+
+

जयशंकर नेपाल आउँदा १० हजार मेगावाट विद्युत खरिद सम्झौतामा हस्ताक्षर हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १९:३२
Photo Credit : Reuters

१८ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा विद्युत खरिदसहित महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

अहिलेसम्म मिति तय भइनसकेको नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउँदा पञ्चेश्वर परियोजना र १० हजार मेगावाट विद्युत खरिद/बिक्री सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

सोमबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण करिब तय भएको र उनी आउँदा महत्वपूर्ण सम्झौतामा हस्ताक्षरका लागि तयारी भइरहेको जानकारी दिएका हुन् ।

गत १७ देखि २० जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको थियो । यस्तै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमति समेत भ्रमणका क्रममा भएको थियो ।

प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका थिए ।

‘१० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं’, प्रधानमन्त्री मोदीले भनेका थिए । तर त्यसको ६ महिना बित्दा पनि कुनै प्रगति हुन सकेको छैन ।

यस्तै २०५२ सालमा भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजनाको डीपीआर ६ महिनाभित्र बनाएर तत्काल निर्माण थाल्ने उल्लेख भएपनि अहिलेसम्म हुन सकेको छैन । हरेकपटक हुने द्विपक्षीय भ्रमणका क्रममा यसको काम अघि बढ्ने चर्चा चले पनि चर्चामै सीमित छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण हुने बताए पनि कुन मितिमा उनी नेपाल आउँदै छन् भन्ने खुलाएनन् ।

अनिश्चित जयशंकरको भ्रमण

नेपाल–भारत सम्बन्धका सबै पक्षमा विस्तृत छलफल हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त संयन्त्र ३२ वर्षदेखि कायम छ । तर अहिलेसम्म संयन्त्रका ६ वटा बैठक मात्रै बसेका छन् ।

संयन्त्रको छैटौं बैठक २ माघ २०७७ सालमा भारतको राजधानी नयाँ दिल्लीमा बसेको थियो । त्यसअघि पाँचौं बैठक ४ भदौ २०७६ मा काठमाडौंमा भएको थियो ।

यी दुईवटै बैठकको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी डा. एस जयशंकरले गरेका थिए । त्यस्तै, चौथो बैठक १८ असोज ०७३ मा दिल्लीमा, तेस्रो बैठक १९ असार ०७१ मा काठमाडौंमा, दोस्रो बैठक १६ मंसिर ०४८ मा र संयुक्त संयन्त्रको पहिलो बैठक १८ जेठ ०४४ दिल्लीमा बसेको थियो ।

संयन्त्रको सातौं बैठक काठमाडौंमा बस्ने छ । तर अहिलेसम्म भारतीय विदेशमन्त्रीको समय नमिलेका कारण बैठकको मिति तय हुन सकेको छैन । यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएको केही समयपछि परराष्ट्रमन्त्री एनपी साउद जिम्मेवारीमा आएको केही समयपछि नै बैठकको तयारी भइरहेको जनाएका थिए ।

तर त्यसपछि लगत्तै भारतले शक्तिशाली बीसवटा राष्ट्रहरूको सम्मेलन जी–२० को आयोजनामा व्यस्त हुनु परेका कारण संयन्त्रको बैठकको तयारी हुन सकेको थिएन । त्यतिबेला मन्त्री साउदले अक्टोबर वा नोभेम्बरसम्म संयन्त्रको बैठक बस्ने सम्भावना रहेको बताएका थिए । तर अहिलेसम्म पनि जयशंकरको नेपाल भ्रमण र संयन्त्रको बैठकको टुंगो लाग्न सकेको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतका पाँच राज्यको चुनाव सकिएको र आगामी लोकसभा चुनाव आउनु अगावै संयन्त्रको बैठक बस्ने गरी तयारी चलिरहेको छ । तर चुनावलाई नै कारण देखाएर जयशंकर नेपाल आउने सम्भावना कम छ ।

भारतका विभिन्न पाँचवटा राज्यको चुनाव सम्पन्न भएर सोमबार नतिजा सार्वजनिक भइसकेको अवस्था छ । यसलगत्तै आगामी मेमा लोकसभा निर्वाचनको मिति भएकाले बीचको समयमा बैठकमा सहभागी हुन जयशंकर नेपाल आउनेमा आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?