News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले ४२ औँ वार्षिकोत्सवका अवसरमा बैंक एआई युगमा प्रवेश गरेको घोषणा गर्दै सेवा प्रवाहमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई तीव्रता दिएको छ ।
- अध्यक्ष निर्वाण चौधरीले एआई कर्मचारीको विकल्प नभई सहयोगी प्रविधि रहेको र यसले ग्राहकलाई छिटो तथा थप पारदर्शी बैंकिङ सेवा प्रदान गर्ने बताउनुभयो ।
- बैंकले एनबैंक एपमार्फत नेपाल–भारत सीमापार रेमिट्यान्स, डिजिटल लाउञ्ज र स्वचालित ऋण प्रक्रियाजस्ता प्रविधिमैत्री सेवाहरू सञ्चालनमा ल्याएर आफ्नो डिजिटल रूपान्तरणलाई मजबुत बनाएको छ ।
६ साउन, काठमाडौं । केही वर्ष अघिसम्म बैंकबाट ऋण लिनु धैर्यको परीक्षा दिनुजस्तै हुन्थ्यो ।
थोरै कर्जा लिनका लागि पनि बैंकका शाखामा पुगेर लामो प्रक्रिया पूरा गर्नुपर्दथ्यो । फारम भर्नेदेखि नागरिकता र अन्य कागजात बुझाएर मात्रै पुग्दैनथ्यो, सम्पूर्ण विवरण रुजु गर्नुपर्थ्यो। अर्कोतर्फ प्रक्रिया पूरा गर्न हप्तौ पनि लाग्थ्यो । अहिले त्यहीं प्रक्रियाका लागि न त शाखा नै जानुपर्छ न त लामो समय नै लाग्छ ।
मोबाइलमा केही क्लिक गरेकै भरमा ऋण खातामै आइपुग्छ । यसको कारण हो, नबिल बैंकले सेवामा अपनाएको एआई, अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स । तीव्र गतिमा विकास भइरहेको प्रविधिको प्रयोग गर्दै आधुनिक बैंकिङमार्फत नविनतम सेवा प्रवाह गरिरहेको बैंकले अहिले कर्जा प्रवाहमा मात्रै नभइ विभिन्न सेवामा एआईको प्रयोग बढाएको छ । जसले मानिसको समय बचत गर्नुका साथै सेवा लिन निकै सहज भएको छ ।
४२ औँ वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाण चौधरीले नबिल बैंक एआई युगमा प्रवेश गरेको घोषणा गरे । उनले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग एआई भएकाले यसको प्रयोग अपरिहार्य भएको बताए । एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनःपरिभाषित गरिरहेको उनको भनाइ थियो ।
‘बैंकले एआईलाई कर्मचारीको विकल्पका नभइ सहयोगी प्रविधिका रुपमा प्रयोग गरिरहेको छ’, अध्यक्ष चौधरीले भने, ‘दोहोरो काम, धेरै समय लाग्ने प्रक्रियालगायतमा एआईले काम गरिरहेको छ, कर्मचारीले ग्राहकसँगको प्रत्यक्ष सेवा, वित्तीय परामर्श र जटिल निर्णयमा बढी समय दिन सक्ने अवस्था बनेको छ ।’
बैंकले वर्ष २०८३ देखि आफ्नो उद्देश्य, लक्ष्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गर्दै ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने लक्ष्य सार्वजनिक गरेको छ । ‘विश्वास, पारदर्शिता, प्रतिभा, प्रविधि र रूपान्तरण’लाई पाँच ‘टी’का मूल स्तम्भका रूपमा अघि सार्दै ग्राहककेन्द्रित सेवा, कृत्रिम बौद्धिकता, डिजिटल नवप्रवर्तन, सुशासन, दिगोपना तथा नेतृत्व विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।
त्यति मात्रै होइन, नबिल बैंकले २०२३ नोभेम्बरदेखि सुरु गरेको सेल्फ–सर्भिस किओस्कले पनि ग्राहकलाई ठूलो राहत भएको छ । यस प्रणालीमार्फत ग्राहकले शाखामा कर्मचारीको प्रत्यक्ष सहयोगबिनै विभिन्न बैंकिङ सेवा लिन सक्छन् ।
विशेषगरी ईसीसी क्लियरिङ चेक किओस्कमार्फत नै जम्मा गर्न सकिने सुविधा उपलब्ध गराइएको छ । यसले चेक बुझाउने प्रक्रिया छिटो, सहज र व्यवस्थित बनाउनुका साथै शाखामा हुने भिड घटाउन र ग्राहकको प्रतीक्षा समय कम गर्न सहयोग पुगेको बैंकको भनाइ छ । ग्राहकले आफूसँग भएको चेक मेसिनमार्फत सजिलै जम्मा गर्न सक्छन्।
बैंकले डिजिटल बैंकिङलाई थप विस्तार गर्दै नेपाल–भारत–नेपाल सीमापार पर्सन–टु–पर्सन रेमिट्यान्स सेवा सुरु गरेको छ । जसमार्फत नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल रकम पठाउन र प्राप्त गर्न सकिनेछ ।
नबिल बैंकमा खाता भएका भारतीय नागरिकले एनबैंक मोबाइल बैंकिङ एपमार्फत भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तुरुन्तै रकम पठाउन सक्नेछन् भने नेपाली तथा भारतीय नागरिकले पनि नेपालमा रहेका नबिल बैंकका प्रयोगकर्तालाई सहज रूपमा रकम पठाउन सक्नेछन् ।
साथै बैंकले एनबैंकमा लगानी सेवा विस्तार गर्दै नबिल इन्भेस्टमेन्ट बैंकिङसँगको सहकार्यमा ग्राहकले एउटै प्लेटफर्मबाट ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ मा दर्ता हुन सकिने व्यवस्था गरेको छ । साथै त्यसैबाट किस्ता भुक्तानी गर्न तथा लगानीसम्बन्धी सेवा अतिरिक्त शुल्कबिनै मोबाइलबाटै लिन सक्ने सुविधा सुरु गरेको छ । जसबाट विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागिता जनाउन सक्नेछन् ।
बैंकले कमलादीस्थित नबिल हाउसमा अत्याधुनिक डिजिटल लाउञ्ज सञ्चालनमा ल्याएको छ । जहाँ एटीएमबाट नगद झिक्ने, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्ने, कियोस्कमार्फत चेक डिजिटल रूपमा जम्मा गर्ने लगायतका सेवा २४सै घण्टा उपलब्ध हुनेछन् । केन्द्रीय कार्यालय र इटहरीपछि सञ्चालनमा आएको यो डिजिटल लाउञ्जमार्फत परम्परागत काउन्टर सेवामाथिको निर्भरता घटाउँदै प्रविधिमैत्री, छरितो र एकीकृत डिजिटल बैंकिङ सेवा विस्तार गर्ने रणनीतिलाई बैंकले अझ सशक्त बनाएको जनाएको छ ।
नबिल बैंकका अनुसार अहिले सम्पूर्ण काम डेटा, एल्गोरिदम र स्वचालित प्रणालीमा रुपान्तरण भइरहेको छ । एआई प्रविधिले ग्राहकको वित्तीय जानकारी, उसको वित्तीय इतिहास, आम्दानी, ऋण भुक्तानी क्षमता र जोखिम सूचकहरूको विश्लेषण गरेर केही क्षणमै निर्णयका आवश्यक आधार तयार गरिदिन्छ ।
यसले बैंकिङलाई केवल छिटो मात्र बनाएको छैन, अझ सटीक, पारदर्शी र ग्राहकमैत्री पनि बनाइरहेको छ । बैंकले आफ्नो फोन लोन सेवामा एआईमा आधारित डिसिजन एनालिटिक्स प्रणाली प्रयोग गर्दै ऋण स्वीकृति प्रक्रियालाई स्वचालित बनाएको छ । यस प्रणालीले ग्राहकको वित्तीय प्रोफाइलको विश्लेषण गरी ऋणका लागि योग्य भए/नभएको मूल्याङ्कन केही क्षणमै गर्न सहयोग गर्छ ।
बैंकले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको अहिले मात्रै होइन । सन् १९८४ मा स्थापना हुँदा नेपालको पहिलो कम्प्युटराइज्ड बैंकका रूपमा स्थापना भएको नबिल बैंक अहिले आफ्नो चार दशकभन्दा लामो यात्रामा प्रविधिको प्रयोगलाई उच्च महत्व दिँदै आएको छ । बैंकका अनुसार रोबोटिक प्रोसेस अटोमेसन पनि प्रयोगमा आइसकेको छ । धेरै काम अहिले सफ्टवेयर बोटमार्फत सञ्चालन भइरहेका छन् । जसले कार्यक्षमता बढाएको छ भने मानवीय त्रुटि कम गर्दै सेवा प्रवाहलाई छिटो बनाएको छ ।
बैंकले बिजनेस इन्टेलिजेन्स प्रणालीमार्फत ग्राहकको व्यवहार, कारोबारको ढाँचा र सेवा प्रयोगको विश्लेषण गरिरहेको छ । यसबाट बैंकले कुन ग्राहकलाई कस्तो सेवा आवश्यक पर्न सक्छ, कुन क्षेत्रमा नयाँ उत्पादन विकास गर्नुपर्छ वा कहाँ सेवा सुधार गर्नुपर्छ भन्ने जानकारी प्राप्त गर्छ ।
डिजिटल रूपान्तरणको अर्को महत्वपूर्ण उपलब्धि बैंकले सञ्चालनमा ल्याएको एनबैंक हो । सन् २०२२ मा सुरु गरिएको यो डिजिटल बैंकिङ प्लेटफर्मले नेपाली बैंकिङमा नियो बैंकिङ अवधारणा भित्रएको बैंकको भनाइ छ । एनबैंक एपमार्फत ग्राहकले करिब ३० सेकेन्डमै नयाँ खाता खोल्न, स्थिर निक्षेप धितोमा तत्काल ऋण लिन तथा कार्डमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्छन् । शाखामा उपस्थित नभई धेरै सेवा प्राप्त गर्न सकिने भएकाले यसले विशेषगरी युवा पुस्ता र डिजिटल माध्यम प्रयोग गर्ने ग्राहकलाई सहज बनाएको छ ।
बैंकका अनुसार अब एनबैंकको विकासमा एआईलाई केन्द्रविन्दुमा राखिनेछ । यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउनेछ । यसबाट द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन, बौद्धिक ग्राहक अनुभव, व्यापक वित्तीय समावेशीकरण र मजबुत सुरक्षा प्रणालीको विकास हुनेछ ।
नयाँ कोर बैंकिङ प्रणाली, ओम्नी च्यानल म्यानेजर, बिजनेस प्रोसेस म्यानेजमेन्ट र लोन ओरिजिनेसन सिस्टम जस्ता प्लेटफर्मले बैंकका अधिकांश प्रक्रिया डिजिटल बनाएका छन् । जसमा ऋण आवेदनदेखि स्वीकृति, सीमा निर्धारण र वितरणसम्मका प्रक्रिया एउटै डिजिटल प्रणालीमा जोडिएका छन् ।
प्रतिक्रिया 4