+
+

वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या, दुई दिनदेखि अनलाइन श्रम स्वीकृति अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १४:३९

११ मंसिर, काठमाडौं । वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध भएको छ ।

विभागमा सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सर्भर मर्मत गर्नुपर्ने भएकाले अनलाइनबाट लिने श्रम स्वीकृति रोकिएको हो । विभागको सर्भरमा समस्या देखिएपछि अनलाइनबाट नयाँ लिने संस्थागत र व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्विकृति लिने जस्ता कार्यहरु आइतवारदेखि रोकिएको विभागले जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएको बताउँदै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

विभागका निर्देशक मदन दहालले विभागको डाटा सिंहदरवारमा रहेको एकिकृत डाटा सेन्टरमा (जीआईडीसी) मा फाइल सार्ने  काम भइरहेको बताए । उनले सोक्रममा विभागको सिस्टममा नयाँ कागजातहरु अपलोड गर्ने जस्ता कार्यहरु रोकिएको बताए ।

यद्यपि, बाँकी कामहरु भने जारी रहेको उनले बताए । ‘डाटा सेन्टरमा फाइल सार्ने काम भइरहेकाले विभागबाट हुने आंशिक सेवाहरु हाललाई रोकिएको छ’ उनले भने, ‘अहिले त्यसको मर्मतको काम भइरहेको छ ।’ उनले सम्भवतः आज बेलुकादेखि नै सेवा पुनः सूचारु हुने बताए ।

केही वर्षयता वैदेशिक रोजगार विभागले अनलाइन माध्यमबाट श्रम र पुनः श्रम स्वीकृतिको सेवा दिदै आएको छ । यो प्रणााली लागूभएसँगै श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीले मुक्ति पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?