+
+

कुमार नगरकोटीले मनाए लेखनयात्राको रजत उत्सव, पाटनमा ‘जोगियाना’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १४:१३

काठमाडौं । लेखनमा सधैं नयाँ प्रयोगहरु गरिराख्ने लेखक कुमार नगरकोटीको संस्मरण किताब ‘जोगियाना’ लोकार्पण भएको छ । आफ्नो लेखन यात्राको २५ वर्षलाई ‘जोगियाना–उत्सव’को रूपमा मनाउँदै नगरकोटीको यो किताब सार्वजनिक भएको हो ।

पाटन दरबारको आँगनमा आयोजित नगरकोटी–उत्सवमा नगरकोटीले आफ्ना आधा दर्जन कविता र गीत सुनाए । संस्मरण लेखनको यात्रामा नगरकोटीलाई लेख्न प्रेरित गरी पत्रपत्रिकामार्फत पाठकमाझ पुर्‍याउन सहयोग गरेका मित्रत्रय यज्ञश, दीपक सापकोटा र बसन्त बस्नेतले ‘जोगियाना’को लोकार्पण गरे । दीपक सापकोटा र यज्ञशले किताबका अंश वाचन गरी सुनाए भने बसन्त बस्नेतले नगरकोटीको लेखनीबारे बोले ।

‘मैले नगरकोटीलाई कवितामार्फत चिनेको हुँ तर आजको दिनसम्म उनका लेखनका बहुविधा छन् र अब्बल छन्,’ बस्नेतले भने, ‘नगरकोटीजस्ता फरक लेख्ने लेखक देशकै परिचायक हुन् । पाटन नगरकोटीको सहर भनेर चिनिनुपर्छ, जसरी संसारभर लेखकको नामबाट पनि सहरहरू चिनिन्छन् ।’

कार्यक्रममा नगरकोटीले आफ्नो किताबको साजसज्जा र डिजाइन गर्ने डिजाइनरद्वय सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेको प्रशंसा गर्दै पुस्तक उपहार दिएर सम्मान गरेका थिए । नगरकोटीका १९ वटा संस्मरणहरूको यस पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।

नाटक, सिनेमा, गीतसमेत लेखेका नगरकोटीका रचना २५ वर्षअघि नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्ने समकालीन साहित्य, कविता जस्ता विशेषांकहरुमा छापिन थालेका थिए । अध्यापन छाडेर १३ वर्षअघि फुलटाइम लेखक भएका उनी आफ्नो रचनामा विभिन्न भाषा, संस्कृति र देश–देशावरका पात्रहरुका अनुभूति समेतलाई एकै समयरेखामा मिसाउँछन् । उनका मोक्षान्त काठमाडौं फिभर, मिस्टिका, फोसिल, अक्षरगन्ज, दोचा लगायत किताब पाठकहरुबीच प्रसिद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?