News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंक स्थापनाको ४२ औँ वर्ष पूरा गरी ४३ औं वर्षमा प्रवेश गरेको छ।
- अध्यक्ष निर्वाणकुमार चौधरीले बैंक आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेश गरेको घोषणा गर्दै सेवालाई अझ स्मार्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
- बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि ४२ दिन लामो विशेष कर्जा, लकर तथा कार्ड सेवामा छुटसहितको प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ।
२८ असार, काठमाडौं । नबिल बैंक स्थापनाको ४२ औँ वर्ष पूरा गरी ४३ औं वर्षमा प्रवेश गरेको छ।
स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकले यस ऐतिहासिक घडीमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणा अझ सबल रूपमा अघि सारेको हो।
‘विश्वास सम्पत्ति, नवप्रवर्तन हाम्रो डीएनए’ : अध्यक्ष निर्वाणकुमार चौधरी
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले सम्बोधनमार्फत बैंकको विगत, वर्तमान र भविष्यको मार्गचित्र स्पष्ट पारे। ‘नबिल बैंक ४२ वर्षको यात्रामा साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार र समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु’ उनले भने ‘यो विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग हो ।’
उनले विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको चर्चा गर्दै नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको बरु सधैँ त्यसको नेतृत्व गरेको बताए।
‘हामीले आधुनिक बैंकिङको जग बसाल्यौँ। एनबैंक एप मार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौँ,’ अध्यक्ष चौधरीले भने, ‘नेपालकै पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौँ। आज नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेस्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ।’
नवप्रवर्तन बैंकले अपनाउने मात्र नभइ डीएनएमै रहेको उनले बताए । चौधरीले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) युगमा बैंक प्रवेश गरेको घोषणा गरे। एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनःपरिभाषित गरिरहेको उनले बताए।
नबिल बैंकले यस परिवर्तनमा केवल सहभागी मात्र नभई यसको नेतृत्व गर्ने तयारी गरिसकेको उनको भनाइ छ । ‘एनबैंकको अबको विकासमा एआईलाई केन्द्रविन्दुमा राखिनेछ। यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउनेछ’ उनले भने ‘यसबाट द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन, बौद्धिक ग्राहक अनुभव, व्यापक वित्तीय समावेशीकरण र मजबुत सुरक्षा प्रणालीको विकास हुनेछ।’
प्रविधि जतिसुकै बौद्धिक बने पनि मूल उद्देश्य सधैँ मानवीय भावना र मूल्यमान्यतासँगै जोडिने उनको भनाइ छ । ‘बैंकिङ केवल वित्तीय कारोबार मात्र होइन, यो सपनाहरू साकार पार्ने, उद्यमीहरूलाई सघाउने, परिवारको भविष्य निर्माण गर्ने र नेपालको समृद्धिमा योगदान दिने माध्यम हो’ उनले भने ।
तीव्र वित्तीय वृद्धि र रणनीतिक कार्यसम्पादन
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले नबिल बैंक केवल बैंकिङ सेवा दिने संस्था मात्रै नभई सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार भएको बताए । ‘हाम्रो लागि यही हो बैकिङ एण्ड बियोन्ड’ सीईओ ज्ञवालीले भने।
ग्राहकको बदलिँदो बैंकिङ अपेक्षा र दिगो विकासको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने दृढ संकल्प लिएको छ।
देशको आर्थिक विकासका लागि रणनीतिक र उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लगेको बैंकले हालसम्म विभिन्न क्षेत्रमा गरेको कर्जा लगानीको अवस्था यस्तो छ,
कृषि क्षेत्र : ५३ अर्ब ३१ करोड
ऊर्जा क्षेत्र : ५१ अर्ब ६ करोड
लघु, घरेलु, साना तथा मझौला उद्योग : ४५ अर्ब ९२ करोड
पर्यटन क्षेत्र : ११ अर्ब १० करोड
प्रमुख वित्तीय सूचकांकमा अभूतपूर्व प्रगति
विगत ४२ वर्षको अवधिमा बैंकले वित्तीय बजारमा आफ्नो अभूतपूर्व उपस्थिति जनाएको छ । आर्थिक वर्ष २०४१/४२ मा बैंकको कुल नेटवर्थ २ करोड ८० लाख र खुद नाफा १० लाख रहेकामा चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेटवर्थ ७० अर्ब ८३ करोड र खुद नाफा ६ अर्ब ७६ करोड पुगेको छ।
सुरुआती चरणमा १४ करोड ६० लाख मात्र रहेको निक्षेप संकलन बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड पुगेको छ भने कर्जा प्रवाह पनि १३ करोड ३० लाखबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड पुगेको छ। कुल सम्पत्ति पनि २६ करोड ९० लाखबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड पुगेको छ।
२ शाखा र १४४ कर्मचारीबाट सुरु भएको सेवा सञ्जाल अहिले देशैभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ दक्ष कर्मचारीहरूसम्म विस्तार भइ २६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।
वार्षिकोत्सवमा ग्राहक केन्द्रित विशेष योजना र अफर
४२ औं वार्षिकोत्सवलाई उत्सवमय बनाउन नबिल बैंकले ४२ दिन लामो विशेष प्रवर्द्धनात्मक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका योजनाहरू सार्वजनिक गरेको छ ।
पुनःनिर्माण घर कर्जा योजना : हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारका कारण प्रभावित भएकाहरूका लागि लक्षित गरी बैंकले यो योजना ल्याएको हो । आधार दर मा मात्र ०.५ प्रतिशत प्रिमियम ब्याजदर थप गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।
लकर र गेटवेमा छुट अफर : बैंकले लकर सेक्युरिटी डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड र इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) जस्ता सेवा लिन चाहने ग्राहकका लागि विशेष योजना ल्याएको छ । लकर सेक्युरिटी डिपोजिट सुविधा लिन चाहने ग्राहकले ४२ प्रतिशत छुट पाउने छन् भने ईपीजी सेवा लिन चाहने ग्राहकले १५ हजार रुपैयाँको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
क्रेडिट र डेबिट कार्ड अफर : क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकले आवेदन शुल्क र एक वर्षको सदस्यता शुल्कमा पनि छुट पाउनेछन् । यी सुविधाहरू बैंकको वार्षिकोत्सवको अवसरमा ४२ दिनसम्म लागू हुनेछन् । डेबिट कार्डका हकमा भने वार्षिकोत्सवकै दिन आवेदन दिने ग्राहकले चार वर्षसम्म डेबिट कार्ड प्रयोग गर्न पाउनेछन्।
नबिल बैंकले देशभर २६४ शाखा सञ्जालसहित ३१५ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4