
काठमाडौं । फिल्म ‘संरक्षण’मार्फत निर्देशनमा डेब्यु गरेका पूर्णेन्दु झाले ‘चौका दाउ’ पछि पुनरागमनको तयारीमा छन् । पाँचवर्षको विश्रामपछि उनले नयाँ रोमान्टिक ड्रामाको तयारीमा थालेका हुन् ।
उनको आगामी अनटाइटल फिल्मको घोषणा भएको छ । आफ्नै नामबाट वर्किङ टाइटल राखेर उनले ‘पीजे ३’ फिल्मको निर्माण अघि बढेको जनाएका हुन् । फिल्म घोषणा गर्दै उनले यो फिल्मलाई राधा र रुक्मिणीको प्रेमकथा भनेका छन् ।
‘यो युवापुस्ताको प्रेम कथा हो । यसमा राधा र रुक्मिणी दुवैको व्यक्तित्वसँग पात्र प्रभावित हुनेछन् । यसलाई एक वाक्यमा प्रेम, समर्पण र इष्र्या भन्न सकिन्छ’, निर्देशक झाले भने । उनले सन् २०२४ मै छायांकन गरेर सोही वर्ष प्रदर्शन गर्ने तयारी गरिएको जनाए ।
छोटो फिल्म ‘अपवाद’मार्फत निर्देशकीय यात्राको सुरुआत गर्दा नै उनको चर्चा थियो । ‘फिल्ममार्फत मैले उठान गर्न लागेको विषयसँग धेरैले रिलेट गर्नु हुन्छ भन्ने लागेको छ । यसलाई हतार नगरी आफ्नो तरिकाले निर्माण गर्ने तयारीमा छु । यसको स्क्रिप्टमै दुईवर्ष भन्दा बढी समय खर्चिएको छु’, निर्देशक झाले भने ।
हाल उनले टाइटल समेत घोषणा नगरेर थिम पोस्टर मात्र सार्वजनिक गरेका छन् । उक्त पोस्टरमा प्रयोग गरिएका शब्द र कलरले आफ्नो कथाको आभाष दिने उनको भनाई छ । नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने फिल्म नेपालको कम्पनी पूर्णेन्दु प्रोडक्सन्स र भारतीय एक कम्पनीसँगको सहकार्यमा निर्माण हुने जानकारी निर्देशक झाले दिए ।
उनले भने, ‘अघिल्ला दुई फिल्म निर्देशनको सिकाईमार्फत प्राप्त गरेको अनुभवलाई नयाँ चलचित्रमा प्रयोग गर्दैछु । किनकि यसपटक आम दर्शकलाई मन पर्ने फिल्मी कथा तयार भएको छ ।’
प्रतिक्रिया 4