+
+

‘चिसोले आमालाई लग्यो अनि राहत दिन सरकार आयो’

आमा जीवित छउन्जेल बस्तीमा नदेखिएको स्थानीय सरकार उहाँको मृत्युपछि राहत लिएर घरमै आयो । दुई वटा कम्बल, एक/एक थान फाइबर सिरक र त्रिपाल, अनि काजकिरियामा खुवाउने चामल दिएर गयो । राहत पाउन मान्छे मर्नुपर्ने रहेछ ।

नेत्र विक, बारेकोट गाउँपालिका–१, जाजरकोट नेत्र विक, बारेकोट गाउँपालिका–१, जाजरकोट
२०८० मंसिर १५ गते १५:५७

म बारेकोट गाउँपालिका–१, रामीडाँडाको स्थानीय हुँ । कात्तिक १७ गते भूकम्प आउँदा म कामविशेषले बाँकेको नेपालगञ्ज गएको थिएँ । घरमा आमा, श्रीमती र चार जना छोराछोरी थिए ।

भूकम्पले मेरो तीनतले घरको एउटा कुनाको भाग भत्किएको छ । आमा, श्रीमती र बालबच्चाले भागेर ज्यान जोगाएछन् । भूकम्पको केन्द्रविन्दु भए पनि हाम्रो ठाउँमा कोही पनि मान्छे मरेका थिएनन् । तर बस्नलाई कसैको एउटा घर पनि सद्धे (ठिकठाक) छैनन् । सबैजसो भत्किएका छन् । चिरा परेका छन् । गाउँका हामी सबै बारीको पाटोमा त्रिपाल हालेर बसेका छौं ।

हामीले चार/पाँच रात खुल्ला आकाशमुनि बितायौं । भूकम्प गएको पाँचौं दिनमा एउटा संस्थाले १० बाई १५ फिटको एउटा त्रिपाल दियो । भुइँमा खरको ओछ्यान र त्रिपालको ओत लागेर सात जनाको परिवारले जसोतसो रात कटाउँदै आएका थियौं ।

मेरी ७३ वर्षीया आमा (गोरी कामी) दमको बिरामी हुनुहुन्थ्यो । एक वर्ष यता औषधि खाइरहनुभएको थियो । धेरै समयदेखि औषधि खाइरहेकोले दम पनि करिब–करिब ठिक हुनै लागेको छ भनेर डाक्टरले भन्नुभएको थियो । तर त्रिपालमुनिको बास, रातभरि चिसो सिरेटोले हान्छ । घरभित्र बस्दा त जाडोले अति नै सताउँथ्यो, झन् त्रिपालमा त सुत्नै नसकिने हुने रहेछ ।

दिनभरि कामले थाकेको शरीर बेलुका पल्टिने बितिकै निदाइहालिन्छ । जब बिहान दुई/तीन बज्छ अनि पालको प्वालबाट आउने चिसो सिरेटोले मुटु नै कमाउन थाल्छ । ढपक्क त्रिपाल ढाकेको शीत तपतप ओछ्यानमै चुहिन्छ । अनि निद्राले छोड्छ । त्यसपछिको समय आगो तापेर काट्दै आएका छौं ।

हिउँदमा हाम्रो ठाउँमा हिउँ पर्छ । दिनप्रतिदिन बढ्दो चिसोका कारण आमालाई गाह्रो हुन थालेको थियो । हामीसँग पुग्दो ओढ्ने ओछ्याउने कपडा थिएनन् । भएका एकसरो कपडाले आमाको बिरामी शरीरको चिसो छल्न सक्ने कुरै थिएन । दुःखले दिन–रात कटाउँदै थियौं ।

विस्तारै आमालाई धेरै खोकी लाग्ने र सास बढ्न थालेपछि तल लिम्सामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लिएर गएँ । यहाँबाट एकघण्टा हिंडेपछि स्वास्थ्य केन्द्रमा पुगिन्छ । भूकम्पले भवन भत्काएपछि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र त्यहीं अगाडिको खुल्ला चौरमा त्रिपाल हालेर उपचार गरिरहेको थियो । आमालाई त्यहीं भर्ना गर्यौं ।

धेरै चिसो भएर आमाको मुटु सुन्निएको छ भनेर एक जना स्वास्थ्यकर्मीले भने । स्वास्थ्य केन्द्रको मुख्य डाक्टर सदरमुकाम खलंगा हो कि सुर्खेत कता तालिममा जानुभएको रहेछ । आमालाई तीन दिन राख्यौं । चिसोले च्यापेर समस्यामा परेकी आमालाई अस्पतालको त्रिपालमुनि राख्दा झनै चिसो घुस्यो ।

उपचार गर्न ल्याएको आमा झन् बिरामी हुन थाल्नुभयो । अस्पतालमा तातो कपडा हुने कुरै भएन । त्यहाँका एक जना स्वास्थ्यकर्मीले ‘तल (सदरमुकाम खलंगा, सुर्खेत या नेपालगञ्ज) लैजाऊ आमा बाँच्न सक्नुहुन्छ । यहाँ राखेर काम छैन, झन् बिरामीले च्याप्दै जान्छ’ भन्नुभयो ।

तर हामीसँग तत्काल तल अलि ठूलो अस्पताल लगेर उपचार गराउनका लागि पैसा थिएन । घरमा ल्याएर पैसाको जोहो गर्दै थिएँ । चिसो बढ्दै गयो, बिमारले पनि च्याप्दै गएछ । अस्पतालबाट घर ल्याएको चौथो दिनमा आमा बित्नुभयो ।

नेत्र विककी आमा

अलिअलि त्यही दम थियो । नत्र त आमा हट्टाकट्टा नै हुनुहुन्थ्यो । घरपरिवार आमाकै अर्डरमा चल्थ्यो । घाँस काट्ने, गाईबाख्रा चराउने । केटाकेटीको रेखदेख गर्ने जस्ता सबै कामकाज आम नै गर्नुहुन्थ्यो ।

भूकम्पमा भागेर बाँच्नुभएकी मेरी आमा चिसोबाट बाँच्न सक्नुभएन । गरिबी र अभावले पनि मार्यो भनौं न ! उपचारका लागि ठूलो अस्पताल लैजानुपर्ला भनेर तीन/चार दिन गाउँघर पूरै चहारें । तर कसैले पनि ऋण, सापटी पत्याएनन् ।

भूकम्पले मान्छे नमरेको, घर मात्रै भत्किएकोले सरकारले पनि हामीलाई हेरेन । त्यसमाथि हामी दलित समुदायका मान्छे, कसले पो हेथ्र्यो र ! सिर्पाचौर लगायत ठाउँहरूमा त अलिअलि कम्बल, सिरक पनि बाँडिरहेका छन् भन्थे । तर हाम्रो बस्तीमा न सरकार पुग्यो न संघ–संस्थाहरू नै पुगे ।

सरकारले समयमै तातोे कपडा र राम्रो त्रिपाल मात्रै दिएको भए आज मेरी आमा चिसोकै कारण मर्नुहुने थिएन । आमा जीवित छउन्जेल एकपटक पनि बस्तीमा नदेखिएको स्थानीय सरकार उहाँको मृत्युपछि भने राहत लिएर घरमै आयो । दुई वटा कम्बल, एक/एक थान फाइबर सिरक र त्रिपाल, आमाको काजकिरियामा खुवाउन भन्दै चामल दिएर गयो.। सरकारी राहत पाउन परिवारको कुनै मान्छे मर्नुपर्ने रहेछ !

बारेकोटमा चिसोकै कारण अहिलेसम्म चार/पाँच जनाको मृत्यु भइसकेको सुन्छु । यो ठाउँमा अब हिउँ पर्छ । पानी परेपछि चिसो झन् बढ्छ । यस्तै हो भने चिसोकै कारण अझै कति जना मर्ने हुन् यसै भन्न सकिन्न । बिन्ती छ, सरकार ! सकिन्छ भने छिटोभन्दा छिटो बस्ने घरटहरा बनाइदेऊ । हैन भने मान्छे मरेपछि राहत बोकेर नआऊ !

(जाजरकोटको बारेकोट गाउँपालिका, रामीडाँडाका विकसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?