+
+
ब्लग :

अभिनवन बन्न सक्छ आर्थिक आयाम बदल्ने आधार  

अभिनवनको विशेषता भनेको यसबाट उब्जिएको नयाँ ज्ञान, विधि एवम् प्रविधिले कुनै निश्चित व्यक्ति, समाज वा सम्प्रदायमा मात्र सीमित नभई सम्पूर्ण मानवजगतलाई नै कल्याण गर्न सक्ने प्रवृत्ति हो।

 भिक्टर सापकोटा  भिक्टर सापकोटा
२०८० मंसिर २४ गते १६:२९

 विकास बहुआयामिक हुन्छ। आर्थिक अभिवृद्धि मात्र नभई गुणस्तरीय र सुलभ शिक्षा, स्वास्थ्य, न्याय आदिका पूर्वाधार र सुविधाहरूको पहुँचले पनि सामाजिक विकासको चित्रण गर्छ भन्ने सिद्धान्त अर्थविद् तथा अन्य बौद्धिक समुदायले अपनाएको पाइन्छ।

मानौं, आर्थिक समृद्धिका बावजुद पनि दिनदिनै चोरी-डकैती जस्ता क्रियाकलाप हुने र असुरक्षित महसुस गरिने समाजमा बस्न आमनागरिकलाई कत्तिको रहर लाग्ला ?

त्यसैले विकास तथा सम्बन्धित विषयहरू आजभोलि बहुआयामिक ढङ्गले हेरिन थालेको छ। उदाहरणका लागि संयुक्त राष्ट्रसंघको मानव विकास सूचकाङ्कमा शिक्षा र स्वास्थ्यका आयामलाई पनि समावेश गरिंदै आएको छ भने गरिबी जस्ता सम्बन्धित विषयहरूको मापनका लागि पनि बहुआयामिक सूचकाङ्कहरू प्रयोगमा आएका छन्।

तथापि, हाम्रो जस्तो अतिकमविकसित र विकासोन्मुख देशहरूमा विकासको आर्थिक आयाम बढी प्राथमिकतामा पर्नु स्वाभाविकै हो। एक त केही अपवाद बाहेक प्रायः आर्थिक रूपमा समृद्ध मुलुकहरूमा विकासका अन्य आयाम पनि मजबुत देखिन्छन् भने दोस्रो कुरो समृद्ध मुलुकहरूलाई विकासका अन्य आयाममा सुधार ल्याउन पनि आवश्यक स्रोत-साधन जुटाउन धेरै सहज पर्छ। तसर्थ, आर्थिक वृद्धि जुनसुकै मुलुकको राष्ट्रिय एजेण्डामा रहिरहनु आश्चर्यप्रद हुँदैन।

 आर्थिक वृद्धिका सिद्धान्त

आर्थिक वृद्धिको महत्त्वलाई मध्यनजर गर्दै विगतका दशकहरूमा अर्थविद्हरूले विभिन्न सिद्धान्तको अध्ययन, प्रतिपादन र परिमार्जन समेत गरेका छन्। तीमध्ये केही प्रसिद्ध सिद्धान्तहरूले आर्थिक वृद्धिलाई पृथक् (एक्जोजनस्) र अन्तर्निहित (इन्डोजनस्) तत्त्वहरूले असर पार्ने जनाउँछन्।

 

आर्थिक वृद्धिका एक्जोजनस् सिद्धान्तहरू पूँजी, श्रम र प्रविधि जस्ता तत्त्वहरूमा निर्भर छन्। यिनै तत्त्वहरूको सम्मिश्रित प्रयासले केही हदसम्म आर्थिक अभिवृद्धि हासिल हुने मानिन्छ।

 

तर २०औं शताब्दीका पछिल्ला दशकहरू यता विकसित इन्डोजनस् सिद्धान्तहरूमा भने ती पृथक्-पृथक् तत्त्वहरू आफैंले मात्र नभई तिनीहरूमा अन्तर्निहित तत्त्वहरूले पनि प्रभाव पार्ने जनाइएको छ, जसमा ‘अभिनवन’ पनि समावेश छ।

 

अभिनवन‘ के हो ?

‘अभिनवन’ पहिले सिकेका धारणा, व्यवहार वा कामलाई पुनर्नवीकरण गर्नु वा नयाँ ज्ञान र सीप मार्फत स्तरवृद्धि हुनु हो। ढुङ्गे युगदेखि मानव विकासको समष्टिगत अवलोकन गर्दा मानव सिर्जनशीलता र अभिनवनका असङ्ख्य उदाहरण भेटिन्छन्।

सामान्य उदाहरणको लागि पहिले एक ठाउँबाट अर्को ठाउँमा जान मानिसलाई हिंड्नुबाहेक अर्को उपाय थिएन। आफ्ना सामान आफैंले ओसार्नुपर्थ्यो। कालखण्डको कुनै समयमा आफूभन्दा छिटो दगुर्ने घोडामा चढी मानव यातायातले फड्को मारेको थियो। सामान ओसारपसारमा पनि जनावरहरूको प्रयोग हुन थाल्यो।

अन्ततः चक्काको आविष्कारपछि भने सामान ओसारपसार र मानव यातायातमा झन् तीव्र गति लिएको पाइन्छ। सुरुमा रथहरूको प्रयोगदेखि आजभोलि गाडीहरूको प्रयोगसम्म पाङ्ग्राको आविष्कारसँगै नयाँ-नयाँ प्रवर्तनात्मक विकासले स्थलगत मानव यातायातलाई ढुङ्गे युगभन्दा धेरै सहज र समुन्नत तुल्याएको छ।

स्थलगत यातायातको विकासक्रम हेर्दा विभिन्न कालखण्डका स-साना फड्को मिली आजको ठूलो छलाङ सम्भव भएको हो भनी बुझ्नु आवश्यक हुन्छ। कुनै मानिसको सिर्जनशीलता र आँटले घोडा चढेर मारेको फड्कोले उसको मात्र नभई अरू मानिसको जीविकामा पनि परिवर्तन ल्यायो। यसरी गरिरहेकै क्रियाकलाप तथा कार्यविधिहरूमा नवीनता ल्याई सुदृढीकरण गर्ने प्रयासलाई नै ‘अभिनवन’ भनिन्छ।

अभिनवनको विशेषता भनेको यसबाट उब्जिएको नयाँ ज्ञान, विधि एवम् प्रविधिले कुनै निश्चित व्यक्ति, समाज वा सम्प्रदायमा मात्र सीमित नभई सम्पूर्ण मानवजगतलाई नै कल्याण गर्न सक्ने प्रवृत्ति हो। जस्तै, मध्यकालीन चीनमा आविष्कार भएको छाप्ने यन्त्र प्रयोग गरी युरोपमा किताबहरू छापिए भने अमेरिकामा आविष्कार भएको बिजुली बत्तीले अफ्रिकामा घरहरू उज्यालो भए। अतः समष्टिगत मानव विकासमा विशेषगरी बढी समय र ऊर्जा लाग्ने कार्यहरूलाई सहज र छरितो बनाउन अभिनवनको योगदान निकै महत्त्वपूर्ण छ।

 आर्थिक वृद्धिमा अभिनवनको भूमिका

आर्थिक वृद्धिका पुराना सिद्धान्तहरूले भने पहिचान गरिएका पृथक्-पृथक् तत्त्वहरूमा अन्तर्निहित अभिनवनको तत्त्वलाई औंल्याउन सकेका थिएनन्। सूत्रले दिएका गणितीय तथ्याङ्कहरू वास्तविक तथ्याङ्कसित मेल खाएका थिएनन्। मानौं, सीमित पूँजी र जनशक्तिले एउटा देशले निश्चित परिणाम उत्पादन गरेको छ भने अर्को देशले सोही समयमा त्यति नै पूँजी र जनशक्तिले त्यसभन्दा बढी परिणाम उत्पादन गरेको छ। त्यसमा दुई देशले प्रयोग गरेका भिन्न-भिन्न प्राविधिक तत्त्व र यी पृथक्-पृथक् तत्त्वमा अन्तर्निहित तत्त्वहरू पनि समावेश गरी केही नयाँ र परिमार्जित सिद्धान्तहरू अघि सारिएका छन्। यिनै अन्तर्निहित तत्त्वमध्ये अभिनवन पनि भएको सो सिद्धान्तहरूको ठम्याइ छ।

यी सिद्धान्त बमोजिम मुलुकले उत्पादन, व्यापार, सेवा-प्रवाह आदि क्षेत्रमा प्रवर्तनात्मक प्रविधिहरू कत्तिको आत्मसात् गरेको छ भन्ने विषयले उल्लेखनीय प्रभाव पार्ने देखिन्छ। नयाँ-नयाँ प्रविधिको प्रयोगले दीर्घकालमा खर्च जोगिने, उत्पादकत्वमा असाधारण वृद्धि आउने र थप प्रवर्तनात्मक प्रविधि अपनाउन प्रोत्साहन दिने हुँदा आर्थिक अभिवृद्धिमा विशेष टेवा पुर्‍याउने अनुमान गर्न सकिन्छ। साथसाथै नयाँ अभिनवनहरू पनि भइरहँदा आर्थिक वृद्धि दिगो रूपमा उँभो लागिरहन सम्भव देखिन्छ।

 नेपालले के गर्न सक्छ ?

आधुनिक आर्थिक वृद्धिका सिद्धान्तलाई आधार मानेर नेपालले पनि आर्थिक उन्नतिको वेग बढाउन सक्छ। आर्थिक विकासका लागि वैदेशिक लगानी, ठूल्ठूला पूर्वाधार परियोजना तथा अन्य बाह्य तत्त्वमा निर्भर उपायहरू त छँदैछन्, तिनीसँगै आन्तरिक तत्त्वहरूको पनि उल्लेखनीय परिचालन गराई नेपालले आर्थिक छलाङ मार्न सक्छ भन्ने भाव सैद्धान्तिक दृष्टिकोणबाट स्पष्ट छ। यही सैद्धान्तिक आयामलाई व्यवहारमा उतार्न राज्यका सरकारी, निजी तथा विभिन्न अङ्गहरूले गर्न सक्ने केही प्रयासहरू उदाहरणका रूपमा बताउन सकिन्छ।

पहिलो, विकासका विभिन्न क्षेत्रहरूमा नवीनतम यन्त्र र प्रविधिको प्रयोगमा उत्साह जगाउने। जस्तै, नेपालको उत्पादनको महत्त्वपूर्ण हिस्सा रहेको कृषि क्षेत्रका लागि पहुँच नपुगेका पहाडी गाउँका कृषकहरूलाई हाते ट्रयाक्टरको व्यवस्था मिलाइदिनु। यसो गर्दा एकैचोटि बहुतै महङ्गा र अत्याधुनिक मेसिनहरूमा लगानी गरिहाल्न पनि जरुरी पर्दैन भने हलो जोत्दा लाग्ने ऊर्जा, समय र गोरु पाल्न चाहिने जस्ता अन्य खर्चमा पनि उल्लेख्य गिरावट आउँछ।

यसरी विभिन्न क्षेत्रमा सस्तो र छरितो प्रविधिहरूको उपयोग गर्दै कमाएको आम्दानी र बचेको खर्चले सोही प्रविधिको सुदृढीकरण र स्तरोन्नति गर्दै विकासको निरन्तर प्रक्रियामा लागेर नेपालले मध्य तथा दीर्घकालमा ठूलै छलाङ मार्न सक्छ।

दोस्रो, आन्तरिक स्रोत–साधनको उच्चतम परिचालन गर्ने। माथिकै उदाहरणलाई निरन्तरता दिंदा हाते ट्रयाक्टर नचलाएका किसानहरूलाई सो प्रविधि अपनाउन चाहिने सीप, मेसिन आदिको जोहो गर्न वा सहुलियत दिन सङ्घ, प्रदेश, स्थानीय सरकार वा गैरसरकारी संस्थाहरूले स्थानीय तथा आन्तरिक स्रोत–साधनकै परिचालन गरी गर्न सकिन्छ।

यस्ता प्रविधिहरूलाई देशव्यापी रूपमा फैलाउन पनि देशभित्रैका आन्तरिक स्रोत–साधनकै परिचालन मार्फत गर्न सकिन्छ। यसरी कुनै क्षेत्रमा उन्नत प्रविधि प्रयोग गरी जोगिन गएको मानव श्रम र समयलाई पुनः सोही अथवा फरक क्षेत्रको उत्पादन वृद्धिमा समेत परिचालन गर्न सकिन्छ।

यस्तै मौलिक अभिनवनलाई हौसला दिनु पनि महत्वपूर्ण छ । विदेशमा निर्मित उन्नत प्रविधिहरूलाई भित्र्याएर आर्थिक लाभ लिनु त पर्‍यो नै, तिनै प्रविधि वा कुनै नयाँ प्रविधिमा पनि नेपालको अवस्थिति एवम् पर्यावरणमैत्री मौलिक अभिनवनलाई सरकार तथा गैरसरकारी संस्थाहरूद्वारा प्रोत्साहन दिलाउने कार्यक्रमहरू ल्याउन सकिन्छ।

उत्पादनको क्षेत्रमा मात्र नभई व्यापार, व्यवसाय तथा देशलाई आर्थिक टेवा पुर्‍याउन सक्ने जुनसुकै क्षेत्रमा पनि प्रवर्तनात्मक सोचका साथ नेपाललाई सुहाउँदो अभिनवन अपनाउन कोही पनि हिच्किचाउन नपर्ने वातावरणको सिर्जना हामी सबै मिलेर गर्न सक्छौं।

यसरी नवीनतम प्रविधि भित्र्याउँदै आन्तरिक स्रोत–साधनको अधिकतम परिचालन गर्ने र सबै क्षेत्रमा अभिनवन प्रवर्धन गर्ने वातावरण सिर्जना गरे नेपालमा पनि दिगो आर्थिक समृद्धि सम्भव छ।

(सापकोटाले अमेरिकाको फोर्डम विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अर्थ–राजनीति र विकासमा स्नातकोत्तर गरेका छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?