+
+

अमेरिकी भिटोबाट अरब राष्ट्र आक्रोशित, इजरायल जाने जहाजमा आक्रमण गर्ने हुथी विद्रोहीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते ८:३१

२४ मंसिर, काठमाडौं । गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् ।

सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेपछि अरब राष्ट्रहरू आक्रोशित बनेका हुन् ।

साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अलले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा अमेरिका आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘एउटा यस्तो पक्ष छ जसले युद्धविरामलाई फोहोरी शब्द मान्छ, मलाई थाहा छैन किन यस्तो हुन्छ ।’

इरानका विदेशमन्त्रीले अमेरिकाले युद्धविराम रोक्दा मध्यपूर्वमा ठूलो विस्फोट हुने टिप्पणी गरेका छन् ।

यता, यमनका हुथी विद्रोहीहरूले अबदेखि इजरायल जाने सबै जहाजमा आक्रमण गर्ने घोषणा गरेका छन् । उनीहरूले ती जहाजहरूको मालिक जुनसुकै देश भए पनि आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

‘मानवीय युद्धविराम’ को प्रस्तावक संयुक्त अरब इमिरेट्सले नतिजाले आफूलाई ‘गम्भीर रूपमा निराश’ बनाएको प्रतिक्रिया दिएको छ ।

उता, समाचार संस्था एएफपीका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन् ।

अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लङ्घन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी सरकार जिम्मेवार रहेको छ ।’

अब्बासले शनिबार भनेका छन्, ‘अमेरिकी नीतिले गाजा, वेस्ट बैङ्क र जेरुसेलममा प्यालेस्टिनीविरुद्ध इजरायली कब्जा सेनाले गरेको नरसंहार, जातीय सफाया र युद्ध अपराध हो ।’

राष्ट्रसंघको युद्धविराम प्रस्ताव रोक्दै अमेरिकी राजदूत रोबर्ट वुडले उक्त प्रस्ताव ‘वास्तविकताभन्दा टाढा रहेको’ र यसलाई अगाडि बढाउन नहुने बताएका थिए । इजरायलले पनि भिटोको प्रशंसा गरेको छ ।

युद्धका कारण गाजाको आधा जनसंख्या अर्थात् करिब १० लाख मानिससँग खानेकुरा छैन । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार गाजाका जनता भोकले मरिरहेका छन् । त्यस्तै, गाजा क्षेत्रमा अस्पतालले थेग्नै नसक्ने गरी मृतक र घाइतेको संख्या बढिरहेको छ ।

विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्कोले गाजाका १० लाख जनतालाई एक महिनाको भोक मेटाउनका लागि पर्याप्त सामानको प्रबन्ध गरेको बताएका छन् । यसै क्रममा कतारी मिडिया अल जजिराका अनुसार खान युनिसमा इजरायलको बमबारीका कारण दर्जनौं मानिसको मृत्यु भएको छ ।

समाचार संस्था सिन्ह्वाका अनुसार संयुक्त राष्ट्र सङ्घले प्यालेस्टाइनको रफाहमा हजारौं विस्थापित सर्वसाधारणहरूले चिसो आकाशमा दिन रात बिताउनुपरेको जनाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसिएचए) ले डिसेम्बर ३ देखि गाजा पट्टीको दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौं हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू रहेको जानकारी गराएको छ ।
सबैभन्दा पछि आएका विस्थापित मानिसहरूले रफाहमा ठूलो भीडभाडबीच आफूहरूलाई सडक वा अन्य खुला ठाउँहरूमा पनि आफ्नो ठाउँ पाउन मुस्किल भइरहेको छ ।

‘हजारौं विस्थापित मानिसहरूले निर्माणाधीन कतारी फिल्ड अस्पताल र रफाहको अल–कुड्स ओपन युनिभर्सिटी क्याम्पसमा अस्थायी संरचना र टेन्टहरू स्थापना गरेका छन्,’ राष्ट्रसङ्घीय उक्त निकायले भनेको छ ।

धेरै प्यालेस्टिनीहरूका लागि, अक्टोबर ७ मा गाजा पट्टीमा इजरायलको आक्रमण सुरु भएदेखि उनीहरूले अनुभव गरेको यो दोस्रो वा तेस्रो विस्थापन हो ।

संयुक्त राष्ट्रका अनुसार गाजाका करिब १९ लाख जनसङ्ख्याको झन्डै ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा हप्तौँदेखि चलेको द्वन्द्वमा करिब १७ हजार पाँच सय व्यक्तिको मृत्यु भइसकेको छ ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?