
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पाठ्यक्रम परिमार्जनसम्बन्धी कार्यशाला गरेको छ । काठमाडौंमा मंसिर २३ र २४ गते भएको कार्यशालामा विश्वविद्यालयको कृषि संकाय, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय र वन विज्ञानको स्नातक तहको परिमार्जित पाठ्यक्रमबारे चर्चा गरियो ।
पाठ्यक्रम पुरानो भएकाले संशोधन गरेर यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम अनुसार पढाइ सुरु गर्न लागिरहँदा परिमार्जित पाठ्यक्रमबारे सरोकारवालाहरुबाट सुझाव लिने उद्देश्यले कार्यशाला गरिएको विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलले बताए ।
कृषि शिक्षातर्फ आकर्षण घट्न नपाओस् भन्नका लागि पाठ्यक्रमलाई परिमार्जित गर्न लागिएको उनको भनाइ छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मीका अनुसार प्रयोगात्मक कक्षा बढ्ने गरी नयाँ पाठ्यक्रम लागू गर्न लागिएको हो । हालसम्म प्रयोगात्मक ३७ प्रतिशत र लिखित ६३ प्रतिशत रहेकामा प्रयोगात्मकलाई ५० प्रतिशत पुर्याउने लक्ष्यअनुरुप पाठ्यक्रममा परिमार्जन गरिएको हो ।
पुरानो कोर्ष समय सापेक्ष नभएकोले त्यसलाई परिमार्जित गरेर प्रयोगात्मक शिक्षालाई जोड दिंदा त्यसले विद्यार्थीहरुलाई उद्यमशील बनाउन सहयोग गर्ने रेग्मीले बताए ।
कार्यशालामा उपस्थित विज्ञहरूले पाठ्यक्रममा समस्या भएका कारण नै विद्यार्थीहरुले पढाइअनुसारको काम गर्न नसकेको बताए ।
प्रतिक्रिया 4