+
+

एनएसएलमा विदेशी गोलकिपरको वर्चस्व

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ८:११

१२ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ चलिरहेको छ । ९ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । यसपटक तीन नयाँ टिम थपिएको छ भने एक टिम बाहिरिएको छ ।

यसपटक टिम थपिएपछि खेलाडीको संख्या पनि स्वभाविकरुपमा थपिएको छ । साथै खेलको प्रतिस्पर्धा रोमाञ्चकता पनि थपिएको छ । अर्को महत्वपूर्ण कुरा यसपटक हरेक टोलीले पाँच जना विदेशी खेलाडी खेलाउन पार्नेछन् । जसले गर्दा खेल अझ प्रतिस्पर्धात्मक बनेको छ र टिमहरुले पनि विदेशी खेलाडीलाई महत्व दिएका छन् ।

अहिलेसम्म हरेक टिमले एक/एक खेल खेलिसकेका छन् । कम्तीमा एक/एक खेल खेलिसकेको अवस्थामा विदेशी खेलाडीहरुको प्रदर्शन राम्रो देखिएको छ र नतिजामा पनि हाबी देखिएको छ ।

सहभागी टोलीले बढीमा ६ खेलाडी टिममा राख्न पाउनेछन् र एकै पटक पाँच विदेशी मैदान उतार्न पाउने प्रावधान छ ।

त्यस्तै यसपटक टिमहरुले गोलकिपिरमा पनि विदेशीलाई नै प्राथमिकता दिएका छन् ।

९ मध्ये पाँच टोलीले पहिलो रोजाईँमा विदेशी खेलाडी नै खेलाए । जसमा अफ्रिकादेखि युरोपको फ्रान्स र सर्बियासम्मको गोलकिपर थिए ।

पहिलो सिजनको उत्कृष्ट गोलकिपर तथा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ यस पटक आईएसएल खेलिरहेकोले एनएसएल खेल्न आएनन् । उनी पहिलो सिजन साविक उपविजेता धनगढी एफसीका आइकोनिक प्लेअर तथा कप्तान थिए ।

यसपटक पहिलो चरणको खेल सकिँदा चार नेपाली गोलकिपरले मात्र पहिलो रोजाईँमा खेले । त्यसमा हाल राष्ट्रिय टिममा रहेका दोस्रो रोजाईँका गोलकिपर दिप कार्की र तेस्रो रोजाईँका गोलकिपर अभिषेक बरालसँगै राष्ट्रिय टिमबाट खेलिसकेका विकेश कुथु र विशाल श्रेष्ठ छन् ।

अभिषेक बाहेक बाँकी तीन किपर मार्की तथा कप्तान नै हुन् । विकेश स्पोर्टिङ इलाम एफसी, विशाल एफसी चितवन र दीप वीरगंज युनाइटेडका मार्की हुन् । तीनै जनाले आफ्नो टिमको नेतृत्वसमेत गरेका छन् ।

विकेशकै कप्तानीमा काठमाडौं रेजर्सले २०७८ मा भएको पहिलो सिजनको उपाधि जितेको थियो ।

यी चार टिम बाहेक अन्य पाँच टिमले यसपटक विदेशी गोलकिपर खेलाए । जसमा ललितपुर सिटी एफसीले फ्रान्सका अनुभवी जेफ्री बाल्टुस, पोखरा थण्डर्सले नेपाली लिग खेलिसकेका प्रिसो, धनगढीले पनि नेपालमा लिग खेलेका मोहम्मद ताहालाई खेलायो । यस्तै नयाँ टोली झापा एफसीले सर्बियाको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका स्टेफन क्युपिकलाई पहिलो रोजाईँमा खेलायो ।

बुटवल लुम्बिनीले सुरुमा आइभरीकोष्टमा उमेर समूहको टिमबाट खेलिसकेको कोउसी क्रिस्टियन गोलकिपर अनुबन्ध गरेको थियो । तर उनी घाइते ऐएपछि उनको स्थानमा मोहमोदोउलाई टिममा राख्दै पहिलो रोजाईँमै खेलायो ।

राष्ट्रिय टिममा परिसकेका टिकेन्द्र थापा (धनगढी), विशाल सुनार (ललितपुर), अनिश देउला (झापा) भने एसएसलको पहिलो खेलमै बेन्चमै रहे ।

यसपटक विदेशी खेलाडीको संख्या बढ्दा अधिकांश टिमले विदेशी गोलकिपरलाई नै प्राथमिकता देखाए ।

नेपाली किपर बेन्चमा हुनु दु:खद्

सोमबार झापालाई हराएपछि पोष्ट म्याच प्रेस कन्फेरेन्समा उपस्थित भएका इलामका कप्तान तथा गोलकिपर विकेश कुथुले नेपाली गोलकिपर बेन्चमा देख्दा दु:ख लागेको बताए । झापाले अनिस देउलालाई बेन्चमा राखेको थियो ।

‘वार्म अफमा अनिशलाई देखेको थिएँ तर नेशनल टिममा परिसकेको किपर पछि बेन्चमा देख्दा दु:ख लाग्यो,’ विकेशले भने, ‘सबै टिममा विदेशी गोलकिपर हुँदा भित्रैबाट अलि चित्त दुख्यो ।’

विकेश आफैं पनि गोलकिपर भएकोले उनले एनएसएलमा पनि धेरै नेपाली गोलकिपर नै खेलेको देख्न चाहेका थिए । तर, पहिलो चरणमा विदेशि किपरकै वर्चस्व रह्यो ।

नेपालमा गोलकिपर प्रशिक्षक उच्च स्तरको नभएको हो भन्ने प्रश्नमा विकेश यही नै कारण त भनेनन् तर नेपालमा गोलकिपरलाई कम अवसर मिलेको उनको बुझाइ थियो ।

‘गोलकिपिङ कोचिङमा खासै समस्या होइन । ग्रासरुटबाट नै गोलकिपरमा ध्यान दिन जरुरी छ । त्यसो भयो भने राम्रो हुन्छ जस्तो लाग्छ । हामी पनि गोलकिपर कोचबाट प्रशिक्षण लिएर आएका हौँ,’ उनले भने ।

विकेशले आफ्नो खेलाडी जीवन सकिएपछि गोलकिपङ प्रशिक्षणमा लाग्ने योजना रहेको पनि सुनाए । उनले भने, ‘मेरो प्लेअइङ करियर सकिएपछि सायद म यता फुटबलक किपरकै प्रशिक्षणमा ध्यान दिन्छु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?