+
+

विश्व अर्थतन्त्रमा मोबाइल प्रविधिको योगदान ५ प्रतिशत

सहदेव चौधरी सहदेव चौधरी
२०८० मंसिर १४ गते ७:३३

१४ मंसिर, काठमाडौं। मोबाइल प्रविधिले विश्वको अर्थतन्त्रमा ५ प्रतिशत योगदान दिइरहेको एक अध्ययनले देखाएको छ । मोबाइल इकोनोमी रिपोर्ट २०२३ अनुसार मोबाइल प्रविधिले विश्वको अर्थतन्त्रमा ५.२ ट्रिलियन डलर योगदान गरेको छ । यो विश्वको कुल जीडीपीको ५ प्रतिशत हो ।

यो प्रविधिले एसिया क्षेत्रको जीडीपीमा पनि करिब ५ प्रतिशत नै योगदान गरेको प्रतिवेदनमा उल्लेख छ । यो दशकको अन्तिमसम्ममा यसले एसियाको जीडीपीमा १ ट्रिलियन डलरको योगदान गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

विश्वमा फाइभजी प्रविधिको विस्तार तीव्र रुपमा भएको र यसले सन् २०२२ मा विश्‍वभर २ करोड ८० लाख रोजगारी सृजना गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

फाइभजी हाल विश्वभर १७ प्रतिशत ओगटेको छ भने सन् २०३० सम्‍म यसको कनेक्सन बढेर ५४ प्रतिशत हुने प्रक्षेपण रिपोर्टमा गरिएको छ ।

नेपालको अर्थतन्त्रलाई उकास्न पनि फाइभजीले महत्वपूर्ण भूमिका खेल्न सक्‍ने सूचना प्रविधिमा क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । बुधबार कम्‍प्युटर एशोशिएशन अफ नेपाल (क्यान महासंघ) र युएसएडको आयोजित एक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

नेपालको अर्थतन्त्र र कृषि क्षेत्रलाई उकास्न फाइभजीले सशक्त रुपमा काम गर्ने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, अस्ट्रेलियाका प्राध्यापक डा. राजन कँडेल बताउँछन् । ‘नेपालमा फाइभजी प्रविधिमा लागू भएमा वित्तीय क्षेत्र र कर्पोरेटहरूले प्राइभेट नेटवर्क राख्छ पाउँछन्। रियल टाइममा उच्च गतिको इन्टरनेट उपलब्ध हुँदा भर्चुअल रुपमा शाखाहरूमार्फत थोरै कर्मचारी राखेर देशभर धेरै काम लिन सक्छन् । साथै कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती गर्न सघाउनेछ र उत्पादन वृद्धिमा पनि मद्दत पुग्‍नेछ,’ उनले भने ।

विश्वभरका १७३ देशहरूमा ५७८ अपरेटरहरूले फाइभजी प्रविधिमा लगानी गरिसकेको उनले बताए ।

नेपाल दूरसञ्‍चार प्राधिकरणका उप-निर्देशक डा. प्रदीप पौडेलले इन्टरनेटको स्पीड बढाउन, डिजिटल डिभाइड कम गर्न र आर्थिक रुपान्तरण गर्न फाइभजी महत्वपूर्ण हुने बताए । ‘विकासका पूर्वाधारहरू (शिक्षा, स्वास्थ्य, सञ्‍चार, विद्युत र खानेपानी)को डिजिटलाइजेशनमा नेपाल धेरै पछि परिरहेको अवस्थामा फाइजी प्रविधिले सहजता ल्याइदिनेछ,’ उनले भने ।

नेपाल टेलिकमकी निर्देशक रीना डंगोलले भने नेपालमा हाल चार ठाउँबाट फाइभजी नेटवर्कको परीक्षण भइरहेको जानकारी दिइन् । ‘टेलिकमले फाइभजी प्रविधिलाई बबरमहल, सुन्धारा, पोखरा र वीरगञ्जमा परीक्षण गरिरहेको छ,’ उनले भनिन् ।

आमसर्वसाधारणको हातहातमा मोबाइल र इन्टरनेटको पहुँच पुगिसकेकाले फाइभजी प्रविधिलाई कसैले रोकेर नरोकिने खल्ती एपका सीईओ अमित अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘अहिले जमाना ओटीटी प्लेटफर्ममा गइसकेको छ। साधारण मानिसहरू पनि फिल्म या म्युजिक हेर्न डेटा प्याक कुरेर बस्दैनन् । यो आवश्‍यक फाइभजीले पूरा गर्छ ।’

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?