+
+

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ १८ मा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते ११:१३

काठमाडौं । संसारका ठूला फिल्म फेस्टिभलको चक्र पुरा गरेपछि नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ हलमा प्रदर्शन हुने भएको छ । यो फिल्मको रिलिज मिति आगामी जेठ १८ गते तय भएको छ ।

‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्मको निर्माता कम्पनी बाँसुरी फिल्म्सले हल प्रदर्शनका लागि मेन्छयम पिक्चर्ससँग सहकार्य गरेको छ । निर्माता रामबाबु गुरुङले उक्त मितिमा यो फिल्म देशब्यापी प्रदर्शनमा आउने जानकारी दिए ।

दयाहाङ राई, प्रसन राई र पशुपति राईको शीर्ष भूमिका रहेको फिल्म यसवर्ष क्यानडाको टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो । त्यसपछि दक्षिण कोरियाको बुसान, भारतको मुम्बई फिल्म फेस्टिभलमा यो फिल्म स्क्रिनिङ भैसकेको छ ।

फेस्टिभलबाटै यो फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । मूभी बफ पोर्टलका लागि लेखिएको फिल्म समीक्षामा क्रिटिक पौल इमानुएल एनिकोलाले ‘मानवीय अवस्था चित्रण गर्ने दार्शनिक खोज’ भन्दै फिल्मको प्रशंसा गरेका थिए ।

फिल्मलाई उनले मानवीय अवस्थाको एउटा परीक्षाको रुपमा ब्याख्या गरेका थिए । फिल्मले आमाबाबु र बच्चाबीचको सम्बन्ध चित्रण गर्छ । साथै अवसर र आधुनिकताले कसरी परिवारका सदस्यबीचको सम्बन्धलाई असर पार्छ भन्ने चित्रण गर्छ । फिल्मले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ ।

सामुदायिक लगानीको अवधारणामा निर्माण भएको यो फिल्मलाई भोजपुर, संखुवासभा र धरानमा फिल्मको छायांकन गरिएको हो ।

‘नुमाफुङ’ रिलिज भएको २२ वर्षपछि र ‘गुडबाइ काठमाण्डू’ बनेको ६ वर्षपछि ‘गाउँ आएको बाटो’ तयार भएको हो । फिल्मको निर्मातामा नवीन सुब्बा र आमोद राई छन् । महेश राई र निर्देशक सुब्बाले पटकथा लेखेका हुन् । फिल्ममा अमेरिकी सिनेम्याटोग्राफर जोस हेरमको छायांकन, क्वान पंग लिउङको सम्पादन, हेइदी लीको संगीत छ । बैशाख १ गते बाँसुरी फिल्म्सको दयाहाङ राई स्टारर फिल्म ‘डिग्री माइला’ पनि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?