थित रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि राति नै मिलापत्र गरी मृतक परिवार शव लिएर घर पुगेको बताए । यद्यपि के सर्तमा मिलापत्र भयो भन्ने कुरा प्रहरी निरीक्षक नै त्यहाँ हुँदा भएकोले उनैलाई थाहा भएको डीएसपी अवाको भनाइ छ ।

‘इन्सपेक्टर सिंह मध्यराति नै मृतक परिवार र हस्पिलबिच सहमति भयो भनेर भन्नु भयो । राति नै मृतक परिवारले शव बुझेर घर फर्कियो । तर के के सहमति भयो भनेर बुझेकै छैन । इन्सपेक्टर साहब सुत्नु भएको छ, बुझ्नै पछर्,’ डीएसपी अवाले भने ।

वार्तामा बस्नु अघि नै मृतक बालकका ठूलाबुबा टिकारामले राति साढे ८ बजे आफूलाई हस्पिटलमा इन्सपेक्टरले वार्तामा बस्न दबाब दिइरहेको र हातपात गर्न खोजेको गुनासो अनलाइनखबरसँग फोनमा गुनासो गरेका थिए ।

‘बच्चा मर्‍यो नि उसको म ठूलडेडी हो । अघि मलाई माथि लगेर इन्सपेक्टरले तपाईं वार्तामा बस्नै पर्छ भनेर हातपात गर्न खोज्यो । नभए तपाईंलाई थुनिदिन्छु भनेर धम्क्याउनु भयो,’ उनले गुनासो गरेका थिए ।

त्यसअघि साँझ हस्पिटल अगाडि मृतक परिवारले टायर बालेर प्रदर्शन गर्दै ढंगामुढा गरेका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले मृतक बालकका मामासहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

त्यहाँ उपस्थित मृतकका आफन्तका अनुसार प्रहरीले पहिले वार्तामा बसेर सहमति गरेर शव अस्पतालबाट उठाए मात्र पक्राउ गरेकालाई छाड्ने सर्त राखेको थिए । तर, पहिला पक्राउ परेकालाई छाडे मात्र वार्तामा बस्ने सर्त मृतक परिवारले राखेपछि प्रहरीले करिब १० बजे राति छाडेको थियो । त्यसपछि हस्पिटल र मृतक परिवार वार्तामा बसेको थियो । प्रहरीले भने जसरी पनि सहमति गर्नु पर्ने दबाब दिएको थियो ।

जनकपुरको मुरलीचोकमा २०७८ फागुनदेखि डा. विजय राउतले संचाल गरेको यो हस्पिटल हालसम्म संचालन अनुमति लिएको छैन ।

विशिष्टीकृत हस्पिटलको रुपमा संचालनमा रहेको यो हस्पिटलको मापदण्ड पूरा नगर्दा स्वास्थ्य सेवा विभागले संचालन स्वीकृति दिन अस्वीकार गर्दै आएको छ ।

चर्को उपचार शुल्क लिने यस हस्पिटलमा क्षमता भन्दा बाहिर गएर बिरामीको जबरजस्ती उपचार गर्दा पटकपटक मृत्यु, शुल्क बुझाउन नसक्दा बिरामी र शवलाई बन्धकसम्म बनाएको घटनाहरु हुने गरेको छ । तर कुनै पनि सरकारी संयन्त्रले हालसम्म कारबाही गरेको छैन ।

मृतक परिवारलाई रकम दिएर घटना ढाकछोप गरिएको जनकपुरधामको न्यूरो हस्पिटल मात्र होइन यसअघि जनकपुरको गोदाबरी हस्पिटल, रामजानकी हस्पिटल, सुरक्षा हस्टिललगायतमा भएका लापरबाही घटनाहरु रकम लेनदेनमा मिलापत्र गरिएको छ ।

प्रहरी प्रशासनले छानविन गरी दोषीलाई कारबाही गर्नुको साटो मिलापत्र गराउने र दोषी उम्काउनेमा भूमिका खेल्दै आएका छन् ।

कसैलाई कारबाही नह्ँदा निजी हस्पिटलहरु लापरबाही गरेर मान्छे मार्ने थलो बन्दै गएको छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?