पि्रय साथी, आरामै छौ होला भन्ने विश्वास लिएको छु । तर, केही दिनयता तिमीले सामाजिक सञ्जालमा लेखेका स्टाटसहरूले तिमीलाई सञ्चो छैन कि भन्ने महसुस हुनुका साथै चिन्त्ाा पनि थपिएको छ । यो चिन्ता यस मानेमा कि म तिम्रो मिल्ने साथी न जो परें !
साथी, तिमी राजनीति मार्फत देश परिवर्तन गर्न चाहन्छौ । समाजको कायापलट गर्न चाहन्छौ । गाउँमा भत्केका मनहरूलाई जोड्न चाहन्छौ । यो कुरा तिमीले कुनै भेटमा भनेका थियौ । म तिम्रो त्यो बोलीको वास्तविकताको पर्खाइमा छु । तिमीलाई नियालिरहेको छु ।
तर, अहिले यो पत्र मार्फत म तिमीलाई केही कुरा लेख्दैछु । जुन कुरा तिम्रो राजनीतिक जीवनमा पटक-पटक ठोक्किन सक्लान् । सके कार्यान्वयन गर्नु, नसके महसुस गर्नु ।
साथी, जिन्दगी भने जस्तो छैन
शहरमा बसेर सामाजिक सञ्जालको राजनीतिले तिम्रो गाउँको रामे काकाले तिमीले भनेको कुरा थाहा पाउँदैनन् । किनकि त्यहाँ इन्टरनेट पहुँच छैन । इन्टरनेट मात्रै कहाँ हो र उहाँलाई फेसबुक चलाउन पनि आउँदैन । अझ भनौं उहाँसँग फेसबुक चल्ने हातमा मोबाइल पनि छैन । छ त केवल विदेशिएको छोराको एक बोली सुन्न एक हजार रुपैयाँमा किनेको साधा सेट मोबाइल । त्यो फोन कल गर्न पनि पल्लो घरको सानेको सहयोग लिनुपर्छ भन्ने विषय तिमीलाई राम्रोसँग थाहा छ ।
साथी, मन नदुखाऊ, एउटा कुरा भन्नै पर्ने भयो । कुनै कार्यक्रममा भेट भएर तिम्रो पार्टी सभापति र नेताहरूसँगका तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने बित्तिकै तिम्रो गाउँको विकास हुन्छ ? अनि तिमी त्यही फोटो देखाउँदै तिम्रा धेरै साथीसँग आफ्नो पावरको कुरा गर्छौ । त्यो फोटोको पावरले हप्तौं हप्ता चार्ज नपाएको तिम्रो गाउँको रामे काकाको साधा सेट मोबाइल चार्ज हुन्छ जहाँ अझै बिजुली पुगेको छैन ! कि साँझ गाई दुहुन जाँदा टुकी बालेर गोठमा जाने उजेली फुपूले बत्ती पाउँछिन् ?
साथी, हुनत तिमी राजनीतिमा लागेको मान्छे । तिमीलाई परिवार, समाज, देश र देशको परिस्थितिको विषयमा राम्रोसँग थाहा हुनुपर्ने हो । तर, तिमीले सामाजिक सञ्जालमा राखेका स्टाटसले तिमीलाई देशको इतिहास थाहा छैन । तिमीले संविधान अध्ययन गरेका छैनौ । तिमीलाई तिम्रो अधिकार र कर्तव्य थाहा छैन भन्ने विषय मैले आत्मबोध गरिरहेको छु । तिमीलाई यो पनि थाहा छैन कि तिम्रो पार्टीले आज के निर्णय गर्यो ?
तर, तिम्रो दैनिकी म यो पार्टीको हुँ भन्दै छाती फुलाउँदै व्यवसायीलाई चन्दा माग्नमै बितेको देख्छु । मलाई योे कुरा पनि थाहा छ कि तिमी त्यो चन्दाले पाँचतारे होटलमा गएर मज्जाले मस्ती गर्छौ । तिम्रो त्यो मस्तीले तिम्रो गाउँको रामे र साने काकाहरूले राजधानीसम्म पुग्ने सडकमा यात्रा गर्न पाउलान् ?
साथी, तिमी गाउँमा जन्मेर शहरमा पढ्यौ । अहिले तिमीलाई गाउँभन्दा शहर प्यारो छ । कतै सुनेको तिमीलाई आजभोलि गाउँले हुँ भन्न पनि लाज लाग्छ रे ! तिम्रो बुबाले हातका नङ्ग्रा खियाएर तिमीलाई शहर पढाएको त्यही आफ्नो परिचय लुकाउनको लागि हो ? तिम्री आमाले गोरुको गोबर सोहोरेर तिमीलाई उच्च शिक्षा पढाएको त्यही गाउँको भाषा बोल्न आउँदैन भन्नैका लागि हो ? गाउँका हेडसरले सिस्नुपानी लगाउँदै पढ भनेको त्यही तिम्रो गाउँ, समाज र तिम्रो धरातल भुल्नका लागि हो ?
साथी, तिमी त शहरमा पढेको । मैले सोचेको थिएँ, केटो स्मार्ट होला । राजनीति पनि गर्ने भएकोले ठूलो आमसभालाई बोलीबाटै भए पनि प्रभावित पार्न सक्ला । तर, मेरो कल्पना र तिम्रो यथार्थताले मेल खान सकेन । एउटा सानो जमघटमा पनि कामेर बोल्ने, हड्बडाउने र लजाए जस्तो व्यवहार गर्ने बानीले तिम्रो राजनीति कहाँ पुग्ला ?
मलाई अझै पनि सम्झना छ, २०७४ सालको चुनावमा तिमी गाउँ गयौ । दुई महिना अगाडि मात्रै गाउँ गए पनि तिम्रो पार्टीले चुनाव जित्यो । त्यो बीचमा तिमी फेरि शहरमै हरायौ । तिम्रो पार्टीलाई जिताएकोमा गाउँलेले पश्चात्ताप महसुुस गरे । २०७९ को चुनावमा पनि सोही व्यवहार देखायौ । चुनावको तयारी दुई महिनाले नै हुने रहेछ ठानेर फेरि चुनाव आउनु दुई महिनाअघि नै गाउँ गयौ । तर, सधैं तिमीले सोचे जस्तै कहाँ हुने रहेछ र ! चुनाव हार्यौ ।
अब त बुझ्यौ होला नि सबै कुरा आफैंले सोचे जस्तो नहुने रहेछ । एउटा गीत छ नि ‘सोचे जस्तो हुन्न जीवन !’ अब गाउँका जनता सचेत भइसकेका छन् । रामे र साने काकाहरू रेडियो सुनेर भए पनि सजग बनिसकेका छन् । तिम्रो पार्टीले चुनाव जितेर अघिल्लो पाँच वर्षमा के काम गर्यो ? अघिल्लो चुनावमा थुप्रै बनावटी नाराहरूलाई व्यवहारमा नउतार्दा २०७४ मा जितेको चुनाव २०७९ मा किन हार व्यहोर्नु पर्यो । तिम्रो पार्टीले बाचा गरेका कुरा धेरै थिए । गाउँमा बिजुली, पक्की सडक, घरघरमा खानेपानी । यी सबै कुरा फगत भए ।
एकछिन मनन् गर त ! तिम्रो गाउँका जनता कति सन्तुष्ट छन् ? गाउँलेले बिजुलीको सुविधा पाएका छन् ? तिमीले नै पढेको विद्यालयले राम्रो शिक्षक पाएको छ ? भएका शिक्षकहरूले तलब पाएका छन् ? गाउँलेले सडकको सुविधा पाए ? अहँ, केही पाएनन् । पाए त केवल अनियमितता, भ्रष्टाचार, सामाजिक विचलन र अभावै अभावको जिन्दगी ।
साथी, तिमीलाई पुनः पुरानो कुरा सम्झाउन मन लाग्यो । २०७४ को स्थानीय तहको चुनाव तिम्रो पार्टीको मान्छेले जितेपछि तिमीले फेसबुकमा लेख्यौ- ‘अब गाउँगाउँमा सिंहदरबार आयो, गाउँसम्म पक्की सडक पुग्यो, बेरोजगार युवाले रोजगारी पाए, जुन हाम्रो पार्टीको योगदान हो, आगामी चुनावमा पनि हाम्रो पार्टीलाई भोट दिएर अत्यधिक मतले जिताइदिनुहोला ।’
साथी, दुःखका साथ भन्नुपर्छ । त्यो भ्रम केका लागि ? तिमीले त्यस्तो स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्दै गर्दा तिम्रो गाउँमा भोकमरी थियो । गाउँमा पक्की सडक पुगेको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तिम्रा गाउँका युवा वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा जाँदैथिए । उनीहरूका आफन्तहरू विमानस्थलमा बिदाइका हातहरू हल्लाउँदै आँशु झारिरहेका थिए ।
तिम्रा गाउँका स-साना बालबालिकाको खुट्टामा चप्पल थिएन । पुसको कठ्याङ्रिदो जाडोमा लगाउने बाक्लो जाकेट पाएका थिएनन् ती बालबालिकाले ।
१५ वर्ष नपुग्दै विवाहबन्धनमा कति धेरै बाँधिए त्यो त सबैलाई अवगत नै छ, जुन समस्या अहिले पनि यथावत् नै छ । अशिक्षा, जनचेतनाको अभाव, बेरोजगारी, चोरी-डकैती, झै-झगडा, बहुविवाह, छाउपडी प्रथा, घरेलु हिंसा, कच्ची सडक, भोकमरीलगायत अभावहरू झेल्नु परेको तिम्रो गाउँलाई सिंहदरबार भन्ने साहस तिमीले कसरी गर्यौ ? तिम्री आमाले बारीमा जसोतसो उमारेको साग बेचौं भने पनि बजार पाएकी छैनन् । बजार पाइहाले पनि भने जस्तो मूल्य पाउँदिनन् । अनि तिमीले कसरी भन्न सक्यौ ? गाउँमा सिंहदरबार आयो भनेर ।
अँ, अर्को कुरा त लेख्नै बिर्सेछु, तिमी त गाउँको विकास गर्छु भनेर राजनीतिमा लागेको मान्छे । तर, विडम्बना ! पालिकाबाट विकासका लागि बनाइने योजनाहरूको कागजात मिलाएर तिम्रो पार्टीका कार्यकर्ता र कर्मचारीको मिलेमतोमा पैसा खाएको मैले प्रत्यक्ष देखेको छु । गाउँमा नातावाद र कृपावाद फस्टाएको छ । यसतर्फ सचेत बन्नु ।
साथी, हुनत तिमीलाई गाउँको धेरै कुुरा थाहा छ । तर, थाहा हुँदाहुँदै पनि तिमी कसैको परिबन्दमा पर्यौ वा तिम्रो अकर्मण्यता ! जे भए पनि अब तिमी राजनीतिको सपना बुनेको मान्छे । तिमी जस्तो युवाले गाउँको विकास गर्छु भन्ने सोच्नु नै राम्रो कुरा हो । नराम्रो त तिम्रो नामेट हो । तिमी अब ‘तिमी’ बन्न सिक । कसैको उक्साहट र परिबन्दको जालमा नपर । गाउँ बुझ, गाउँले बुझ । आफूलाई बुझ । आफ्नो विरासत र धरातल बुझ ।
राजनीति गर्न राजनीतिशास्त्र पढ । राजनीतिशास्त्र पढ्दै गर्दा देश तथा विदेशको राजनीति, भूगोल, इतिहासको अध्ययन गर । आर्थिक समृृद्धिको सपना देख । गाउँमा फर्केर बालबालिका, युवा अनि वृद्ध बा-आमाहरूसँग घुलमिल होऊ । वनपाखामा घाँस-दाउरा गर्दै विरहका गीत गाउने जमुना दिदीहरूका कथा सुन । वर्षभरि बारीमा तरकारी र अन्न उब्जाएर मल र बजार नपाएका तिम्रा बा-आमाहरूका पीडा सुन ।
हजारौं सपना बोकेर विदेशिएका तर लास बनेर फर्केका परिवारका मर्मस्पर्शी दुःखहरू सुन । वर्षौं वर्ष पढेर जागिर नपाएर मानसिक सन्तुलन गुमाएका साथीहरूका सपना सुन । साथी, शेक्सपियरले भनेका छन्- ‘काम जस्तो कुरा गर, कुरा जस्तो काम गर, झण्डामुनि बस तर दरबार नपस ।’
छबिस ६, पुजारी गाउँ, बझाङ
प्रतिक्रिया 4