+
+

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते ६:४४
जिल्ला प्रशासन कार्यालय चितवन । फाइल फोटो

२२ मंसिर, चितवन । चितवनमा मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो ।

कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा एक करोड ५० लाख रूपैयाँ र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए ।

उनका अनुसार पहिलो तीन महिनामा पीडितले एक करोड २० लाख रूपैयाँ रकम फिर्ता गर्ने र पीडकले ६ कठ्ठा १३ दशमलव पाँच धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ ।

दोस्रो चरणमा पीडकले सहमति भएको ६ महिनाभित्र बाँकी रहेको ३० लाख रूपैयाँ र कानुनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी एक कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।

दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्ने छ । यसअघि कार्यालयले पूर्वी चितवनका एकजना पीडितको दुई कठ्ठा जग्गा छलफलमार्फत फिर्ता गराइएको थियो ।

कार्यालयमा २०८० साल वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० वटा र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए । जसमध्ये २१ वटा उजुरीको छलफलमार्फत सहमतिमा टुङ्गो लगाइएको उनले जानकारी दिए ।

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका छन् । परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका छन् ।

पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उनले बताए । अधिकांशले जग्गा फिर्ता गरिदिन निवेदन दिएका छन् ।

– रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?