+
+

शेखर कोइरालाको आरोप– सबैभन्दा ठूला मिटरब्याजी बैंक हुन्

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते १०:४५
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला । फाइल फोटो

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरु भएको बताए ।

उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए ।’

देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको उनले बताए । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ डा. कोइरालाले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’

सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए । ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ ।’

चितवनमा कांग्रेसको अवस्था खस्किँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । टोलमै कांग्रेस–कांग्रेसबीच बोलचालसमेत हुन छाडेको भन्दै उनले भने, ‘व्यक्तिवादी चरित्र यत्रो धेरै हावी भएको छ चितवनमा, एकदुसरालाई एसेप्ट नै नगर्ने हिसाबले अगाडि बढिरहेको छ । त्यो क्षेत्रको कुरा नगरौं, त्यो पालिकाहरुको कुरा नगरौं, वडाको कुरा नगरौं, टोलमा त्यो समस्या आइसक्या छ । एकदुसरासित बोलचाल छैन ।’

यसो हुनुमा केन्द्रबाट आफूहरुको गल्ती भएको उनले बताए । ‘हाम्रो कमीकमजोरीको कारण आज चितवन नेपाली कांग्रेसको हातबाट गइराखेको अवस्था छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?