+
+

बिल गेट्स : किन बनेनन् विश्वकै पहिलो ट्रिलिनेयर ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते १३:४३

माइक्रोसफ्ट कम्पनीमा सह सस्थापक बिल गेट्स प्रविधिको विश्वमा आफ्नो चीरस्थायी भूमिकाका कारण सबैमाझ सम्मानित मात्र छैनन् उनी अहिले पनि विश्वका सर्वाधिक धनी व्यक्ति मध्येका एक हुन् ।

यति हुँदाहुँदै पनि एउटा यस्तो सवाल अहिले खडा हुन्छ कि यदि उनले माइक्रोसफ्ट कम्पनीमा रहेको आफ्नो सबै शेयर जोगाएर राखेका भए उनीसँग अहिले कति सम्पत्ति हुन्थ्यो होला ?

बजारको उतारचढावका बीच आफ्नो सम्पत्तिलाई थामेर राख्नु वा आफ्नो स्वामित्वको शेयर खरिद बिक्री नगर्नुलाई वित्तिय भाषामा डायमण्ड ह्याण्डिङ भनिन्छ ।

यदि बिल गेट्सले माइक्रोसफ्ट कम्पनीमा रहेको आफ्नो सुरुवाती शेयर जोगाएर राखेका भए वास्तवमा उनी अहिले पनि विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा पहिलो स्थानमा रहने मात्र होइन ट्रिलिनेयर हुन्थे । र, उनको अगाडि अहिलेका सर्वाधिक धनी व्यक्ति एलन मस्क तथा जेफ बेजोसको सम्पत्ति फुच्चे सावित हुन्थ्यो ।

माइक्रोसफ्ट कम्पनीले सन् १९८६ मा आईपीओ जारी गरेको थियो । त्यो बेला संस्थापक बिल गेट्ससँग कम्पनीको ४९ प्रतिशत शेयर हिस्सा थियो । आईपीओ जारी भएपछि उनको शेयर हिस्सा करिब ४५ प्रतिशतमा झरेको थियो ।

अहिले माइक्रोसफ्ट कम्पनीको बजार मूल्य करिब २.८०५ ट्रिलियन डलर रहेको छ । यस हिसाबले यदि बिल गेट्ससँग कम्पनीको ४५ प्रतिशत शेयर कायम रहेको भए उनको सम्पत्ति आजको दिनमा १.२३ टि्रलियन डलर हुन्थ्यो, जुन एलन मस्क वा जेफ बेजोसको भन्दा निकै धेरै हो ।

ट्रिलियन डलरको साम्राज्य खडा गर्ने माइक्रोसफ्टको यात्रा प्रविधि उद्योगमा उसको नवप्रवर्तनशीलता तथा लचकताको प्रमाण हो । यो सफलताका लागि कम्पनीको सुरुवाती वर्षहरुमा बिल गेट्सको दूरदृष्टि र नेतृत्व महत्वपूर्ण रह्यो ।

सन् १९९९ मा आइपुग्दा माइक्रोसफ्ट कम्पनीको मूल्य ५ खर्ब डलर नाघिसकेको थियो । त्यतिबेला कम्पनीको कूल शेयरको २० प्रतिशत बिल गेट्सको स्वामित्वमा थियो । यदि बिल गेट्सले त्यतिमात्र शेयर समेत सुरक्षित राखेका भए अहिले उनको सम्पत्ति ५ खर्ब डलर हुने थियो। जबकि हाल उनको अनुमानित सम्पत्ति केवल एक खर्ब १६ अर्ब डलर छ ।

तर सम्पत्तिका बारेमा बिल गेट्सको धारणा नितान्त फरक छ । उनीसँग हाल माइक्रोसफ्ट कम्पनीको १.३८ प्रतिशत अर्थात् कूल १ करोड ३ लाख कित्ता मात्रै शेयर छ ।

कम्पनीले आईपीओ जारी गर्दाको समयको तुलनामा हाल उनको शेयर स्वामित्वमा आएको उल्लेख्य गिरावटले उनको लगानी सम्बन्धी दर्शनमा भएको रणनीतिक परिवर्तनलाई दर्शाउँछ ।

समयक्रमसँगै गेट्सले आफ्नो पोर्टफोलियोलाई विविधिकरण गरे र माइक्रोसफ्टमा केन्द्रितत धनलाई बाहिर निकाले ।

हाल बिल गेट्सको कूल सम्पत्ति एक खर्ब १६ अर्ब डलर मध्ये प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अधिकांश हिस्सा माइक्रोसफ्टकै छ भने उनको बर्कशायर हाथावे कम्पनीमा उनको शेयर हिस्सा २०.२८ प्रतिशत रहेको छ । उक्त कम्पनीको नेतृत्व अर्बपति वारेन बफेटले गरेका छन् ।

बिल गेट्सको सम्पत्ति सम्भावित ट्रिलियन डलरको तुलनामा अहिले निकै कम रहेको भए पनि यो विशाल नै रहेको छ ।

सन् १९९९ मा विश्वको सर्वाधिक धनी व्यक्ति रहेका बिल गेट्सको सम्पत्ति दोस्रो धनी व्यक्ति वारेन बफेटको भन्दा तेब्बर थियो ।

त्यो वर्ष नै बिल गेट्सको कूल सम्पत्ति एक खर्ब डलर नाघेकेा थियो । जुन कोशेढुंगा वारेन बफेटले निकै ढिलो मात्रै प्राप्त गरेका थिए र सन् १९९९ मा उनको कुल सम्पत्ति केवल ३६ अर्ब डलर मात्रै थियो ।

लगानीको विविधिकरण गर्ने तथा निरन्तर रुपमा माइक्रोसफ्ट कम्पनीमा रहेको शेयर घटाउने गेट्सको निर्णय वास्तवमा जोखिम न्यूनिकरण तथा नयाँ अवसरको खोजी गर्ने अर्बपतिहरुको फराकिलो ट्रेण्डकै निरन्तरता हो ।

यो रणनीतिका लागि उनले विश्वको पहिलो ट्रिलिनेयरको उपाधिको मूल्य चुकाउनु परेको भए पनि यो सम्पत्ति व्यवस्थापनको सबैभन्दा सन्तुलित अवधारणा हो ।

साथै यसले उनका परोपकारी कार्यहरुका लागि मार्ग प्रसस्त गर्नुका साथै केवल प्रविधि क्षेत्रको बादशाह मात्र नभई वैश्विक मानवतावादीको रुपमा उनको लिगेसीलाई बलियो बनाएको छ ।

गेट्सको प्रभाव केवल माइक्रोसफ्ट कम्पनी तथा उनको कूल सम्पत्ति सम्बन्धी अनुमानमा मात्र सिमित नभई विश्वव्यापी बनेको छ । प्रविधि क्षेत्रको दूरद्रष्टादेखि विविधिकृत लगानीकर्ता र परोपकारी व्यक्तित्वसम्मको उनको क्रमविकास उनको बहुआयामिक प्रभावशाली व्यक्तित्वको द्योतक हो ।

गेट्सले कवल प्रविधि उद्योगलाई दिशानिर्देश मात्र गरेका छैनन् आफ्नो परोपकारी कार्यबाट विश्वव्यापी स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण प्रगति हासिल गरेका छन् ।

उनको यो यात्राले एउटा कुनै व्यक्तिको प्रभाव कसरी केवल वित्तिय सफलताभन्दा धेरै माथि उठेर गहन तथा बहुआयामिक बन्दछ र विश्वका विभिन्न क्षेत्रमा दीर्घकालीन छाप छाड्न सक्दछ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?