+
+

जापानमा नेपाली : टोकियो बसेर काठमाडौंको राजनीति

स्थानीय कानुन अनुसार, विदेशका राजनीतिक पार्टीले जापानमा संगठन संरचना बनाएर कुनै गतिविधि गर्न पाउँदैनन् । तर, यहाँ सामाजिक संस्थाको आवरणमा नेपालका सबैजसो राजनीतिक पार्टीका संगठनहरू सक्रिय छन् ।

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८० मंसिर २५ गते २०:४०

२५ मंसिर, टोकियो (जापान) । २०७९ साउनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा आए । आफ्नो पार्टी निकट संगठन नेपाली जनप्रगतिशील मञ्च (माओवादी) को निमन्त्रणामा उनी जापान आएका थिए ।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ‘अध्ययन, रोजगारी र व्यवसायका लागि जापान आएका नेपालीलाई नेपालको राजनीतिक नेतृत्वको तर्फबाट के गर्नुपर्छ भन्ने अध्ययन गर्नु मेरो जापान भ्रमणको प्रमुख उद्देश्य हो’ भनेका थिए ।

तर, उनी जापान रहँदा यस्तो कुनै ‘अध्ययन’ मा संलग्न भएको देखिएन । बरु उनी पार्टी संगठन नेपाली जनप्रगतिशील मञ्च (माओवादी) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम, कार्यकर्ता भेटघाटमा व्यस्त थिए । त्यसबाहेक देखिएको एउटा कार्यक्रम उनको हिरोसिमा भ्रमण थियो ।

२०८० जेठमा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत १० दिन जापान घुमेर फर्किए । जापानमा रहँदा उनी प्रवासी नेपाली मञ्च (नेकपा एमाले) ले आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी थिए ।

मञ्चले टोकियोमा आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले देशको आर्थिक विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । कार्यक्रममा बस्नेतले अधिकांश समय आफ्नो पार्टीको महिमागान गरेर बिताएका थिए ।

२०८० असारमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवा नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआईडीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जापान आइपुगेकी थिइन् । त्यसबेला उनी राजनीतिक भेटघाटमा समेत सक्रिय रहिन् । उनको सक्रियता पार्टीगत भन्दा पनि गुटगत उद्देश्यका भेटघाट तथा अन्तरक्रियामा केन्द्रित थिए ।

उनले जापान आएर पनि गुटको राजनीति गरेको भनेर नेपाली जनसम्पर्क समिति (नेपाली कांग्रेस) आबद्ध एक नेताले नै दुःखेसो पोखे । नाम उल्लेख गर्न नचाहने ती नेताले भने ‘उहाँ आएको, गएको हामीले कमै थाहा पाउँछौं । उहाँको समय गुटगत भेटघाटमा बित्छ ।’

२०७९ फागुनमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल जापान आइन् । उनी भरतपुर महानगरपालिका र जापानको खानागावा प्रान्तको योकोसुका शहरबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीका लागि जापान आएकी थिइन् । तर दाहाललाई आफनो जापान बसाइँ ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ भयो । जापान रहुन्जेल उनले पनि कार्यकर्ता भेटघाट र राजनीतिक गतिविधिमै समय बिताइन् ।

निम्तो एउटा कार्यक्रम अर्कै

झट्ट सुन्दा कुनै राजनीतिक दलले विदेशमा आफ्ना कार्यकर्तालाई पार्टीमा आबद्ध गर्दा के गल्ती गरे त भन्ने लाग्न सक्छ । फेरि जापानकै कुरा गर्दा लर्को लागेर जापान आउने नेता, कार्यकर्ता पनि विभिन्न नाममा निर्माण गरेका आफ्नो पार्टीका संरचनाकै आयोजनामा आउने हुन् ।

तर, यसमा खास अर्थ छ । जापान भ्रमण गर्न उनीहरूले प्रयोग गरेको औपचारिक निमन्त्रणामा राजनीतिक गतिविधि गर्न भनेर उल्लेख हुँदैन । त्यहाँ अरू नै गैरराजनीतिक गतिविधि सम्बन्धी कार्यक्रमको व्यहोरा उल्लेख गरिएको हुन्छ ।

किनकि जापानमा नेपाली सहित कुनै पनि देशका राजनीतिक दलका शाखा वा सम्पर्क संस्था स्थापना गर्न अनुमति छैन । नेपाली राजनीतिक दलका शाखा, सम्पर्क कार्यालय वा शुभेच्छुक संस्थाका नाममा गतिविधि गर्नु जापानको कानुन विपरीत मानिन्छ । तर पनि जापानमा नेपालका प्रायः सबै दलका शाखा वा भ्रातृ संगठन सक्रिय छन् ।

पुराना दलहरूको के कुरा भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत जापानमा आफ्नो संरचना विस्तार गर्न भ्याइसकेको छ । ‘प्रभावशाली नेता’ को अवार्ड पाएकी रास्वपा नेतृ तथा प्रतिनिधिसभा सदस्य सोबिता गौतम जापान आएर संगठन विस्तार गरेर फर्केकी छिन् ।

बेलायती संस्था द वन योङ वल्र्डद्वारा ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड पाएकी सांसद गौतमको प्रमुख आतिथ्यतामा प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा) जापानले ओसाका क्षेत्रीय समिति गठन गरेको छ । जापान आएको अवसरमा रास्वपाकै अर्की नेतृ सांसद सुमना श्रेष्ठ पनि प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा) ले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।

विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकारसम्म पनि छैन । तर, पनि नेपालका साना–ठूला राजनीतिक दलका संगठन भने यहाँका शहरैपिच्छे छ्याप्छ्याप्ती छन् । नेपाली जनसम्पर्क समिति (नेपाली कांग्रेस), प्रवासी नेपाली मञ्च (नेकपा एमाले), जनप्रगतिशील मञ्च (माओवादी), प्रवासी नेपाली एकता समाज (राप्रपा) र प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा) जापानमा क्रियाशील छन् । यी संगठन मार्फत नेपालका राजनीतिक दलहरूले जापानमा राजनीतिक गतिविधि गर्दै आएका छन् ।

जापान सरकारले आप्रवासी सम्बन्धी कानुनमा विदेशी राजनीतिक पार्टीका गतिविधिलाई गैरकानुनी मान्छ । जनप्रगतिशील मञ्चले राजनीतिक दलको संगठनको स्टाटसमा संस्था दर्ता गर्न नमिल्ने भएकोले गैरनाफामूलक, गैरराजनीतिक संस्था (एनपिओ होउजिन) को रूपमा दर्ता गरेर राजनीतिक कार्यक्रम गर्दै आएको छ । प्रवासी नेपाली मञ्च (नेकपा एमाले) पनि संगठन दर्ताको अन्तिम चरणमा रहेको अध्यक्ष कुलचन्द्र खरेल बताउँछन् ।

जापानमा नेपाली समुदायले खोलेका अधिकांश संस्था एनपिओ होउजिन अन्तर्गत सञ्चालनमा रहेका जापानको खानागावा प्रिफेक्चर (क्षेत्रीय सरकारी संरचना) का सल्लाहकार जिज्ञानकुमार थापा बताउँछन् । १२ वर्षदेखि खानागावा प्रिफेक्चरको सल्लाहकारका रूपमा काम गर्दै आइरहेका थापा भन्छन्, ‘दर्ता गर्दा गैरनाफामूलक र गैरराजनीतिक संस्थाका रूपमा गरिन्छ । तर; नेता ल्याउने, राख्ने, राजनीतिक कार्यक्रम गर्ने खर्चका लागि व्यक्तिगत खाता प्रयोग हुन्छ । अडिट रिपोर्टमा उनीहरूको आर्थिक कारोबार शून्य देखाइन्छ ।’

नेपालीले अहिलेसम्म गर्दै आएका राजनीतिक गतिविधिलाई जापान सरकारले सूक्ष्म रूपमा हेरिरहेको थापाले अनलाइनखबरसँगको कुराकानीमा बताए ।

टोकियो बसेर काठमाडौंको राजनीति

कुनै पनि देशका राष्ट्रप्रमुख, सरकारप्रमुख र दलका नेताहरूको विदेश भ्रमणले विशेष महत्व राख्छ । भ्रमणको उद्देश्य हुन्छ, कार्यक्रम तय गरिन्छ । तर, नेपालबाट जापान भ्रमणमा आउने प्रधानमन्त्रीदेखि अधिकांश नेताको भ्रमण दुई देशबीचमा भन्दा पनि आफ्ना कार्यकर्ता बीचमा मात्रै हुने गर्छन् ।

गत वर्ष जापान आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले औचित्यपूर्ण नदेखिएको नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व अध्यक्ष मोहन घले बताउँछन् । उनको भनाइमा, कार्यकर्ता तहको निमन्त्रणामा भ्रमण भएका कारण यसले दुई देशबीचको सम्बन्धको आकार लिनै सकेन ।

जापानमा भ्रमणमा रहँदा प्रचण्डले यहाँका उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने अवसर नै पाएनन् । त्यसैले भ्रातृ संगठनको निमन्त्रणामा भएको प्रचण्डको त्यो भ्रमण कूटनीतिक हिसाबले फलदायी बन्न नसकेको खानागावा प्रिफेक्चरका सल्लाहकार जिज्ञानकुमार थापा बताउँछन् ।

उनले भने, ‘जापानको परिवेशमा कुरा गर्दा, नेपालमा जस्तो भन्ने बित्तिकै यहाँका नेतालाई भेट्न पाइँदैन । त्यो स्तरसम्म नेपाली नेताको पहुँच पनि पुग्दैन । त्यसैले जापान आएर पनि नेताहरू भ्रातृ संगठनकै गतिविधिमा सीमित भएर फर्किन्छन् ।’

तर यहाँ बसेका विभिन्न दलका कार्यकर्ताको ध्यान भने अर्कै हुन्छ । जापान आइपुग्ने आफ्ना नेतासँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्न उनीहरूबीच होडबाजी नै चल्छ । अनि जापान आइपुग्ने नेतालाई आफू सानोतिनो सेलिब्रेटी नै भएँ भन्ने लाग्छ ।

एकजना स्थानीय नेपाली व्यवसायीका भनाइमा ‘टोकियो बसेको छु भनेर के गर्नु राजनीति काठमाडौं वरिपरिकै हुन्छ । जापानमा छु भन्यो आफ्नो निर्वाचन क्षेत्रको, आफ्नो गुटको हित बाहेक अरू सोच्ने फुर्सदै यहाँका कार्यकर्तालाई हुन्न !’

टोकियोका ती व्यवसायी भन्छन्, ‘धन्न यहाँको सरकार उदार छ र यी गतिविधि गर्न पाइएको छ । यदि भारतीय नागरिकले नेपालमा भारतीय जनता पार्टीको शाखा खोल्नु हो भने हाम्रो प्रतिक्रिया के हुन्थ्यो होला भन्ने मलाई लाग्छ ।’

‘जापानमा रहेका नेपाली समुदायका समस्या धेरै छन् । अझ विद्यार्थीका समस्या त जटिल छन् । भाषा, जीवनशैली, भिसा लगायत समस्या भए पनि त्यतातर्फ नेपाली नेताको ध्यान पुग्दैन’ थापा भन्छन्, ‘भ्रातृ संगठनहरू पनि यहाँ रहेका नेपालीका समस्यामा छलफल गर्न रुचि राख्नु भन्दा पनि नेपालमा रहेका आफन्त र साथीभाइलाई आफ्नो राजनीतिक पहुँच देखाउने उद्देश्यले नेतालाई निमन्त्रणा गरेर कार्यक्रम गर्नमा व्यस्त रहन्छन् ।’

त्यस बाहेक जापान भ्रमणमा आउने नेताको पनि स्वार्थ हुन्छ । नेपालका धेरैजसो राजनीतिक दलका नेताका लागि जापान भ्रमण विदेश घुम्ने एक आकर्षक अवसर हो । यसनिम्ति उनीहरू आधिकारिक दस्तावेजमा विवरण ढाँटेरै भए पनि जापान जान चाहन्छन् । कार्यकर्ताको खर्चमा हवाई टिकट, होटल वा कुनै नेपालीको घरमा पाहुना बन्ने हुँदा नेताको आफ्नो पैसा खर्च पनि हुँदैन । उस्तै चलाख नेताले केही खर्च सहित राम्रै उपहार समेत बोकेर नेपाल फर्कन पाउँछ ।

‘पार्टीको झण्डा प्रयोग गर्दैैनौं’

देशको संस्कार, संस्कृति र राजनीति सँगसँगै जोडिने भएकोले प्रवासमा पनि संगठन विस्तार गरिरहेको प्रवासी नेपाली मञ्चका अध्यक्ष कुलचन्द्र खरेल बताउँछन् । ‘म नेपाल गएर लाहुरे बन्न चाहन्नँ । यहाँ संगठनमा आबद्ध भएकै कारण नेपालमा म लाहुरे मात्र बन्नुपर्दैन’ प्रवासी नेपाली मञ्चका अध्यक्ष खरेलले भने ।

खरेल भन्छन्, ‘हामी यहाँ राजनीति मात्र गरिरहेका छैनांै । संगठनमा आबद्ध तथा बाहिरका साथीहरूका विभिन्न समस्या हामीमाझ आउँछन् । ती समस्याको समाधान गर्न सहयोग गर्ने काम हाम्रो संगठनले गर्दै आएको छ ।’

जापानमा नेपाली जनसम्पर्क समिति (नेपाली कांग्रेस) भने अन्य दलका संगठनको तुलनामा सक्रिय छैन । संगठनभित्रको आन्तरिक किचलो र गुटको राजनीतिका कारण ६ वर्षदेखि नेपाली जनसम्पर्क समितिको अधिवेशन हुन नसक्दा संगठन सक्रिय हुन नसकेको उपाध्यक्ष राजेन्द्र जमरकट्टेल बताउँछन् ।

‘अधिवेशन हुन नसक्दा ६ वर्षदेखि रोशन केसी नै सभापति हुनुहुन्छ । नेपाली कांग्रेस केन्द्रीय समितिको महासमिति सम्मेलन नभएसम्म नयाँ कार्यसमिति चयन हुने अवस्था छैन ।’ उपाध्यक्ष जमरकट्टेलले अनलाइनखबरसँग भने, ‘प्रवासमा राजनीति गर्नुको उद्देश्य सामाजिक काम गर्नु हो । यहाँको कानुनले खुलेर राजनीतिक गतिविधि गर्ने अधिकार दिंदैन ।’

सामाजिक कार्य गर्न र प्रवासमा दुःखमा परेकालाई सहयोग गर्ने एउटै विचार समूह भएकाहरू एकीकृत भएको जनप्रगतिशील मञ्च (माओवादी) जापान शाखाका उपाध्यक्ष मोहन पौडेलको भनाइ छ । पौडेलले भने, ‘देशको राजनीतिक बेथितिले गर्दा हामी विदेशिएका हौं, तर देश बनाउन राजनीति नै चाहिन्छ ।’ जापानको कानुनले राजनीतिक कार्यक्रम गर्न नदिने हुँदा खुल्ला राजनीतिक कार्यक्रम भने नगरेको पौडेलले बताए ।

विश्वका कति मुलुकमा नेपाली पुगे भन्ने आधिकारिक विवरण उपलब्ध छैन । तर ८० भन्दा बढी मुलुकमा नेपालीहरू संगठित भएको विवरण गैरआवासीय नेपाली संघको अभिलेखबाट देखिन्छ । तर, जति नै विकसित देशमा पुगे पनि उनीहरूले गर्ने भनेको नेता बोलाउने, भाषण गराउने आफू पनि सानोतिनो नेता बन्ने भन्दा माथि उठ्न नसकेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी बताउँछन् ।

‘नेपालमा कर्मचारी, प्रहरी, पत्रकार अरू जुनसुकै पेशामा संलग्न भए पनि त्यो व्यक्ति राजनीतिमा लागेकै हुन्छ । विदेश पुगेर राजनीति गर्नेहरू पनि यिनैमध्ये केही हुन्’ डा. केसीले भने, ‘नेतादेखि कार्यकर्तासम्मलाई राजनीति र सुशासन बारे जानकारी नहुने यही कारणले हो ।’

‘विदेश भ्रमण गर्नु, हाम्रा नेताहरूको देखाउने उपलब्धि हो । त्यसमा आर्थिक लाभ पनि जोडिएको हुन्छ । त्यसकारण विभिन्न नाममा विदेशमा संगठन विस्तारमा पुरानादेखि नयाँ दल सक्रिय छन््’ विश्लेषक केसीले भने, ‘त्यसले देशको छविमा कति ठूलो क्षति पु¥याइरहेको हुन्छ भन्ने उनीहरूलाई वास्तै छैन ।’

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?