+
+

समय र बस थपेर फेरि चालु भयो द्रुत बससेवा

तोकिएको समयमा सवारी साधन छुटाएर, अनि आकलन गरिएको समयभन्दा ढिलोगरी गन्तव्यमा पुर्‍याएर फितलो बन्न पुगेको सरकारी प्रयास फेरि आइतबारबाट केही हेरफेरसहित चालु भएको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० मंसिर १० गते २१:०२

१० मंसिर, काठमाडौं । सार्वजनिक सवारी क्षेत्रमा ठूलै परिवर्तन ल्याएजसरी सरकारले सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत बस सेवा थाल्नलाई संविधान दिवसको विशेष दिन छानेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई नै सवार गराएर जतिसुकै ठूलो तामझाम गरिए पनि त्यो जोशले एक महिना काट्न पाएन ।

पर्याप्त पूर्वतयारी नगरी तामझाम देखाइहाल्ने हतारो नै त्यसको कारण थियो । तोकिएको समयमा सवारी साधन छुटाएर, अनि आकलन गरिएको समयभन्दा ढिलोगरी गन्तव्यमा पुर्‍याएर फितलो देखिन पुगेको यो सरकारी प्रयास फेरि आइतबारबाट नयाँ ढंगमा सुरु भएको छ ।

त्यसका लागि बस सञ्चालन गर्ने समय, बसको संख्या थपेर सुरु गरेको द्रुत बसले प्रत्येक बस छुट्ने समय २ मिनेट घटाएको छ ।

द्रुत बस सुरु गर्दा विहान ९ बजेदेखि ११ बजेसम्म भनिएकोमा अब ८ : ३० बजे देखि ११ : ३० बजेसम्म चल्ने छ । यस्तै बेलुका ३ बजेदेखि ५ बजेसम्म भनिएकोमा साढे ३ देखि साढे ५ बजेसम्म सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

यसअघि २५ वटा बस चलाएर ५/५ मिनेटको फरकमा रत्नपार्क र सुर्य विनायकबाट छुट्ने गाडी अब ३/३ मिनेटमा छुट्ने छ । सवारी सहजताका लागि ११ वटा बस थपिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए ।

यस अगाडि पनि द्रुत बस कहिले बन्द नभएको दाबी गर्दै पनेरुले व्यवहारिक नहुँदा गलत मेसेज भएको बताए ।

‘द्रुत बस कहिले पनि बन्द भएको थिएन, दंशै तिहार लागेपछि यो रुटमा चल्ने सवारीहरु उपत्यका बाहिर गएकोले सेवा नदिएको जस्तो लागेको हो’, उनले यस अगाडिको समयलाई पहिले नै परीक्षणकाल राखिएको भन्दै अब व्यवस्थित ढंगले चलाउने दाबी गरे ।

चोकमा नरोकिने, ट्राफिक सक्रिय हुने

आइतबारदेखि माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा द्रुत बस नरोकिने गरी ट्राफिक व्यवस्थापन गरिएको विभागले जनाएको छ । ‘सर्वसाधारण यात्रूले सार्वजनिक यातायातको कस्तो हुन्छ भनेर अनुभव गर्ने गरी सवारी र ट्राफिक व्यवस्थापन गरेका छौं, पुरानै रुटमा चल्ने भएपनि अब निर्धारित ४५ मिनेटमै पुग्ने गरी काम गरेका छौं,’ विभागका प्रवक्ता पनेरुले भने ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र भट्टले आवश्यकता अनुसार ट्राफिकको संख्या लोकल युनिटहरुले बढाउने बताए । ‘द्रुत बस सुरु हुनेवित्तिकै त्यो लेनमा ट्राफिकको संख्या त बढेको छ ।

अहिले पनि विभिन्न युनिटहरुले आवश्यकताको आधारमा, कार्यालयमा समयमा थप जनशक्ति पठाइरहेको हुन्छ’, एसएसपी भट्टले अनलाइनखबरसँग भने । भट्टले कार्यालय समयमा अन्य सवारीहरुले लेन अनुशासन मानेको खण्डमा सार्वजनिक सवारी सहज हुने बताए ।

लेन अनुशासन मुख्य चुनौती

विभागका प्रवक्ता पनेरु अन्य सवारी चालकहरुले लेन अनुशासन नमान्दा समस्या भएको सुनाउँछन् । ‘हामीलाई हरेक कुरा बानी पर्नुपर्छ, त्यही भएर सुरुवाती समय परीक्षण कालको रुपमा राखेका थियौं, अब विस्तारै लेनमा कडाई गरेर द्रुत बस सेवालाई प्राथमिकता दिन ट्राफिक प्रहरी मार्फत काम पनि गर्दै छौं तर लेन अनुशासन भएन भने सम्भव छैन’, उनी भन्छन् ।

पनेरुले जनता आफैंले पनि सार्वजनिक यातायातको महत्व बुझ्नुपर्ने अवस्थामा खासै नटेरेको बताए ।

‘हाम्रा जनता पनि त्यस्तै छन्, सार्वजनिक सवारी राम्रो भए यातायात प्रणाली सुध्रन्थ्यो भनेर सोच्दैनन्, लेन मिच्न छोड्दा पनि धेरै हदसम्म सहज हुन्थ्यो’, उनले अटेर गरे कारबाही गर्ने बताए ‘हामीले जनचेतना होस्, जनता आफैंले बुझ्न भनेर अहिलेसम्म कारबाही गरेका छैनौं अब अन्तिम विकल्पमा ट्राफिक मार्फत कारबाही गर्नुपर्ने हुन्छ ।’

पनेरुले भनेजस्तै ट्राफिक प्रहरी पनि अन्य सवारीले लेन मिचेको कारण प्रभावकारी द्रुत बस सेवा सञ्चालनमा असर परेको बताउँछन्, तर कारबाही गर्ने कुरामा सहमत छैनन् । ‘हाम्रो बाटोको अवस्था हेर्नुपर्छ, पूर्वाधार हेर्नुपर्छ । एक त रोड नै सानो छ, कोटेश्वर–जडिबुटी जस्तो स्थानमा द्रुत बसकै लागि भनेर तोकिएको लेनमा अर्को गाडी हिड्नुपर्ने बाध्यता नै रहेको छ’, एसएसपी भट्टले भने ।

लेन अनुशासनको लागि पहिलेको भन्दा धेरै प्राथमिकता दिएर ट्राफिक प्रहरी खटाइने भएपनि चिट काटेर कारबाही गर्न सहज नहुने बताए । ‘हामीले कारबाही गर्न थाल्यौं भने झन धेरै जाम हुन्छ, सवारीको फ्लो अनुसार सडक नहुँदा कारबाही गर्न मिल्दैन’, भट्टले भने ।

सवारी लेनको अनुशासनको विषय डेटिकेटेड लेनको मात्रै नभई सबैतिर रहेको भन्दै आम प्रवृत्ति सुधार हुनुपर्ने उनी बताउँछन् । बस सञ्चालकहरु धेरै जिम्मेवार हुनुपर्ने भन्दै तोकिएको समय भन्दा धेरै समय सवारी नरोक्ने, अनावश्यक होडबाजी नगर्ने विषयमा चालकहरु गम्भीर हुनुपर्ने बताए ।

उनले द्रुत बस सवारी चालकहरुलाई पहिले सचेतना क्लाससमेत चलाइएको भएता पनि सोचेजति गम्भीर नभएको बताए ।

बस सञ्चालनको जिम्मा पाएको राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अन्य सवारीको लेन अनुशासन नै मुख्य चुनौती रहेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताउँछन् । ‘हामी ट्राफिक नियम, लेनको नियम सबै मान्छौं तर लेन क्लियर र पूर्वाधारमा सरकारले ध्यान दिनुपर्‍यो नि रङ पोतेर मात्रै द्रुत हुँदैन’, सिटौला भन्छन् ।

उनले सरकारले पूर्वाधार र ट्राफिक व्यवस्थापन चुस्त गरे सार्वजनिक सवारीमा यात्रूको आकर्षण बढ्ने बताए । ‘समय तोकेर गन्तव्यमा पुग्न थालेपछि त साना सवारी कम हुन्छ नि, साना सवारी कम हुने वित्तिकै सडकमा चाप कम हुन्छ, यसले अन्तमा त ट्राफिक व्यवस्थापन मै टेवा पुग्ने हो’, सिटौलाले भने । सरकारले द्रुत बसको लागि तोकिएको लेन र ट्राफिक व्यवस्थापनमा सहज भएर यातायात व्यवसायीले आवश्यकता अनुसार बस थप्ने, अन्य स्थानमा पनि सेवाको सुचारु गर्ने सिटौला बताउँछन् ।

पूर्वाधार विना चलाउँदा समस्या

ट्राफिक प्रहरीका पुर्व एसएसपी जगतमान श्रेष्ठले विभागले द्रुत बस सञ्चालन गर्दा पूर्वाधारको समस्या रहेको बताए ।

‘भक्तपुरतर्फ पूर्वाधारमा डेटिकेटेड लेनले काम गर्ला काठमाडौंमा गाह्रै छ, साँघुरो सडकमा छुट्टै लेन सहज कुरै होइन’, महानगरका ट्राफिक सल्लाहकार समेत रहेका श्रेष्ठले भने ।

उनले संसारमा उत्कृष्ट मानेको सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने मोडल भए पनि विकसित देशहरुमा पूर्वाधार निर्माण गरेको हुँदा राम्रो भएको बताए । ‘सार्वजनिक यातायात सुधार गर्न विकसित देशहरुमा यो राम्रो छ तर हाम्रो जस्तो देशमा लेन छुट्याउने कुरा चुनौतीपूर्ण नै हुन्छ । अरुले खसी खाएको देखेर बाख्रा काट्नु जस्तै हो’, श्रेष्ठले भने ।

उनले सार्वजनिक सवारी सुधार गर्नको लागि अहिले भइरहेको सार्वजनिक सवारीको बस स्टप, बसपार्क, रोक्ने समय, लेन अनुशासनलाई गतिलो बनाउन सकिने विकल्प दिए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?