+
+

बाइकप्रेमीहरू जमघट गर्ने एउटा काइदाको क्याफे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १७:०१

काठमाडौं । ‘बाइकर्स क्याफे’ । नक्सालस्थित नारायणचौरको सम्मुखमा पुगेपछि तपाईंले यही नामको क्याफे फेला पार्नुहुनेछ, जो चलनचल्तीको भन्दा भिन्न छ ।

प्रवेशद्वारमा देखिन्छ, कतै यात्रामा निस्कन लागेको झैं लाग्ने पुरानो मोडलको हार्ले डेभिडसन । पहिलो र दोस्रो विश्वयुद्ध झेलेको यो बाइक आफैंमा एउटा इतिहास मात्र होइन, प्रतिष्ठाको अर्को नाम पनि हो ।

तर, टु ह्विलर्सको दुनियाँमा सबैलाई लोभ्याउने होर्ले डेभिडसनको कथा होइन यो । यहाँ हार्ले डेभिडसनको प्रसंग किन मात्र जोडिएको हो भने बाइकका सौखिनलाई यसले एकै झट्कामा आकर्षित गर्छ । र, बाइकर्स क्याफेको मूलढोकामा पुर्‍याउँछ ।

बाइकर्स क्याफे, नाम नै काफी छ ।

शहरमा भर्खरै खुलेको यो यस्तो क्याफे हो, जहाँ तपाईंले नितान्त फरक अनुभूत गर्नुहुनेछ । हिमालयन जाभाले सर्भ गर्ने तात्तातो कफी र परिकारसँगै मोटरसाइकलको संसारमा मनमग्न हुनुहुनेछ ।

खासमा मोटरसाइकल मान्छेको आवश्यकता हो कि सोख ? उत्तर हो, दुवै । छिटो–छरितो यात्राका लागि उपयोगी साधन हो मोटरसाइकल । साथसाथै धेरैका लागि यो सौख र सपना पनि ।

यस्तै सौख र सपनाले शहरमा थुप्रै बाइकर्स क्लब जन्माएको छ । उनीहरु आफ्नो रोज्जा बाइक संग्रह गर्न, स्टन्ट गर्न, बेपर्वाह हुइँकिन वा कतै यात्रामा निस्कन रुचाउँछन् । बाइकका बारेमा चर्चा–परिचर्चा गर्छन् । यात्राका नयाँ नौलो गन्तव्य पहिल्याउँछन् । एकअर्काको यात्रा अनुभव आदनप्रदान गर्छन् । आफ्ना रोज्जा मोटरसाइकल लिएर लामो यात्रामा निस्कनेहरु हुन् वा रेसिङ ट्र्याकमा बेपत्तासँग फन्को लगाउनेहरु नै, मोटरसाइकलसँग उनीहरुको खास लगाव र प्रेम हुन्छ । यस्तै सौखिनहरुका लागि काइदाको थलो हुनसक्छ, बाइकर्स क्याफे ।

‘बाइक लभर्स’लाई लक्षित गरेर सञ्चालनमा ल्याइएको क्याफे हो यो । बाइकका सौखिनहरुले यहाँ हार्दिकतासाथ भेटघाट र भलाकुसारी गर्न सक्छन् । उनीहरुलाई लोभ्याउने र बसौं–बसौं लाग्ने थुप्रै कुरा छन् क्याफेमा ।

बाहिरबाट झट्ट हेर्दा बाइक शोरुम र क्याफेको अनौठो संयोजन देखिन्छ । यसभित्रको साजसज्जा अनौठो अनि रोचक छ । क्याफेमा बाइकलाई आकर्षक ढंगले सजाइएको छ र त्यससँग जोडिएका सरसामग्री संग्रहित गरिएको छ । क्याफेको एकातिर ‘कवाच’ ब्रान्डको राइडिङ गियर्स देख्न सकिन्छ । यो नेपाली ब्रान्ड हो जसलाई महिलाहरुले उत्पादन गरेका हुन् । सुरक्षित यात्राका लागि प्रयोग गरिने यी ज्याकेट, पाइन्टको मूल्य पाँच हजारबाट सुरु हुन्छ ।

क्याफेको एकातिर नेपालका खाँटी बाइक लभर्सको फोटोहरु सजाइएको छ, जहाँ सौरभ ज्योतिदेखि महिला राइडर्स ग्रुप ‘दुई पाङ्ग्रे क्विन्स’सम्म समेटिएका छन् ।

अर्कोतिर साहसिक यात्रा गर्दै नेपालका विभिन्न गन्तव्यमा निस्केका बाइक राइडरहरुको फोटो संग्रह छ । बाइकका सौखिनहरुलाई आफ्नोपन महसुस गराउन हेलमेटदेखि बाइककै इन्जिनमा सजाइएको टेबलसम्मले यो क्याफेलाई पृथक् बनाएको छ । मोटरसाइकलको पार्टपुर्जालाई यसको साजसज्जामा अरु प्रयोग गर्ने योजना छ ।

भनिहालौं, यो गोल्छा ग्रुपले संचालनमा ल्याएको क्याफे हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले फरक अवधारणामा यो क्याफे सुरु गरेका हुन् । उनी भन्छन्, ‘बाइक क्रेता र बिक्रेतालाई अभिन्न रुपले जोड्नका लागि यसको अवधारणा ल्याएको हो । साथसाथै बाइकका सौखिनहरुले आपसमा भेटघाट गर्न, अनुभव आदानप्रदान गर्न पनि यो एउटा सहज जक्सन हुनसक्छ ।’

यस क्याफेबाट बाइक किनबेच पनि हुनेछ । खासगरी २०० सीसीभन्दा बढी क्षमताका बाइकहरु यहाँ छन् । पल्सरको एन एवं एनएस सिरिज र केटिएमका सबैजसो बाइक राखिएका छन् ।

बाइक खरिद गर्न चाहनेहरु हुन् वा बाइकका सेरोफेरोमा रमाउनेहरु नै, बाइकर्स क्याफे सजिलो गन्तव्य हुनसक्छ ।

फोटो–भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?