
११ मंसिर, काठमाडौं । हायर पर्चेज कर्जा दिने कम्पनीले नामको पछाडि हायर पर्चेज कम्पनी अनिवार्य राख्नुपर्ने भएको छ । प्राइभेट लिमिटेड वा लिमिटेड कम्पनी जुनसुकै भएपनि हायर पर्चेज अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भएको हो ।
नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाा नियमन विभागले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० को चौथौ संशोधन २०८० जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
यस्तै हायर पर्चेज कम्पनीको कार्यकारी प्रमुख वा प्रबन्ध सञ्चालकको शैक्षिक योग्यता समेत तोकेको छ । अब हायर पर्चेज कम्पनीको कार्यकारी प्रमुख हुन स्नातक गरेको हुनुपर्ने छ । साथै यस्ता कम्पनीले समेत ऋणीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने छ । २५ लाख रुपैयाँसम्मको कर्जामा भने प्यान अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ ।
हायर पर्चेज कम्पनीलाई राष्ट्र बैंकले जथाभावी पेनाल ब्याज लिन रोक लगाएको छ । वार्षिक २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी मात्रै पेनाल ब्याज लिनसक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
यस्तै पेनाल ब्याजमा ब्याज लिन नपाउने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ । ‘कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको सावाँ रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पाइने छैन ।’
राष्ट्र बैंकले हायर कम्पनीमा पनि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भई नसकेको अवस्थामा सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुख हुन रोक लगाएको छ ।
यस्तै टाट पल्टेको, भ्रष्टाचार, बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको तथा कालोसूचीमा समावेश भएको र त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेको व्यक्तिलाई सञ्चालक र कार्यकारी प्रमुख हुन रोक लगाएको हो ।
आफ्नो पूर्व कारोबारमा राष्ट्र बैंकबाट निलम्बन गरिएको, राष्ट्र बैंकबाट भएको अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरिएको र त्यस्तो निलम्बनबाट फुकुवा भएको पाँच वर्ष नपुगेको तथा त्यस्तो शंकास्पद कारोबारको संलग्नताबाट सफाइ नपाएको व्यक्ति समेत हायर पर्चेज कम्पनीको सञ्चालक वा कार्यकारी प्रमुख हुन नपाउने भएका हुन् ।
प्रतिक्रिया 4