+
+

विनोद पौडेलको ‘भूठान’को पोस्टर सार्वजनिक, हरिवंशसँगै दयाहाङ पनि शीर्ष भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते ११:४४

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले आगामी फिल्मको नाम र टिजर पोस्टर सार्वजनिक गरेका छन् । अनलाइनखबरले गत साता नै यो फिल्मको शीर्ष भूमिकामा हरिवंश आचार्य हुने उल्लेख गरेको थियो ।

नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नामकरण गरिएको फिल्ममा दयाहाङ राई र जोयश पाण्डे पनि जोडिएका छन् । अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र कौशिला खनाल पनि कलाकारको रुपमा अनुबन्धित छन् ।

यो फिल्मको स्क्रिप्ट दक्षिण कोरियाको फिल्म फेस्टिभल बुसानमा पिचिङ गरिएको थियो । निर्माताद्वारा प्रेषित विज्ञप्तिमा भुटान, भारत, नेपाल हुँदै अमेरिका लगायतका मुलुकमा बसोबास गरिरहेका भुटानीको संघर्ष र यात्राको कथावस्तुमा फिल्म बन्न लागेको जनाइएको छ ।

‘समग्रमा मानवीय कोणबाट आप्रवासीलाई हेर्ने दृष्टिकोणको कथा हो यो,’ निर्देशक पौडेलले भने, ‘नाति, हजुरबा, छोराको कथावस्तुमार्फत हामीले पुस्तान्तरको कथा भन्न खोजेका छौं । मध्यमवर्गमा रहेको आधुनिक र सांस्कृतिक विश्वको द्वन्द्व यसले पेश गर्छ ।’

यसअघि यो फिल्ममा भारतीय अभिनेताहरु नसिरुद्दिन शाह, आदिल हुसेन, अनुपम खेर, प्रसिद्ध साउण्ड डिजाइनर विश्वदीप चटर्जी, संगीतकार एआर रहमानका साथै चीन, अमेरिका र बेलायतबाट समेत कलाकारहरु जोडिने पक्का भएको थियो । तर अब उनीहरु विविध कारणले फिल्ममा आवद्ध नहुने भएका छन् ।

उनीहरुसँग कानुनी रुपमै सम्झौता भएर पारिश्रमिक समेत दिइएको जनाइएको छ । अभिनेता खेरले ‘द फिल्म इज लाइक अ क्लासिकल हलिउड’ भनेका थिए ।

निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापा छन् । फिल्मको छायाकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुने जनाइएको छ । सन् २०२४ को अन्त्यसम्म सुटिङ सकेर सन् २०२५ मा प्रदर्शन गर्ने निर्माताको तयारी छ ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ ।

यस चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्नेछ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् । फिल्मलाई अन्तर्राष्ट्रिय ओटीटी प्लाटफर्ममा स्ट्रिमिङ गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?