News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले देशैभरिका जग्गाको प्रयोजनअनुसार सरकारी मूल्य तोकेको छ भने मालपोत कार्यालयले चालु आर्थिक वर्षका लागि मूल्य १० प्रतिशतसम्मले वृद्धि गरेका छन् ।
- काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयले केशरमहल र न्यूरोड वरपरको जग्गाको मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ कायम गरेको छ ।
- भक्तपुर जिल्लाका मालपोत कार्यालयहरूले भने गत आर्थिक वर्षको तुलनामा जग्गाको मूल्याङ्कनमा कुनै परिवर्तन नगरेको जनाएका छन् ।
६ साउन, काठमाडौं । सरकारले देशैभरिका जग्गाको प्रयोजन अनुसार सरकारी मूल्य तोकेको छ । सम्बन्धित मालपोत कार्यालयले चालु आर्थिक वर्षका लागि १० प्रतिशतसम्मले वृद्धि गरी सरकारी मूल्य कायम गरेका हुन् ।
काठमाडौं डिल्लिबजार मालपोत कार्यालयले गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले मूल्याङ्कन बढाएको जनाएको छ । सो अनुसार केशरमहल, जमल, ठमेल, न्यूरोड, माइतीघर वरपरका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ कायम गरेको छ । डिल्लीबजार मालपोत कार्यालयले न्यूनतम ११ लाख रुपैयाँ प्रतिआना कायम गरेको छ । सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार तोकिएका अन्य स्थानमा रत्नपार्क, पुरानो बसपार्क सहिद गेट लगायत छन् ।
पुतली सडक आसपासका जग्गाको मूल्य प्रतिआना ५६ लाख रुपैयाँ तोकिएको डिल्लीबजार मालपोत कार्यालयले जनाएको छ । यसअघि यहाँको लागि प्रतिआना ५३ लाख २४ हजार थियो । यी क्षेत्रमा कच्ची र गोरेटो बाटोले छोएको जग्गाको लागि भने २२ लाख देखि ३७ लाख रुपैयाँसम्म तोकिएको छ । यद्यपि मालपोत कार्यालयले गरेको मूल्यभन्दा निकै फरक मूल्यमा खरिद बिक्री हुने गर्छ ।
चाबहिल मालपोत कार्यालयले हेर्ने क्षेत्रहरूमा भने गौशलादेखि धोबीखोलाका चक्रपथसँग जोडिएका जग्गाको मूल्य सबैभन्दा धेरै कायम भएको छ । यो क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६२ लाख ७० हजार रुपैयाँ कायम गरिएको छ । गत आर्थिक वर्षका लागि यी क्षेत्रका जग्गाको मूल्याङ्कन ५७ लाख रुपैयाँ थियो ।
यसअघि बल्खुदेखि बनस्थलीका चक्रपथसँग जोडिएका क्षेत्रको प्रतिआना मूल्य ४७ लाख रुपैयाँ तोकिएकोमा चालु आवमा प्रति आना ४९ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । कालीमाटी, विष्णुखोला क्षेत्रका जग्गाको मूल्य पनि २३ लाख रुपैयाँदेखि ४३ लाख रुपैयाँ तोकिएको छ । यी क्षेत्रमा जग्गाको मूल्याङ्कन प्रति आना २ लाखका दरले बढाइएको हो ।
काठमाडौं जिल्लामा सबैभन्दा कम मूल्य प्रतिआना १ लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको छ । बाटो नपुगेका जग्गाहरूको लागि यस्तो मूल्य तोकिएको हो । गोकर्णेश्वर नगरपालिकाको साविकको बालुवा गाविसमा बाटोले नछोएको जग्गाको लागि १ लाख ४३ हजार रुपैयाँ तोकिएको छ । वडा नम्बर १, २ १० का बल्खु खोला, दक्षिण कीर्तिपुर चक्रपथ लगायतका केही स्थानमा बाटो नपुगेको जग्गाको मूल्य १ लाख ६५ हजार कायम भएको छ ।
त्यसैगरी भक्तपुर जिल्लाका मालपोत कार्यालयहरूले जग्गाको मूल्यङकन गत आर्थिक वर्षको भन्दा फरक नगरेको जनाएका छन । कटुन्जे क्षेत्रमा अरनिको हाइवे आसपासका जग्गाको प्रतिआना मूल्य ४० लाख कायम गरिएको छ । यो मूल्याङ्कन गत अवकै बराबर हो । त्यसैगरी कौशलटार बालकोट क्षेत्रमा जग्गाको मुल्याङ्कन प्रतिआना २१ लाख ६५ हजार कायम गरिएको मालपोत कार्यालयले जनाएका छन् ।
यो मुल्याङ्कन पनि गत आवकै हो । त्यसैगरी उपत्यका बाहिरका जग्गाको मूल्याङ्कन खासै वृद्धि भएको छैन । भरतपुर महानगरपालिकाले गत आवकै मूल्याङकन कायम गरिएको जनाएको छ ।
प्रतिक्रिया 4