+
+

के साँच्चै म्यानचेस्टर सिटी संकटमा हो त ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १४:३६

२१ मंसिर, काठमाडौं । म्यानचेष्टर सिटीलाई के भइरहेको छ ? गत सिजन ट्रेबल उपाधि जितेको सिटी प्रिमियर लिगको यस सिजनमा भने पछिल्लो चार खेलमा जितविहिन छ, लिग लिडर आर्सनल भन्दा ६ अंकले पछि छ ।

बुधबार राति एस्टन भिल्लासँग १-० ले पराजित भएपछि सिटीका म्यानेजर पेप ग्वार्डिओलाले नै स्वीकारे कि आफ्नो टोलीले संघर्ष गरिरहेको छ । यस्तै आर्सनलका पूर्वडिफेण्डर मार्टिन कोवनले पनि च्याम्पियन टिम सिटी ‘मिनी क्राइसिस (सानो संकट)’ मा रहेको बताए । उनले बीबीसी म्याच अफ दि डे सँग भने, ‘उनीहरु कमजोर देखिएका छन् ।’

लेओन बेलीले ७४औं मिनेटमा गरेको गोलले एस्टन भिल्लालाई जित दिलायो । यसको अर्थ सिटी चौथो स्थानमा झरेको छ । आर्सनल, लिभरपुल अनि एस्टन भिल्ला भन्दा सिटी तल छ । अहिले सिटीसामु विभिन्न चुनौती आइपरेका छन् । त्यसो भए लगातार तीन लिग उपाधि जितेको सिटीको च्याम्पियन शैली विस्तारै खस्किएको हो त?

२००९ पछिकै खराब डिफेन्स

पुराना तथ्यांक हेर्ने हो भने म्यानचेष्टर सिटीको अहिलेको स्थिति ज्यादै खराब हो । लगातार चौथो पटक प्रिमियर लिग उपाधि जित्ने सिटीको लक्ष्य सोचे अनुसार देखिएको छैन ।

यी तथ्याङ्कले पनि त्यसलाई पुष्टि गर्छ । सिटी सन् २०१७ अप्रिलदेखि पहिलो पटक लगातार चार खेलमा जितिविहीन छ । पछिल्ला चार खेलमध्ये सिटीले चेल्सी, लिभरपुः र टोटनहमसँग बराबरी खेल्दा एस्टन भिल्लासँग हार बेहोर्‍यो ।

सिटीले सन् २००९-१० को सिजनपछि पहिलो पटक सुरुको १५ लिग खेलमा १७ गोल ब्यहोरेको छ । त्यतिबेला सिटी पाँचौ भएको थियो ।

बुधबार राति एस्टन भिल्लाविरुद्ध सिटीले जम्मा दुई सट हानेको थियो । जुन युरोपको शीर्ष पाँच लिगमा ग्वार्डिओलाको टिमले प्रयास गरेको कम सट हो । एस्टन भिल्लाविरुद्ध भने सिटीले २२ सट फेस गरेको थियो । जुन ग्वार्डिओलाको टिमले यस समयमा फेस गरेको धेरैमध्येको एक हो ।

यस सिजन रोड्रीले नखेलेका चारमध्ये सिटी सबै खेलमा पराजित भएको छ । अर्को एउटा तथ्य के छ भने २०१८-१९ को सिजनमा ग्वार्डिओलाको अन्डरमा सिटी पहिलो १९ खेलपछि १० अंकले पछि थियो र अन्त्यमा ९८ अंकसहित उपाधि जित्न सफल भएको थियो ।

त्यसैले सिटीलाई तत्कालै उपाधि होडबाट बाहिर निकाल्न भने मिल्दैन ।

ग्वार्डिओला खोज्दैछन् समाधान

एस्टन भिल्लासँग निराशाजनक हारपछि ग्वार्डिओलाले पनि स्वीकारे कि राम्रो टिमले खेल जित्यो । र उनले यो पनि भनेका छन् सिटीको समस्यालाई उल्टाउनका लागि समाधान खोज्नुपर्नेछ ।

‘हामीले विशेषगरी पहिलो हाफमा संघर्ष गर्‍यौँ र दोस्रो हाफ पूरा फरक थियो’, सिटी म्यानेजरले अमेजन प्राइमसँग भने, ‘फाइनल थर्डमा हामीले क्वालिटी पास र मुभमेन्ट खेलभरि नै भेट्टाउन सकेनौँ ।’

ग्वार्डिओलाले आफ्नो टिमको स्तरबारे जानकार रहेको र खेल जित्नका लागि समाधान खोज्नुपर्ने बताए । ‘हाम्रो स्तर के भनेर हामीलाई थाहा छ र म्यानेजरको रुपमा खेल जित्न हामीले बाटो पत्ता लगाउनुपर्छ । हामी अलि संघर्ष गरिरहेका छौँ । म टिमलाई सहयोग गर्न यहाँ छु’, उनले भने ।

अर्को तथ्य के भने सिटीले यस सिजन हार ब्यहोरेको चार वटै खेलमा प्रभावशाली मिडफिल्डर रोड्री पहिलो रोजाईँमा थिएनन् । एक खेलको प्रतिबन्धका कारण स्पानिस मिडफिल्डरले भिल्ला विरुद्धको पछिल्लो खेल गुमाएका थिए ।

रोड्री टिममा हुँदा सिटी आफ्नो ४३ खेलमा अपराजित छ र ग्वार्डिओलाले रोड्री बिना पनि खेल जित्नको लागि बाटो खोज्नुपर्ने बताएका छन् ।

सिटीको हारपछि कसले के भने ?

सिटीका पूर्वडिफेण्डर गेल क्लेची भन्छन्, ‘सिटीले खराबमध्येको एक खेल खेल्यो । त्यहाँ कुनै तरलता थिएन । उनीहरु भाग्यमानी भए कि दुई वा तीन वा चार गोल भएन ।’

चेल्सीका पूर्वविंगर प्याट नेभिनले सिटीले गएराति सबै क्षेत्रमा कमजोर देखिएको र त्यो टिमविरुद्ध जित्न सकिने देखिएको बताए । वेल्सका पूर्व कप्तान एस्ले विलियम्सले ग्वार्डिओला भन्दा भिल्लाका प्रशिक्षक उनाई एमेरी राम्रो देखिएको बताए । उनले सबै क्षेत्रमा सिटी भन्दा भिल्ला राम्रो देखिएको बताए ।

यस्तै भिल्लाका पूर्व मिडफिल्डर एन्डी टाउनसेन्डले आफ्नो विचारमा ग्वार्डिओलाले यति कमजोर आफ्नो टिम यसअघि नदेखेको बताए । उनले सिटीमाथि भिल्ला हाबी भएको बताए ।

यस्तै भिल्लाकै पूर्वम्यानेजर मार्टिन ओ’नेइलले सिटीले साँच्चै निराश बनाएको र यो टिम ग्वार्डिओलाको टिम जस्तो पनि नखेलेको अनुभव भएको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?