+
+

युवकको मृत्युपछि अस्पतालमा तोडफोड, पाँच लाखमा मिलापत्र

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असार १९ गते ९:४३
स्थिति नियन्त्रणमा लिन अस्पतालमा तैनाथ प्रहरी

१९ असार, धनुषा । जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । अस्पताल र मृतक पक्षबीच मिलापत्र गरेपछि यो घटना साम्य भएको छ ।

धनुषाको धनौजी गाउँपालिका २ धनौजीका ३२ वर्षीय पपु राउतको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएको थियो । लगत्तै मृतकका आफन्तले हस्पिटलमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । अस्पताल परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । तोडफोडबाट सामान्य क्षति भएको अस्पतालका सञ्चालक डा. अशोक अधिकारीले बताए ।

परिवारजनले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । मध्यराति उपचार खर्च मिनाहा र पाँच लाख रुपैयाँ अस्पताल पक्षले उपलब्ध गराउने सहमति भएपछि आफूहरुले शव बुझेको मृतकका जेठान दीपक पटेलले बताए । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको बताए ।

अत्यधिक पेट दुखेपछि आइतबार बिहान १० बजे पपुलाई अस्पताल भर्ना गरिएको थियो । भर्ना भएकै बेलादेखि समय समयमा चिकित्सक र नर्सले बेवास्ता गरेको र यहीँ ठीक हुन्छ भन्दै अरु अस्पतालमा लैजान नदिँदा मृत्यु भएको आफन्तजनको आरोप थियो ।

अस्पतालका इन्चार्ज सुशील कुमार साहले उपचारमा बेवास्ता नभएको बताए । उनका अनुसार बिरामीलाई अत्यधिक पेट दुख्ने समस्या थियो । ‘बिरामी भर्ना हुने बेला नै सिरियस थिए । ४–५ वटा पेनकिलर दिएपछि मात्र दुखाइ कम भएको थियो । समय–समयमा चिकित्सकले रेखदेख, औषधि उपचार गरेकै थिए । बिरामीको मृत्यु कसरी भयो भन्न सकिन्न,’ उनले भने, ‘बेवास्ता भएको होइन ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?