+
+

मुख्यमन्त्री नेतृत्वको समितिले कसरी कायम गर्छ फेवातालको मापदण्ड ?

अमृत सुवेदी अमृत सुवेदी
२०८० मंसिर १३ गते २०:०९

१३ मंसिर, पोखरा । फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्नू भनेर सर्वोच्च अदालतले आदेश दिएको पाँच महिनापछि मुख्यमन्त्रीको नेतृत्वमा समिति बनेको छ । प्रदेशस्तरीय सुरक्षा समितिको बैठकले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा मापदण्ड कार्यान्वयन सहजीकरण समिति बनेको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको बैठकले बनाएको समिति नै मापदण्ड कार्यान्वयन गर्ने उच्चस्तरीय संयन्त्र भएको  मुख्यमन्त्री बताउँछन् ।

तत्कालीन मेयर मानबहादुर जिसीले कार्यकाल सकिनै लाग्दा १६ चैत २०७८ मा फेवातालको मापदण्ड ३० मिटरमा झार्ने निर्णय गरेपछि अधिवक्ता खगेन्द्र सुवेदी लगायत फेरि सर्वोच्च अदालत पुगेका थिए । त्यही मुद्दामा सर्वोच्चले ४ असारमा फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्नू भनेर गरेको आदेश दिएको थियो, जसको पूर्णपाठ ९ असोजमा आयो ।

त्यस रिटउपर सर्वोच्चले ६५ मिटरसम्मको क्षेत्रमा रहेका घर, भवन, व्यापार, होटल, रेस्टुराँ, रिसोर्ट तथा अन्य सबैखाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना ६ महिनाभित्र अनिवार्य हटाउन र ६५ मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्ण रूपमा हरियाली क्षेत्र घोषित गर्न आदेश दियो । साथै २०३१ सालपछि दर्ता भएका फेवातालको जग्गाको मुआब्जा दिनु नपर्ने बतायो ।

फैसला कार्यान्वयनको जिम्मेवारी तीनै तहको सरकारको भए पनि सर्वोच्चले फेवातालको मापदण्ड ६५ मिटर कायम गराउने र संरक्षण गर्ने अधिकार भने पोखरा महानगरलाई दिइएको थियो ।

फेवातालको मापदण्डबारे सर्वोच्चको आदेश कार्यान्वयनबारे मेयर आचार्यले पटक–पटक मुख्यमन्त्रीसँग छलफल गरेका थिए । मंगलबार मुख्यमन्त्रीको नेतृत्वमा बसेको समितिमा भने प्रदेशका प्रमुख सचिव, प्रमुख न्यायाधिवक्ता, मेयर, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रतिनिधि छन् ।

पोखराका मेयर आचार्यले लामो तयारीपछि संयन्त्र बनेको र यसले एउटा टुंगोमा पु¥याउने विश्वास व्यक्त गरे । ‘फेवातालको मापदण्ड कायम गर्न योभन्दा आधिकारिक र बलियो अर्को संयन्त्र हुनै सक्दैन’ मेयर आचार्यले भने, ‘सर्वोच्चले दिएको आदेश र समयभित्रै फेवातालको मापदण्ड कायम हुन्छ ।’

सर्वोच्चको फैसलामा २०३२÷३३ सालतिरको नापीभन्दा पहिलेदेखिको साविक दर्ता, स्रेस्ता, तिरो र निरन्तर भोगमा रहेकाको हकमा फेवातालको वर्षायामको उच्चतम पानीको विन्दुको किनाराबाट ६५ मिटरको मध्यवर्ती हरियाली क्षेत्र कायम गर्नका लागि आवश्यक पर्ने २०१८ देखि २०३१ सालसम्म कायम रहेको ताल र तालको डिलभन्दा बाहिरको जग्गाको हकमा मात्र कानुन बमोजिक मुआब्जा दिनुपर्ने देखिंदा सो पहिचान गरी उचित मुआब्जा दिने व्यवस्था मिलाउन भनिएको छ ।

मापदण्ड कायम गर्न बनेको सहजीकरण समितिका संयोजक मुख्यमन्त्री पाण्डेले यहींबाट कामको सुरुवात गर्ने बताउँछन् ।

मुख्यमन्त्री पाण्डेले एक/दुई दिनभित्रै समितिको बैठक राख्ने र विभिन्न उपसमिति बनाएर काम गर्ने बताए । समितिले चार किल्ला कायम गर्दै फेवातालको उच्चतम विन्दु कायम गर्ने काम सुरुमा गर्ने भन्दै उनले भने, ‘यो प्रदेशको उच्चस्तरीय समिति हो । फेवाताल जोगाउन सबैको सहयोगको जरुरत पर्ने भयो ।’

सर्वोच्चले २०३२÷३३ सालतिरको नापीभन्दा पहिलेदेखिको साविक दर्ता, स्रेस्ता, तिरो र निरन्तर भोगमा रहेकाको हकमा फेवातालको वर्षायामको उच्चतम पानीको विन्दुको किनाराबाट ६५ मिटरको मध्यवर्ती हरियाली क्षेत्र कायम गर्न भनेकाले पहिले त्यो छुट्याइने मुख्यमन्त्री पाण्डेले बताए ।

‘वर्षायामको उच्च बहावलाई कुर्ने हो भने बर्खासम्मै कुनुपर्ने हुन्छ । तर त्यो समय अदालतले दिएको छैन । बहावको उच्चतम विन्दु प्राविधिक हिसाब र मूल्यांकनबाट छुट्याउँछौं’ मुख्यमन्त्री पाण्डेले भने, ‘तालको उच्चतम विन्दु पहिल्याएपछि ६५ मिटर तोकेर किला गाड्छौं ।’

२०७७ कात्तिक २० गते गठित पुण्यप्रसाद पौडेल समितिले सरकारलाई २०७७ फागुन २ गते चार किल्ला तोकेर सिमांकन प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन फागुन १८ गतेको राजपत्रमा प्रकाशित भएको थियो । प्रतिवेदनमा पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन कायम गर्ने गरी चार किल्ला तोकिएको छ ।

चार किल्ला छुट्याएर ६५ मिटर कायम गर्ने र त्यसपछि दूषित जग्गा खारेजीको प्रक्रियामा जाने मुख्यमन्त्री पाण्डेले योजना सुनाए । ‘६५ मिटरभित्र कति वैधानिक र कति अवैधानिक छ भनेर छुट्याउँछौं । अवैधानिक र दूषित जग्गा तथा संरचना खारेज गर्ने र हटाउने प्रक्रियामा जान्छौं’ उनले भने, ‘मुआब्जा दिनुपर्ने जग्गाको हकमा केन्द्रीय सरकारलाई अनुरोध गर्ने काम गर्नेछौं ।’

वर्षौंदेखि विवाद र किचलो बन्दै आएको फेवातालको मापदण्ड सम्बन्धी विषयलाई सर्वोच्चको फैसलाको जगमा सधैंका लागि समाधान गर्ने योजना समितिको छ ।

यसअघि पुण्य पौडेल संयोजकत्वको समितिले ५.७२६ वर्ग किमी (११२५५ रोपनी) फेवातालको क्षेत्रफल कायम गरेको प्रतिवेदनमा १ हजार ४७९ रोपनी फेवातालबाट अतिक्रमण भएको उल्लेख छ । ८८१ कित्ता जग्गाहरू तालभित्र पर्ने प्रतिवेदनले देखाएको छ । जसमध्ये जम्मा ५१८ वटा कित्ताहरूको ९१६ रोपनी ८ आना क्षेत्रफल जग्गा व्यक्तिको नाममा फिल्डबुकमा नै दर्ता भएको देखिएको छ ।

मालपोतबाट छुट दर्ता सुविधा लिएर ४७७ रोपनी १२ आना थप जग्गा पनि व्यक्तिको नाममा गएको प्रतिवेदनमा छ । अदालतको फैसलाका आधारमा पनि फेवातालको ८३ रोपनी जग्गा व्यक्तिको नाममा गएको छ । फेवातालभित्र पर्ने १३३ रोपनी जग्गा व्यक्तिले भोगचलन गरिरहेको र उनीहरूको नाममा दर्ताको प्रक्रियामा रहेको पाइएको छ । यसैगरी तत्कालीन राजाको हुकुम प्रमांगीबाट १ रोपनीभन्दा धेरै जग्गा व्यक्तिको नाममा गएको र त्यो बेला अदालतको फैसलाबाट ७५ वटा कित्ताको ८३ रोपनी क्षेत्रफल दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

यसरी हेर्दा फेवातालको कुल १६१० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको हो । यस्तै सरकारको नाममा रहेको ९०७ रोपनी जग्गा पनि फेवातालको नाममा कायम गर्नुपर्ने समितिले बताएको छ । यसमध्ये ५०३ रोपनी जग्गा हर्पन खोलाको नाममा मात्र कायम गरिएको प्रतिवेदनमा छ ।

फेवातालको मापदण्ड मिच्ने, संरचना निर्माण गर्नेदेखिका काम भएको भन्दै विश्वप्रकाश लामिछाने प्रतिवेदनको आधारमा २०६८ असार २३ गते खगेन्द्र सुवेदी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसकै आधारमा सर्वाेच्च अदालतले २०७५ वैशाख १६ गते फेवाताल सम्बन्धी तीन वटै सरकारलाई निर्देशनात्मक फैसला गरेको थियो । लामिछाने नेतृत्वको तत्कालीन समितिको प्रतिवेदनलाई समेत आधार मानेर सर्वोच्चले ६५ मिटरभित्र बनेका अवैधानिक संरचना भत्काएर संरक्षण गर्न भनेको थियो । फेवातालको मापदण्ड कायम गर्दा पहिलो चरणमै कम्तीमा ११ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सबै काम गर्न झण्डै ४० अर्ब मुआब्जा लाग्ने अनुमान छ ।

फेवातालबारे अहिलेसम्म एक दर्जनभन्दा बढी अध्ययन भएका छन्, र हरेकले फेवातालको क्षेत्रफल फरक–फरक देखाएको छ ।

अहिलेसम्म भएका अध्ययन र प्रतिवेदनमा उल्लेख क्षेत्रफल

क्र.स.

नापनक्सा गर्ने निकाय साल क्षेत्रफल (व.कि.मी.)
१.

ब्रिटिश सर्भे अफ इन्डिया

सन् १८२५/२६

३.४६

२.

सर्भे अफ इन्डिया

सन् १९५७/५८

४.३९

३.

नेपाल-भारत सहयोग मिसन

वि.सं. २०१८

१०.३५

४.

पहिलो कित्तानापी (कित्ता नं २९७)

वि.सं. २०३२

४.४३

५.

नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी

वि.सं. २०३८

५.८०

६.

आईयूसीएनको रिपोर्ट

वि.सं. २०५२

४.४९

७.

जिल्ला विकास समिति कास्की

वि.सं. २०५८

४.२५

८.

पोखरा उपत्यका नगर विकास समिति

वि.सं. २०६४

५.०६

९.

विश्वप्रकाश लामिछाने प्रतिवेदन

वि.सं. २०६९

६.५

१०.

भूमिसुधार मन्त्रालय

वि.सं. २०७२

५.०७

११.

पोखरा महानगरपालिका

वि.सं. २०७७

५.०८

१२. फेवातालको चारकिल्ला निर्धारण सिमांकन तथा नक्सांकन समिति वि.सं. २०७७

५.७२६

 

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?