+
+

‘डिग्री माइला’को दोस्रो चरणको छायांकन रुम्जाटारमा सुरु, सेटमा यस्तो देखिए दयाहाङ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १३:४९

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले बिहीवारदेखि ओखलढुंगाको रुम्जाटारमा आगामी फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन थालेका छन् । चिसो मौसममा खिच्नुपर्ने भएकाले निर्माताले एक महिना जति छायांकन रोकेका थिए ।

गीत छायांकनसँगै ‘डिग्री माइला’ले पुनः गति लिएको हो । दयाहाङ राई र आँचल शर्माले बिहीवारदेखि नै सेट ज्वाइन गरेका छन् । सेटबाट अनलाइनखबरलाई ताजा तस्वीर प्राप्त भएका छन् जहाँ दयाहाङ बालबालिकासँग रमाइलो गरिरहेको देख्न सकिन्छ ।

आउने सातादेखि कथा छायांकन गर्ने सेड्युल छ । मंसिर अन्त्यसम्म स्वास्थ्य लाभ गरिरहेका अभिनेता प्रकाश घिमिरे पनि सेटमा फर्कने तयारीमा छन् । यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा किन छ भने दयाहाङकै चर्चित नाटकमाथि फिल्म आधारित छ । यो नाटकलाई मण्डलामा तीन पटक मञ्चन गरिएको थियो ।

वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन् । जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । यो कमेडी फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गर्नेछन् ।

बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भइरहेको हो । यो ब्यानरबाट रिलिज हुन लागेको नयाँ फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति शुक्रबार घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?