+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
११४ बलमा १४० रन आवश्यक
लुम्बिनी लायन्स 2025
5/0 (0.6)
Shares

नेपालमा भारी बोक्ने काम पनि छैन होला र ?

जनक विष्ट जनक विष्ट
२०८० मंसिर २१ गते ८:३७
भारतको झुलाघाटमा भारी बोक्ने काम गर्दै आएका गोविन्द साउद (वायाँ) र तिलक बोहरा ।

२१ मंसिर, धनगढी । बिहीबार बिहान करीब ९ः३० बजे भारतको झुलाघाटमा भेटिए बैतडीको पुर्चौडी नगरपालिका–६ का गोविन्द साउद (५०) । नाम्लो र बोरा बोकेर हिँडेका उनी कतै भारी बोक्ने काम पाइन्छ कि भनेर खोज्दै थिए ।

साउदले भारतको झुलाघाटमा ज्यालादारी गर्न थालेको २५ वर्ष बितिसकेको छ । बिहान सबेरै कामको खोजीमा निस्किने साउदको दिनचर्या साहुका बोझा (भारी) बोक्ने, गाडीबाट सामान झार्ने, ढुंगा बोक्ने जस्ता काम गरेर सुरु हुन्छ ।

दिनभर यस्तै काममा व्यस्त हुने साउँद अबेर साँझ मात्र डेरामा पुग्छन् । उनीहरु जस्तै भारी बोक्नेहरु एउटै कोठा लिएर बसेका छन् । जो चाँडै डेरामा फर्कियो उसैले खानेकुरा पकाउँछ र सबै जम्मा भएपछि खान्छन् ।

दिनभरको थकानले रातमा मीठो निन्द्रा लागे पनि भोलिपल्ट काम पाइने हो कि होइन भने पीरले उनीहरुलाई सताउँछ । साउदका अनुसार नेपालका विभिन्न जिल्लाका ५० भन्दा बढी मानिस झुलाघाटमा भारी बोक्दै आएका छन् ।

नेपालमा काम नपाएका कारण २५ वर्षदेखि भारतमा भारी बोक्नुपरेको साउद बताउँछन् । उनलाई सधैंका लागि आफ्नै गाउँ फर्किन मन छ । ‘यही काम आफ्नै देशमा पाइए उतै फर्किने थिएँ तर पाइदैन के गर्ने ?’ साउद निराशा व्यक्त गर्छन् ।

सोर्सफोर्स नभएसम्म नेपालमा कुनै काम पाइँदैन भन्ने साउदलाई परेको छ । ‘नेपालमा भारी बोक्ने काम पनि छैन होला र ?’ आफ्नो जिज्ञासाको जवाफ आफैं दिन्छन्, ‘सोर्सफोर्सविना केही पनि हुन्न के गर्ने ?’ उनी झुलाघाटमा ज्यालादारी गरेर बैतडीमा रहेका तीन जना छोराछोरी र श्रीमतीको जीविकाको जोहो गर्छन् ।

उनको चाहना छ कि कम्तीमा छोराछोरीले सामान्य कामका लागि विदेश जान नपरोस् । साउदले भने, ‘छोराछोरीलाई अर्काको देशमा पसिना बगाएर हुर्काए पनि उनीहरुलाई आफ्नै देशमा रोजगारी पाइयोस् ।’

****

बैतडीकै पुर्चौडी नगरपालिका, कुवाकोटका तिलक बोहरा ६९ वर्षका भए । यो उमेरसम्म बोहराको थाप्लोबाट नाम्लो र बोरा छुटेको छैन । झुलाघाट बजारमा भेटिएका बोहरा आफ्नो र परिवारका सदस्यको जीविकाका लागि काम गरिरहेको बताउँछन् ।

तिलक बोहरा

‘तपाईंहरु जस्तै नेपाली भेट भयो भने अचम्म पर्छन् । यो उमेरमा किन अर्काको देशमा बोरा बोकेको होला भनेर सोध्छन्’, बोहराले अनलाइनखबरसँग भने, ‘उहाँहरुलाई भन्ने गर्छु, नसिब (भाग्य) मा जे लेख्यो त्यो भोग्नैपर्ने रहेछ ।’

बोहराले झुलाघाटमा बोरा बोक्दाबोक्दै त्यहाँका कयौं मानिस करोडपति भइसके । उनले बच्चैमा देखेकाहरु जवान भएर उनकै साहु बनिसके तर उनको पिँठ्यूको बोरा अझै हटेको छैन । दिनभरि कामले थाकेको शरीर लिएर कोठामा पुग्दा सोच्छन्, ‘अहो ! समय कति चाँडै बित्दो रहेछ ?’

भारतको झुलाघाट बजार

उनी भारतीय व्यापारीको मात्र नभई नेपालतर्फका व्यापारीको पनि सामान बोक्छन् । अहिलेसम्म भारी बोकिरहेका उनलाई भारी बोक्न नसकेको दिन के होला भन्ने चिन्ता लाग्छ । ‘त्यस्तो अवस्था आए छोराछोरीले हेरचाह गर्छन् होला नि,’ आफैं चित्त पनि बुझाउँछन् ।

जीवन नै भारतमा भारी बोक्नमै बिताएका बोहरा अबको पुस्ताले पनि नेपालमा रोजगारी पाउनेमा आशावादी छैनन् ।

प्रताप साउद

झुलाघाटमै भारी बोक्ने बैतडीकै पुर्चौडीका प्रताप साउद (४०) भारतमा साहुको नाम्लो छाडेपछि कहाँ जाने भनेर प्रश्न गर्छन् । ‘हाम्रो काम देखेर धेरै दाजुभाइले भारी बोक्ने काम नगर, अरु पनि काम पाइन्छ भन्छन्’, उनले भने, ‘यही नाम्लोले दुई छाकको जोहो भइरहेको छ । यो छाडेपछि हामी कहाँ जाने ?’

देशमा धेरै प्रधानमन्त्री फेरिए पनि आफू जस्ता निम्न वर्गकाहरु चुलो बाल्न भारतमै निर्भर हुनुपर्ने अवस्था अन्त्य नभएको प्रतापको दुखेसो छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका अधिकांश निम्न वर्गीय परिवारहरु भारतमा ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका छन् । स्वदेशमा काम नपाएकै कारण भारतमै ज्यालादारी गरेर जीवन निर्वाह गर्नुपरेको उनीहरुको भनाइ छ ।

सबै तस्वीर- जनक विष्ट

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?